म्याड्रिड । स्पेनी ला लिगामा शनिबार भएको खेलमा लियोनल मेसी र एन्टोन ग्रिजमनको दुई–दुई गोलमा बार्सिलोनाले ग्रेनेडालाई माथि ४–० सजिलो जित निकाल्यो । ग्रिजमनले १२औं मिनेटमा गोलको खाता खोलेपछि ६३ औं मिनेटमा आफ्नो दोस्रो गोल गरे । यसबीच मेसीले ३५ र ४२ औं मिनेटमा गोल गरे । यो जितपछि बार्सिलोना ३४ अंकसाथ तेस्रो स्थानमा उक्लेको छ ।
रियल म्याड्रिड ३७ अंकसाथ दोस्रो स्थानमा छ । उसले शनिबारको अर्को खेलमा ओसासुनासँग निराशाजनक गोलरहित बराबरीमा चित्त बुझायो । यस्तै सेभियाले रियल सोसिडाडलाई ३–२ ले हरायो ।
लिगको सुरुआतमा राम्रो प्रदर्शन गरेको सोसिडाड यो हारपछि ३० अंकसाथ पाँचौं स्थानमा रह्यो । एटलेटिको म्याड्रिड र एथलेटिको बिलबाओबीचको खेल भने खराब मौसमका कारण रद्द गरिएको छ ।










