काठमाडौं । मंगलबार नेप्से परिसूचक ६५.४९ अंकले बढेको छ । यो दिन नेप्से परिसूचक २.७२ प्रतिशतले बढेर २ हजार ४७३.७३ विन्दुमा पुगेको हो ।
सेन्सेटिभ इन्डेक्स भने ३.२२ प्रतिशत बढेर ४५१.३८ विन्दुमा पुगेको छ । २ हजार ४३४.४८ विन्दुदेखि खुलेको बजार मंगलबार निरन्तर बढेर बन्द भएको हो । यस दिन रू. ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार बराबरको १ करोड ५३ लाख २५ हजार ६२३ कित्ता शेयर खरीदविक्री भएको छ । सोमबारको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको हो । सोमबार रू. ६ अर्ब ९७ करोड २९ लाख ३६ हजार बराबरको १ करोड ३३ लाख ११ हजार ९४२ कित्ता शेयर कारोबार भएको थियो ।
मंगलबारको बजारबाट निर्जीवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन डेड दर्जन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएकोमा धेरै जसो निर्जिवन बीमा कम्पनीहरु रहेका छन् । यस दिन प्रभु लाइफ र युनाइटेड इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले र बाँकी कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।
त्यस्तै सपोर्ट माइक्रोफाइनान्स र जनउत्थान सामूदायिक लघुवित्तको ९.९८ प्रतिशत, गुराँस लघुवित्त वित्तीय संस्थाको ९.९५ प्रतिशत, अजोड इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको ९.९० प्रतिशत, एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको ९.८८ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्सको ९.८७ प्रतिशत, जनरल इन्स्योरेन्स र माउण्टेन इनर्जी नेपालको ९.८६ प्रतिशत बढेको हो ।
त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्सको ९.७१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ९.५३ प्रतिशत, मल्टिपर्पस फिनान्सको ९.५२ प्रतिशत, ग्लोबल आइएमई बैंकको ९.४८ प्रतिशत, एभरेष्ट इन्स्योरेन्स सर्वसाधारण शेयरको ९.४० प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्सको ९.२८ प्रतिशत र आरएसडिसी लघुवित्तको ९.२० प्रतिशतले शेयरमूल्य बढेको हो ।
मंगलबार निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ५.०४ प्रतिशतले बढेको छ भने होटल समूहको २.८५ प्रतिशतले घटेको छ । यो दिन बैंकिङको १.९९ प्रतिशत, व्यापारिकको १.१२ प्रतिशत, विकास बैंकको १.१४ प्रतिशत, जलविद्युतको १.८२ प्रतिशत बढेको छ । वित्तको ०.१३ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.०१ प्रतिशत, अन्यको ४.०७ प्रतिशत, लघुवित्तको ३.८ प्रतिशत, जीवन बीमाको ३.३५ प्रतिशत र म्युचुअल फण्डको ०.२३ प्रतिशतले परिसूचक बढेको छ ।
सोमबारदेखि सर्वाधिक रकमको कारोबार गर्ने पहिलो नम्बरको स्थान ओगटेको नेपाल पुनर्बीमा कम्पनीले मंगलबार पनि सो स्थान सुरक्षित राखेको छ । सोमबार रू. ५८ करोड ५६ लाख ९८ हजार बराबरको शेयर कारोबार भएको कम्पनीको मंगलबार रू. ५८ करोड २५ लाख ९३ हजार बराबरको शेयर कारोबार भएको छ ।
यो दिन शेयरमूल्य पनि प्रतिकित्ता रू. ३५ ले बढेर अन्तिम मूल्य रू. १ हजार ६५२ कायम भएको छ । यो कम्पनीको न्यूनतम रू. १ हजार ६२४ देखि अधिकतम रू. १ हजार ६८३ सम्मको मूल्यमा शेयर कारोबार भएको हो ।