५ श्रावण २०८३, मंगलवार
,
Latest
नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला



अ+ अ-

बेदकोट । कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँ पढाइसँगै घरखर्च जोहो गर्नका लागि चित्र बनाउँदै आउनुभएको छ ।

तस्बिरलाई जस्ताको त्यस्तै उतार्न सक्ने कला भएकी निर्मला चित्र कोर्न ठाउँठाउँमा पुगिरहनुहुन्छ । चित्रकलामै भविष्य खोजिरहेकी निर्मला यसलाई नै जीविकोपार्जनको माध्यम बनाउने योजनामा हुनुहुन्छ । “चित्र कोर्ने सानैदेखिको सोख हो । तस्बिर हेरेर त्यसको ‘स्केच’ बनाउने र ‘पेन्टिङ’ गर्छु । अहिले यसबाट थोरै आम्दानी पनि हुन थालेको छ”, उहाँले भन्नुभयो, “पढाइलाई पनि सँगै अगाडि बढाएकी छुँ । कलेजमा व्यतीत हुने समयबाहेक फुर्सदमा चित्र कोर्छु ।”

तस्बिर कोरेको र पेन्टिङ गरेको प्रतिवर्ग फिट रु दुई सयदेखि दुई सय ५० सम्म पाइने गरेको छ । पढाइसँगै फुर्सदको समयमा चित्र कोरेर हुने आम्दानीले अध्ययनका साथै घरखर्च जोहो गर्न सहजता भएको निर्मलाको भनाइ छ । निर्मलाका आमाबुबासहित छ सदस्यीय परिवार छ । उहाँ जेठी छोरी हो । आमाबुबा सुन्दरीफाँटामै खेती गर्नुहुन्छ । यहाँ निर्मलाको १५ कट्ठा जमिन पनि छ ।

“परिवारको आर्थिक अवस्थाले नधानेर माइली बहिनीले पढाइ छोडिन् । अहिले पसलमा काम गर्छिन् । अरु हामीहरु जेनतेन अध्ययन गरिरहेका छौँ”, निर्मलाले तीन बहिनीका समस्या सुनाउँदै भन्नुभयो, “चित्रबाट प्राप्त हुने सीमित रकमले जेनतेन अध्ययन खर्च चलेको छ ।” पछिल्लो समय अत्याधुनिक प्रविधिको प्रयोग हुँदा चित्रकारले काम पाउन कठिन भएको उहाँको गुनासो छ । “काम पाइएको बेला राम्रै आम्दानी हुन्छ । प्रविधिले गर्दा आजभोलि काम पाउन मुस्किल छ”, उहाँले भन्नुभयो ।

विसं २०७५ मा उहाँले चित्र बनाउने र पेन्टिङको तालिम लिनुभएको थियो । चित्रकलामा महिलाको उपस्थिति नगन्य छ । जिल्लाभर चार–पाँच महिला मात्रै व्यावसायिक रुपमा चित्रकलामा आबद्ध रहेका नेपाल कमर्सियल आर्टिस्ट सङ्घका सल्लाहकार सुरेश पथिकले बताउनुहुन्छ । रासस