३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

माटोको भाडाका स्थान प्लास्टिकका भाँडाले लिँदै



अ+ अ-

भक्तपुर । पछिल्लो समय कुमाले व्यवसाय संकटमा पर्दै आएको छ । प्लास्टिकका भाँडाहरु सस्तोमा बिक्री भएपछि माटोको भाँडा सर्वसाधारणलाई महङ्गो लागेको महसुुस भएको छ । यस कारण माटोको भाँडा संकटमा परेको हो । प्लास्टिकको भाँडा दरो र सस्तो दुवै भएकाले मानिसहरु यसमा आकर्षित भएका छन् । माटोको भाँडा छिट्टै फुट्ने डर हुँदा पनि प्लास्टिकलाई नै रोज्ने गरिएको हो ।

स्थानीय न्हुछे बहादुर प्रजापति भन्नुहुन्छ, “बजारमा माटोको भाँडा प्लास्टिकको भाँडा भन्दा सस्तो बिक्री हुँदै आएको छ । त्यसैले अहिले माटोको भाँडाको बिक्री पहिलेको अनुपातमा घटेको महसुस गरेको छु । मैले बिक्रीका लागि माटोको भाँडा बजार लैजाने गरेको छैन । मेरो आफ्नै पसल छ र त्यहीँ बिक्रीका लागि राख्ने गरेको छु । तर माटो पाउन अहिले एकदम अप्ठ्यारो भएको छ । जहाँतहीँ नपाउने भएकोले हामीले माटो किनेर ल्याउने गरेका छौं । कहीँबाट अर्डर आउँदा हामीले पुर्याउने व्यवस्था पनि गरेका छौँ ।”

यो व्यवसायमा खासै नाफा भने छैन भन्दै उहाँले थप्नुभयो, “हाम्रो परमपरादेखिको व्यवसाय नै यही हो, त्यसैले मैले पनि यही गर्दै आएको छु । यो व्यवसायमा फाइदा र घाटा भन्दा पनि यो सन्तुष्टीका लागि मात्र गर्दै आएको छु ।” प्रजापतिले भन्नुभयो, “पहिले माटोका घ्याम्पाहरु वितरण हुन्थ्यो भने अहिले यसको विक्री हुन छाडेको छ । प्लास्टिकको भाँडाका कारण धेरै प्रकारका भाँडाहरु हामीले बनाउन छाडिसक्यौं । 

त्यसैगरी बिना प्रजापति विगत २० वर्ष देखि यो व्यवसायमा लागिरहेको बताउनु हुन्छ । केही मानिस लिन आउने गरेका छन् भने केहीलाई पुर्याउन जाने गरेका छौं । माटो लिन जानको लागि पहिले कसैको खेतबारीबाट ल्याउन सकिन्थ्यो तर अहिले किन्नु पर्दछ । उहाँ अगाडि भन्नुहुन्छ, “आवश्यकताअनुसार माटो किन्दा पनि कहिले राम्रो त कहिले नराम्रो परिदिन्छ । माटो किन्न पनि भनेजस्तो नपाइने अवस्था छ ।” यो व्यवसायबाट आफ्नो दैनिक खर्च मात्र जुट्ने उहाँ बताउनुहुन्छ ।

हाल उहाँले मट्का साथीसँग सापटी लिएर बेच्ने गरेको बताउनु हुन्छ । अर्डर आएपछि बनाउन समय लाग्ने भएकोले सापटी लिएर बेचेको उहाँको भनाई छ । यो तयार गर्न धेरै संख्या चाहिन्छ, अनिमात्र पोलेर तयार गर्न सकिन्छ, उहाँले भन्नुभयो । 

रञ्जना प्रजापति पनि यो व्यवसायमा दशकौंदेखि लागेको बताउनुहुन्छ । “कोभिड भाइरस शुरु हुनुअघि त पर्यटकहरु आउँथे र केही बिक्री पनि हुन्थ्यो । चिनियाँ पर्यटकहरु केही डिस्काउन्ट माग्थे, बाँकी देशका पर्यटकले तोकेको दाममा नै खरिद गर्थे ।” 

उहाँ भन्नुहुन्छ, “अहिले  यो व्यवसायबाट बिहान बेलुकीको छाक टार्न नि समस्या भएको छ ।” उहाँले माटाका भाँडाहरु आफैँ बनाएर बेच्ने गरेको बताउनुभयो । “पहिले त हामीले बनाएर थन्क्याउँथ्यौं तर अहिले फिँजाएर बिक्री गर्ने गरेका छौं । यसरी राख्दा मानिसहरु देखेर आउनुहुन्छ र खरिद गर्नुहुन्छ । यसरी ओछ्याएर बिक्री गर्दा ग्राहक आकर्षित हुने गरको पाइन्छ ।” 
विभिन्न कृत्रिम सामानहरु सहजै र सर्वसुलभ रुपमा पाइने भएका कारण माटोका भाँडा व्यवसायीहरु समस्यामा परेका छन् । अझ पछिल्लो पुस्ताले संस्कृति र कलालाई भन्दा आधुनिकीकरण भएका वस्तुहरुमा आकर्षित हुँदा माटोका भाँडा लोप हुनेक्रम बढ्दो छ । 

यस व्यवसायमा मेहनत, श्रम र सीप बढी लाग्ने भएकाले नयाँ पुस्ताहरु यसबाट टाढा हुनेक्रम बढेको हो । माटो पाउन पनि उस्तै समस्या भएकाले यो व्यवसाय चुनौतीपूर्ण रहेको छ । यस व्यवसायको समस्याले सरोकारवालाहरु पनि चिन्तित भएका छन् ।