२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जग्गा प्राप्तिका लागि काभ्रेका तीन हजार भूमिहीनको आवेदन



अ+ अ-

काभ्रेपलाञ्चोक । राष्ट्रिय भूमि आयोग जिल्ला समिति काभ्रेपलाञ्चोकमा तीन हजारभन्दा बढी भूमिहीनले जग्गा प्राप्तिका लागि निवेदन पेस गरेका छन् । सरकारले भूमिहीनलाई जग्गा प्रदान गर्न सार्वजनिक अपिल गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार एक सय ७३ जना भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित, अव्यवस्थित बसोबासीले जिल्लास्थित कार्यालयमा आवेदन गरेका हुन् ।

भूमिहीनद्वारा जग्गा प्राप्तिका लागि निवेदन गरेअनुसार समितिले काभ्रेपलाञ्चोकका भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने तयारी गरिरहेको छ । पहिलो चरणमा जिल्लाको अतिदुर्गममा सूचीकृत खानीखोला गाउँपालिकाको भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित, अव्यवस्थित बसोबास गरेका नागरिकलाई निस्सा वितरण भइरहेको छ । समितिद्वारा गत माघ २५ गतेदेखि उक्त गाउँपालिकाका भूमिहीनलाई निस्सा वितरण गरिरहेको र वडा नं १ र २ मा वितरण गर्न बाँकी रहेको समितिका सदस्य राम लामाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार समितिले जिल्लास्थित १३ स्थानीय तहमध्ये महाभारत गाउँपालिकाबाहेकमा भूमिहीनको लगत प्रविष्टिकरणको काम भइरहेको छ ।

“जिल्लाका अन्य १२ तहमध्ये खानीखोला गाउँपालिकाले सबै प्रक्रिया पूरा गरेकाले निस्सा वितरण थालिएको हो”, लामाले भन्नुभयो । उहाँले उक्त गाउँपालिकामा निस्सा वितरण सकिएपछि आयोगको मापदण्डअनुसार जग्गा वितरण प्रक्रिया थालिने बताउनुभयो । “रोशी र बेथानचोक गाउँपालिका तथा नमोबुद्ध नगरपालिकाका भूमिहीनको लगत प्रविष्टिकरणको काम सकेर स्थानीयलाई भूमिहीनमा सूचीकृतका लागि सार्वजनिक सूचनामार्फत अपिल गरेका छौँ”, सदस्य लामाले भन्नुभयो ।

समितिका अनुसार जिल्लामा भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित, अव्यवस्थित बसोबास गरेकाको लागि जग्गा उपलब्ध गराउने प्रक्रियाअन्तर्गत खानीखोलाबाट सुरु गरिएको हो । जग्गा उपलब्ध गराउनुपूर्व सम्बन्धित व्यक्तिलाई आयोगको प्रक्रियाअनुसार निस्सा वितरणकार्य थालिएको जनाइएको छ । जग्गा प्राप्तिका लागि स्थानीय नागरिकले गाउँपालिका कार्यालयमा दिएको निवेदनमा अन्य व्यक्तिबाट भएको दाबीविरोध नभएको र पीडित भएको प्रमाणितस्वरुप आयोगको मापदण्डअनुसार निस्सा दिइने लामाले बताउनुभयो ।

जिल्लामा पहिलोपटक खानीखोलाका भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय भूमि आयोगका केन्द्रीय विज्ञ सदस्य वासुदेव हुमागार्इँ र टेकबहादुर शाह तथा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङलगायत सरोकारवालाद्वारा स्थानीय सहजीकरण समितिमा निस्सा वितरण तथा नक्सापास सुरु गर्ने निर्णय गरिएको हो । समितिका अनुसार उक्त गाउँपालिकामा तीन सय ७२ अव्यवस्थित बसोबासी, ४० सुकुम्बासी, दुई भूमिहीन दलित र दुई भूमिहीन सुकुम्बासीको बसोबास छ ।

आयोगको जिल्लास्थित कार्यालयमा हालसम्म दलित भूमिहीन सुकुम्बासी एक सय २६, भूमिहीन सुकुम्बासी पाँच सय ३४ तथा अव्यवस्थित बसोबास गर्नेको सङ्ख्या तीन हजार एक सय ७३ जना रहेको तथ्याङ्क छ । उनीहरूले जग्गा प्राप्तिका लागि निवेदन पेस गरेकाले समिति छानबिनको प्रक्रियामा रहेको जानकारी दिइएको छ । रासस