काठमाडौं । नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समिति बैठकमा प्रतिनिधिसभा पुनर्स्थापनाबारे दुई खेमाबीच व्यापक विवाद भएको छ । पार्टीको अडानलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएको समाचार स्रोतले जनाएको छ ।
केन्द्रीय समिति बैठक शुरु हुनासाथ सभापति देउवाले बैठकका एजेण्डा पेश गरेका थिए । त्यस क्रममा पौडेलले बीचैमा हस्तक्षेप गरेर बैठकका एजेण्डामा संसद पुनस्र्थापना पहिलो एजेण्डा हुनुपर्ने प्रस्ताव पौडेलले अघि सारे । तर सभापति देउपाले भने त्यो हुन नसक्ने भन्दै झोक्किएका थिए ।
उनीहरुबीचमा यस्तो भनाभन नै भएपछि केन्द्रीय कार्यसमिति बैठकमा बुधबार सभापति र वरिष्ठ नेताबीच भएको विवाद व्यक्तिगत विषयसम्म पुग्यो र अरु नेताहरुले नै उनीहरुलाई रोक्नुपर्ने अवस्था आएको थियो ।
नेताहरुका अनुसार २ बजे बोलाइएको कार्यसमिति बैठकअघि संस्थापन इतरका नेताहरु पौडेलको कार्यकक्षमा भेला भएका थिए । नेताहरुले अब संसद पुनर्स्थापना हुनुपर्छ भनेर पार्टीले प्रष्ट अडान लिनुपर्ने भन्दै पौडेललगायतका नेताको ध्यानाकर्षण गराए ।
आजको बैठकमा पार्टीको १४ औं महाधिवेशनको प्रस्तावित कार्यतालिकाबारेमा कुरा हुने भनिएको थियो । सोही बमोजिम पार्टी सभापति पक्षका नेताहरुले महाधिवेशन भदौमा हुने प्रस्ताव पनि गरेका थिए । सँगै प्रतिनिधिसभा विघटनमा पार्टीले लिएको अडानबारे छलफल भएको थियो ।
एक नेताका अनुसार महामन्त्री पूर्णबहादुर खड्काले भदौ ७–१० सम्म महाधिवेशन गर्ने प्रस्ताव सुनाएका थिए । यसबारे भोलि विहान अनौपचारिक छलफल गर्ने र दिउँसो केन्द्रीय कार्यसमितिबाट टुंगो लगाउने सहमति जुट्यो ।
तर उता पौडेल पक्ष भने संसद पुनर्स्थापनाको पक्षमा पार्टी उभिनुपर्ने बताएका थिए । पौडेल र कृष्ण सिटौला पक्षको अडान यसैमा थियो । तर पनि सभापति देउवा भने सहमत भएनन् ।
वरिष्ठ नेता पौडेलले संसद पुनर्स्थापना हुनुपर्ने, संवैधानिक परिषदले गरेको नियुक्ति खारेज गर्नुपर्ने र प्रदेश सरकारहरुविरुद्ध आएको अविश्वासको प्रस्तावको पक्षमा उभिएर ओली पक्षका मुख्यमन्त्रीहरुलाई हटाउने पक्षमा उभिनुपर्ने बताएका थिए ।
तर यी कुनै पनि प्रस्तावमा आफू सहमत नहुने देउवाले बताए । त्यसपछि दुवै जनाबीच भनाभन पनि भयो र यस क्रममा अरु नेताहरुले रोक्नुपर्ने अवस्था पनि आयो । सोही अवसरमा देउवाले पौडेललाई झोँक्किदै भने- जो सांसद छैन उसैलाई संसद पुनस्र्थापना चाहियो ?
यत्तिकैमा आजको बैठक सकियो, खासमा कुनै कुरामा पनि निर्णय हुन भने पाएन ।











