६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर



अ+ अ-

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का तीन सय बढी घरमा ट्याङ्करबाट पानीको प्रबन्ध भएको छ ।

हिलिहाङ–७ का चुक्फारा, माझीगाउँ, डाँडागाउँ र सिमखर्क बस्तीका तीन सयभन्दा बढी परिवारले उपयोग गर्दै आएको साँचेखोला खानेपानीको मुहान सुकेपछि ट्याङ्करबाट खानेपानीको व्यवस्था गरिएको हो ।

ट्याङ्करमा सोही वडाको हेवाखोला छेउमा रहेको मुहानमा पानी जम्मा गरी सल्लेरीमा रहेको पाइप लाइनबाट साँचेखोला खानेपानी आयोजनाको ट्याङ्कीमा सङ्कलन गरिएको छ । यहाँ निर्माण गरिएका २० र ६० हजार लिटर क्षमताका दुईवटा ट्याङ्कीमा जम्मा गरी खानेपानी वितरण गर्ने गरिएको साँचेखोला खानेपानी आयोजनाका अध्यक्ष तिलविक्रम इधिङ्गोले बताउनुभयो ।

“मुहान सुकेपछि उपभोक्ता मिलेर वडा कार्यालय, हिलिहाङ गाउँपालिकालगायत निकायमा जानकारी दियौँ”, खानेपानी वितरणको अगुवाइ गरिरहनुभएका अध्यक्ष इधिङ्गोले भन्नुभयो, “पानीको हाहाकार हुन थालेपछि स्थानीयवासीकै सक्रियतामा खानेपानी ल्याउन थालेका हौँ ।” यहाँ वैशाख १५ देखि ट्याङ्करको सहायताले निरन्तर खानेपानी वितरण भइरहेको इधिङ्गोले बताउनुभयो ।

तीन सयभन्दा बढी उपभोक्तामध्ये ४५ घरका उपभोक्ताले तीनधारे मुहानबाट दुई घण्टा पानी बोकेर लैजाने गरेका छन् । स्थानीय कौशिला बराइली पानीको जोहो गर्न दैनिक एक घण्टाभन्दा समय खर्चनु परेको बाध्याता सुनाउनुहुन्छ ।

स्थानीयवासीले ट्याङ्करबाट खानेपानीको प्रबन्ध गर्न थालेपछि फिदिम नगरपालिका, फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, हिलिहाङ–७ वडा कार्यालय, एपेक्स निर्माण कम्पनी, इन्द्र योक्पाङ्देनलगायत स्थानीयवासीलाई सहयोग गर्दै आएका छन् ।

खानेपानीको समस्या भोगिरहेका हिलिहाङ गाउँपालिकाका सातवटै वडाका लागि बृहत् सुभाङ खानेपानी आयोजना निर्माण भइरहेको छ । हिलिहाङ–७ को साविक भारपा गाविसका लागि उक्त बृहत् आयोजनाअन्तर्गत नै साँचेखोला ‘बी’ योजना निर्माण भइरहेको छ ।

हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीका अनुसार बृहत् आयोजनाको निर्माण कम्पनीले भुक्तानी नपाएका कारण काम रोकेको छ । साँचेखोला ‘बी’ उपयोजनाको मुहानभन्दा पाइप लाइनको केही भाग माथि बनेका कारण उक्त उपयोजना तत्कालै सञ्चालन हुन नसक्ने अवस्थामा छैन ।

साविक भारपा गाविस वडा नं ६, ७, ८ र ९ का लागि २०५३ सालमा साँचेखोला खानेपानी योजना निर्माण थालिएको थियो । उक्त योजना सशस्त्र द्वन्द्वका कारण प्रभावित भई २०६९ देखि पानी वितरण सुरु भएको थियो ।

पुरानो साँचेखोला योजनाभन्दा करिव दुई सय ५० मिटर तलको मुहानमा बृहत् आयोजनाअन्तर्गत साँचेखोला ‘बी’ निर्माण भएको हो । यद्यपि प्राविधिक, निर्माण कम्पनी र तालुकदार निकायबीच समन्वय नहुँदा उक्त उपयोजनाको ट्रान्समिसन लाइनको केही भाग मुहानभन्दा माथि निर्माण भएपछि एक हजारभन्दा बढी उपभोक्ता पेयजल प्राप्तिको आधारभूत सुविधाबाट वञ्चित भएका छन् । रासस