१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

पुरातात्विक सम्पदाको संरक्षण र पुन:निर्माणमा चासो

पुरातात्विक सम्पदाको संरक्षण र पुन:निर्माणमा चासो
अ अ+ अ-

गलेश्वर । यहाँका स्थानीय तहले पुरातात्विक सम्पदाको संरक्षण र पुन:निर्माणमा चासो देखाउन थालेका छन् । संरक्षण र मर्मत सम्हारको अभावमा वर्षौदेखि अलपत्र ऐतिहासिक तथा पुरातात्विक सम्पदाको मर्मत, पुन:निर्माण, संरक्षण तथा प्रचारप्रसार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय तह सक्रिय भएका हुन् ।

तत्कालिन पर्वत राज्यको मुकाम रहेको म्याग्दीको बेनीबजार, पुलाचौर, ढोलठान, डढेकोट ताकम र ज्यामरुककोटका ऐतिहासिक देवल र पुरातात्विक सम्पदा पुन:निर्माण भइसकेका छन् भने कतिपय सम्पदा पुन:निर्माण तथा मर्मत भइरहेका छन् ।

संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेका यहाँका मल्लकालीन समयका ऐतिहासिक सम्पदा र पुरातात्विक तथा शिखरशैलीका देवल, मठ मन्दिर, कुवा, धारा, ओखलआदि सम्पदाप्रति स्थानीय तहका जनप्रतिनिधि र समुदायले चासो देखाउन थालेपछि प्रदेश र सङ्घीय सरकारले समेत आवश्यक बजेट बिनियोजन गर्न थालेको यहाँका जनप्रतिनिधिहरु बताउँछन् ।

कतिपय स्थानीय तहमा रहेका ऐतिहासिक, प्राकृतिक, धार्मिक र पुरातात्विक सम्पदा स्थानीय तहबाट नै बजेट विनियोजन गरी सुधार, मर्मत तथा पुन:निर्माण समेत गरिएको छ ।

बेनी नगरपालिका वडा नं ७ र वडा नं ६ मा रहेका ऐतिहासिक तथा प्राकृतिक महत्वका चौतारी, मठ, झोलुङेगे पुल, पोखरी, पाटी पौवाआदि नगरपालिकाको बजेटबाट नै पुननिर्माण भएका हुन् ।

त्यसैगरी धवलागिरि गाउँपालिका वडा नं ७ को ताकम कोतको पुन:निर्माणपछि जिल्लाकै आकर्षक पर्यटकीय स्थल बनेको स्थानीय गोपाल आचार्यले बताउनुभयो ।

त्यस्तै तत्कालिन पर्वत राज्य अन्तर्गतको प्रमुख सामरिक स्थल ज्यामरुकोटस्थित खड्गभवानी कोतलाई गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र समुदायले पर्यटकीय स्थल बनाउनका लागि लगानी गरिरहेका छन् । यहाँ पूर्वाधारहरु निर्माण हुन थालेपछि सामरिक र ऐतिहासिक स्थल ज्यामरुककोटको अवलोकनका लागि यहाँ आन्तरिक पर्यटकहरु आउन थालेका हुन् ।

विसं १२४६ देखि १५४५ सम्म थापाले राज्य गरेका ज्यामरुककोटमा उनीहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ ।

करिव छ सय वर्ष पुरानो इतिहास रहेको म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पर्ने तत्कालीन पर्वत राज्यको प्रमुख सामरिक केन्द्र खड्गभवानी कोतमा पछिल्लो समय समुदाय र गण्डकी प्रदेश सरकारको पहलमा धमाधम पूर्वाधारहरु निर्माण भए पछि यहाँ पर्यटकहरु आउन थालेका छन् । विकासको उज्यालोले यो ऐतिहासिक स्थल उज्यालिदै गएको स्थानीयले बताएका छन् ।

अहिले यो पुरानो सम्पदाको मौलिक स्वरुप नबिग्रने गरी पुन:निर्माण गरिने भएको छ । सामरिक स्थलको मौलिकस्वरुप नबिग्रने गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।

नगरपालिकाले ऐतिहासिक कोतको मौलिकस्वरुप यथावत रहनेगरी पुन:निर्माण गर्नका लागि डिपिआर तयार गरेको बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

“पुन:निर्माणका लागि नगरपालिकाले डिपिआर तयार गरेको छ । पालिकाको बजेटले मात्र पुन:निर्माण सम्भव नहुने भएकाले प्रदेश र सङ्घीय सरकारसँग पनि अनुरोध गर्ने भएका छौँ”, वडाध्यक्ष कार्कीले भन्नुभयो, “ऐतिहासिक कोतको गर्भगृह र अन्य पुरातात्विक सम्पदा यथावत रहनेगरी पुन:निर्माण गर्नेछौँ ।”

खड्गभवानी कोत पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्यस्थल बन्दै गएको छ । ज्यामरुककोटको छिमिकी बागलुङको पञ्चकोटमा धार्मिक पर्यटक वृद्धि भएसँगै ऐतिहासिक ज्यामरुककोटमा समेत सकारात्मक प्रभाव परेको वडाध्यक्ष कार्कीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय खड्गभवानी कोत परिसरमा विभिन्न पूर्वाधार निर्माण भएका छन् ।

समुद्री सतहदेखि एक हजार छ सय ४८ मिटर उचाइमा रहेको इतिहासको आँखीझ्याल मानिने ज्यामरुककोटको पर्यटकीय महत्व उजागर गर्न वडा कार्यालयले पूर्वाधार निर्माण गरेपछि यहाँका सम्पदा पर्यटक र विकाससँग जोडिएको कार्कीको भनाइ छ ।

म्याग्दीका विभिन्न ठाउँहरुमा ढुङ्गैढुङ्गाले बनेका शिखर शैलीका थुम्का, देवल र मठहरु छन् । त्यसैगरी पर्वते मल्लराजा डिम्बबम मल्लले निर्माण गर्न लगाएका ओखल र कुवाहरु पनि यहाँ रहेका र ती सम्पदाहरुको संरक्षणमा पनि स्थानीय तहहरुले चासो दिनुपर्ने स्थानीय वासिन्दाहरुको भनाइरहेको छ ।

विसं १८४२ मा गोरखा र पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीमा रहेको म्याग्दीका इतिहासकार तथा २०७७ सालको मदनपुरस्कार विजेता चन्द्रप्रकाश बानियाँले उल्लेख गर्नुभएको छ ।

चौधौंँ शताब्दीताका तत्कालीन पर्वत राज्यका एकीकरणकर्ता एवं चर्चित राजा डिम्बबम मल्लद्वारा स्थापित जगन्नाथ मन्दिर धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले समेत नेपालभर प्रसिद्ध छ । यो मन्दिर ढोठानदेखि केही माथि र डढेकोट दरवारदेखि केही तल केभहिलको नजिक छ ।

ढोलठान क्षेत्रको शिरमा रहेको केबहिलबाट मनोरम हिमशृङ्खलाको दृश्य नजिकैबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो । यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बाग्लुङ, स्याङ्जा र कास्कीका ३० भन्दा बढी ग्रामीण क्षेत्रका साथै म्याग्दीका साबिकका ३६ गाविस प्रत्यक्ष देख्न सकिन्छ ।

बेनी बजारदेखि करिब डेढ/दुई घण्टाको पैदल यात्रापछि पुग्न सकिने ढोलठान प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वले युक्त त छ नै धार्मिक दृष्टिकोणले समेत प्रमुख आकर्षणको केन्द्र बन्न सक्ने जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामवहादुर बानियाँले जानकारी दिनुभयो ।

बानियाँले भन्नुभयो “ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व र प्रशस्तै सम्भावनाहरुले युक्त, सदरमुकाम बेनीदेखि नजिकै रहेको भए पनि बल्ल यस ठाउँको स्वरुप फेरिन थालेको छ । ढोलठान क्षेत्र म्याग्दीको मात्र होइन गण्डकी प्रदेशकै उत्कृष्ट गन्तव्य स्थल बन्न सक्छ ।” ढोलठानबाट पूर्वोत्तरतर्फ माछापुच्छ्र«े, अन्नपूर्ण, नीलगिरि र धौलागिरि हिमाल देख्न सकिन्छ ।रासस