• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल ★   फ्रान्स र बेल्जियम भिड्दै ★   मेयर बालेन साहलाई अफ्ठ्यारोमा पार्ने काम भएको छ: प्रमुख सचेतक शाही ★   देउवा–ओली भेट हुनासाथ सत्ता समिकरण उलटफेर हुँदैन: सांसद सापकोटा ★   ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी ★   ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव ! ★   नक्कली सुनको मुर्ति देखाई ठगी गरेको आरोपमा भारतीय नागरिकसहित पाँच जना पक्राउ ★   काँग्रेस एमालेका शिर्ष नेताहरुबीच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैन: सांसद गिरी ★   सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी ★   संसदको आकस्मिक समय: बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न माग

लोकतन्त्रले थिचोमिचो स्वीकार्दैनः पूर्वराष्ट्रपति डा यादव



काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले लोकतान्त्रिक गणतन्त्रको उपलब्धि बहुआयामिक रहेको बताउनुभएको छ ।

गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित तस्वीर प्रदर्शनीको आज अवलोकनपछि प्रतिक्रिया दिनुहुँदै पूर्वराष्ट्रपति डा यादवले संसारमा भएका शासन प्रणालीमध्ये सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै सबैभन्दा उत्कृष्ट रहेको बताउनुभयो । जनताको आन्दोलनको उपलब्धिका रुपमा रहेको गणतन्त्रलाई संस्थागत गर्ने कार्य जिम्मेवारीका साथ अघि बढिरहेको उल्लेख गर्दै उहाँले यस व्यवस्थालाई बलियो तुल्याउन खम्बाका रुपमा राजनीतिक दलले सहमति, समन्वय र सुझाबुझपूर्णरुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

गणतन्त्र प्राप्तिपछि मुलुकका विभिन्न क्षेत्रमा सुरुङमार्गलगायत विकास निर्माणले तीव्रता पाएको उल्लेख गर्दै पूर्वराष्ट्रपति डा यादवले भौतिक विकाससँगै नवीनतम प्रविधिको विकासले देश र संसारलाई जोडिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गणतन्त्रपछि शिक्षा र स्वास्थ्यका क्षेत्रमा विस्तार भएको छ । तर पनि गुणस्तरीय शिक्षामा भने हामीले जोड दिनुपर्नेछ । जनप्रतिनिधिको ध्यान त्यसमा हुनुपर्छ ।” राजनीतिक व्यवस्थापनसँगै आर्थिक व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले द्वन्द्व भएको मुलुकमा आर्थिक व्यवस्था राम्रो भएन भने पुनरावृत्ति हुनसक्ने पाटोमा ध्यान पु¥याउनुपर्छ भन्नुभयो ।

जुन देशमा शिक्षाको विकास हुन्छ त्यो देश अरु क्षेत्रमा योजनाबद्धरुपमा अघि बढ्ने उल्लेख गर्दै पूर्वराष्ट्रपति डा यादवले राजनीतिक, आर्थिक र सामाजिक विकासले लोकतन्त्रको गतिलाई निर्धारण गर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “विगतमा द्वन्द्व भयो, दलको सहमतिमा संविधान बनाउने काम भयो, संविधान जारी गर्ने क्रममा केही असन्तुष्टि व्यक्त भए, पछि आएर सबैले संविधान मान्दै आफ्ना कुरा उठाइरहेका छन् । यो नै लोकतन्त्रको सबैभन्दा ठूलो उपलब्धि हो ।”

लोकतन्त्रको जहाज जस्तो चुनौतीका बाबजूद पनि परिपक्क ढङ्गले अघि बढिरहेको भन्दै पूर्वराष्ट्रपति डा यादवले लोकतान्त्रिक व्यवस्थामा हतारमा काम र छिटो परिणाम प्राप्त नहुने भएकाले राजनीतिक दलको दुरदर्शिताको खाँचो औँल्याउनुभयो ।

पूर्वराष्ट्रपति डा यादवले भन्नुभयो, “गणतन्त्र प्राप्तिपछि आर्थिक पाटोमा धेरै गर्न नसके पनि भौतिक उपलब्धि भने धेरै भएको छ ।” लोकतन्त्र पारदर्शी व्यवस्था भएकाले संविधान, कानुन र विधिअनुसार चल्ने उल्लेख गर्दै उहाँले लोकतन्त्रले थिचोमिचो स्वीकार नगर्ने भएकाले विधिको शासन खोज्छ भन्नुभयो ।

“लोकतन्त्रको गाडी सुस्त हुने भएकाले विस्तारै अघि बढ्छ । लोकतन्त्रलाई व्यवस्थित गर्दै आर्थिक र सामाजिक व्यवस्थालाई अघि बढाउनुपर्छ”, उहाँले भन्नुभयो । ठूलो बलिदानीबाट महत्वपूर्ण उपलब्धिका रुपमा लोकतन्त्र आएकाले लोकतन्त्र फलाउने र फुलाउने काममा सहभागी हुन पूर्वराष्ट्रपति डा यादवले सबै तह र तप्काका नागरिकलाई आह्वान गर्नुभयो । रासस