१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

संरक्षणको पर्खाइमा चौबिसेका ताल

संरक्षणको पर्खाइमा चौबिसेका ताल
अ अ+ अ-

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा रहेका ताल संरक्षणका पखाईमा रहेका छन् । धेरैजसो निजी स्वामित्वमा रहेका यी तालहरूको व्यक्तिले उपयोग नगर्ने र संस्थागत प्रयोजनामा आउन नसक्दा यसको प्रवर्द्धन हुनसकेको छैन ।

संरक्षण अभावमा पालिकाको केन्द्रमा रहेको वडा नं ६ स्थित राजारानी बजारमा रहेको राजा र रानी तालमध्ये राजातालको पाँच सय रोपनीभन्दा बढी क्षेत्रफल दलदलमा सीमित रहेको छ । तालको रानीताल क्षेत्र २०६३ सालबाट एक सय ५० रोपनीमा संरक्षण गरिए पनि सँगै जोडिएको राजाताल भने जग्गादाताले सहकार्य नगर्दा संरक्षण गर्न नसकिएको मावरक रानीताल संरक्षण समितिका अध्यक्ष टेकरत्न चेम्जोङले जानकारी दिनुभयो ।

पैसठ्ठी घरधुरीको जमिनलाई सहकारीमा कायम गरेर संरक्षण थालिएको रानीताल क्षेत्रको बृहत् विकासका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)गरिसकेको छ । तर सँगैको राजातालको जमिन जग्गादातासँगको सहकार्य नमिलेका कारण ताल निर्माण गर्न नसकिएको चौबिसे पर्यटन विकास समितिका अध्यक्षसमेत रहनुभएका चेम्जोङले जानकारी दिनुभयो ।

त्यस्तै गाउँपालिकाको वडा नं २ को शौरेबजारसँगै रहेको धप्पड तालसँगै रहेको टिठुङ ताल पनि संरक्षणको पर्खाइमा रहेको छ । गाउँपालिकाले गत वर्षबाट रु चार करोडको लागतमा ५२ रोपनीमा फैलिएको धप्पडताल संरक्षणको काम सुरु गरेको छ । तर सँगै रहेको टिठुङताल बजेटको अभाव हुँदा संरक्षण गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिनुभयो ।

त्यस्तै पालिकाको वडा नं १ सानो मुक्तरामा रहेको काङ्गडातालको पनि पूर्णरूपमा संरक्षण हुन नसकेको पूर्ववडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । व्यक्तिको नाममा रहेको करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको यो तालको दुई वर्षअघिबाट संरक्षण थालिए पनि बजेट अभावमा यसको पूर्णरूपमा प्रवर्द्धन गर्न नसकिएको उहाँको भनाइ छ ।

पालिकाको वडा नं १ को स्याङ्दन गाउँमा दुई सय रोपनीमा फैलिएको रानीपोखरी ताल अलपत्र अवस्थामा रहेको छ । व्यक्तिको नाममा रहेको यो पोखरी आंशिकमात्र खेतीपाती गरिएकाले अधिकांश तालक्षेत्र दलदल र सिमसार रहेको छ । यस क्षेत्रका अधिकांश जग्गाधनी तराईमा रहेकाले आफ्नो कार्यकालमा गरेको पहल पूरा हुन नसकेको पूर्वगाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिनुभयो ।

तालको संरक्षण गर्न व्यक्तिका जमिनलाई सहकारीमा लाने प्रक्रियाको सुरु गरिसकिएकाले ताल निर्माणको काम अब अघि बढ्ने पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । त्यस्तै पालिकाको वडा नं १ स्थित छ नम्बर बुधबारे बजार नजिक पूर्वमा करिब ४० रोपनीमा रहेको गडेरेताल पनि संरक्षण अभावमा दलदलमा सीमित छ । व्यक्तिको नाममा रहेको यो तालको संरक्षणका लागि गाउँवासीले केही वर्षअघि जमिन दिने निर्णय गरे पनि तालबाट आउने आम्दानीका विषयमा पालिकासँग कुरा नमिल्दा ताल बन्न नसकेको वडाध्यक्ष देवेन्द्र क्षेष्ठले जानकारी दिनुभयो ।

हाल उक्त स्थान र रानीपोखरी तालमा कृषि मन्त्रालयबाट माछापालनका लागि सर्वेक्षण भइरहेको उहाँले जानकारी दिनुभयो । “पानी र जमिन त्यसै खेर जान दिनुभन्दा हामी पर्यटनको विकल्पमा माछापालन गर्ने कि भन्ने सोचमा छौँ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

यी ताल निर्माणाधीन एक सय किलोमिटर भेडेटार–रवि–राँके राजमार्गको पहुँचमा रहेकाले यहाँका तालको संरक्षण र प्रवर्द्धन गर्नसके यस पालिका क्षेत्रलाई तालैतालको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने देखिन्छ । गएको पाँच वर्षमा यसको प्रवर्द्धन गर्न खोजिए पनि पर्याप्त बजेट अभावमा तालहरूको संरक्षणका लागि व्यक्तिसँग समन्वयन गर्न कठिन हुँदा ताल संरक्षणको काम अधुरै रहेको पालिका पूर्व अध्यक्ष खजिन्द्र राईले जानकारी दिनुभयो ।

यसका लागि पालिकाले सबै ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफू र पालिकाले काम गरिरहेको गाउँपालिका अध्यक्ष राजकुमारले जानकारी दिनुभयो । रासस