१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन’

‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन’
अ अ+ अ-

सल्लेरी । सोलुखुम्बु सल्लेरीका शङ्खरबहादुर गुरुङले भन्नुभयो, “फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै ! के अचम्म हो यो, होइन के हुनलाई यस्तो भएको हो ?” उमेरले ७२ वर्ष पार गरिसक्नुभएका उहाँ मौसममा यस प्रकारको फेरबदल पहिलोपटक अनुभव गरेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “ हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन, यहाँको सबैभन्दा सुन्दर चिज भनेकै सेताम्मे डाँडापाखा र हिमाल हो, खै अब त सबै उराठलाग्दो भएको छ, यहीँ सल्लेरी पनि अब त मरुभूमिजस्तो हुन लागिसक्यो ।” हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष हिमपात हुनसकेको छैन ।

सधैँ मङ्सिरको सुरुआतसँगै हिमपात हुने जिल्लामा यस वर्ष फागुन लागिसक्दा समेत वर्षात् तथा हिमपातको सम्भावना देखिँदैन । मौसम खुल्दै गएको छ भने तापक्रमसमेत वृद्धि हुँदै गएको हावापानी मापन केन्द्र सल्लेरीले जनाएको छ । कार्यालयका कर्मचारी नवराज पराजुलीका अनुसार सल्लेरीको तापक्रम अहिले सात डिग्री सेल्सियससम्म पुग्न थालेको छ ।

पछिल्लो पाँच दिनदेखि यहाँको तापक्रम क्रमश: उकालो लाग्न थालेको उहाँले बताउनुभयो । यस वर्षको हिउँदमा सोलुखुम्बुमा बितेका वर्षहरूमा झँै चिसोको महसुस नभएको स्थानीय बताउँछन् । करिब चार वर्ष अघिसम्म पुस–माघमा अधिक चिसो हुने गरेकामा यस वर्षको त्यति धेरै चिसो नभएको गार्माका ल्हाक्पा शेर्पाको अनुभव छ ।

उहाँले भन्नुभयो, “मलाई थाहा हुँदासम्म पनि पुस–माघमा पूरै हिउँ पर्ने भएकाले असाध्यै चिसो हुन्थ्यो, हिउँ पग्लिन तीन–चार दिन समय लाग्थ्यो तर अहिले त्यस्तो छैन, चिसो भए पनि खासै पहिलाको जस्तो धेरै चिसो आभास नै भएन यो वर्ष ।” हिमपात नहुँदा सल्लेरीबाट देखिने डाँडा तथा हिमाल मरुभूमिजस्ता हुँदै गएका छन् भने मौसमले समेत तराईको झल्को दिन लागेको तामाखानीका शान्तमाया घिमिरेले बताउनुभयो ।

हिमपात र वर्षात्को प्रतिक्षामा रहेका यहाँका किसान निराश बन्दै गएका छन् । मङ्सिर–पुसमा हिमपात नभए पनि माघमा पक्कै हिमपात तथा वर्षात् हुन्छ भन्ने आशामा बसेका जिल्लाका किसान फागुन लाग्दासमेत हिमपातको सम्भावना नदेखिँदा उनीहरूमा निराशा छाएको हो । फागुन लागेपछि मौसम तातिन थालेकाले अब हिउँ र पानी पर्ने आश मर्दै गएको बेनीका डम्बरबहादुर विश्वकर्माले बताउनुभयो ।

हिमपात नहुँदा गहुँबाली बारीमै सुकेर सोतर भएको छ । उहाँले भन्नुभयो, “बारीको बालीनाली सुकेर सोतर भयो, पानी लगाउनलाई पनि पानीका मुहान सुकेर छैन, एक ठाउँमा मात्रै भए पो पानी लगाएर हुन्थ्यो सबैको त्यस्तै छ, खेती लगाउनेलाई यसवर्र्ष याम परेन, बीउ जोगाउनै मुस्किल पर्ने भो ।” खडेरीका कारण यहाँका किसानमा भोकमरीको चिन्ताले सताउन थालेको छ ।

लेकाली भोगमा लगाउने गहुँ, आलु, जौँ, उवाजस्ता बाली यस वर्ष सङ्कटमा परेको किसान बताउँछन् । साथै जिल्लाको पश्चिमी भेगमा उत्पादन हुने अलौँचीसमेत खडेरीको चपेटामा परेको लिखुपिकेका किसान लिखुपिके गाउँपालिका–४ का प्रेमकुमार बस्नेतको भनाइ छ । अलैँचीको बोटलाई ओसिलो ठाउँ आवश्यक पर्ने भए पनि खडेरीले रुखका छहारीसमेत सुक्खा हुँदा अलैँची मर्न थालेको उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ । जिल्लाको लिखुपिके, सोताङ, महाकुलुङ, माप्यदूधकोशी र नेचासल्यान क्षेत्रमा अलैँचीखेती हुँदै आएको छ । गत वर्ष जिल्लामा एक सय ५८ हेक्टर क्षेत्रफल जमिनमा अलैँचीखेती भएको थियो । यस वर्ष पनि सोही हेक्टर जमिनमा अलैँचीखेती गरिएको छ ।

पर्यटन व्यवसायी चिन्तित

जिल्लाको खुम्बुक्षेत्र जहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित छ । सो क्षेत्रमा पनि यस वर्ष हिमपात हुनसकेको छैन । खुम्बुको माथिल्लो भेगमा माघमध्यतिर हल्का हिमपात भए पनि त्यो पर्याप्त नभएको नाम्चेका लामाकाजी शेर्पाले बताउनुभयो ।

“यो वर्ष हिउँ परेकै छैन भन्दा पनि हुन्छ, अस्ति माघ दोस्रो सातातिर होला माथिल्लो क्षेत्रमा अलिअलि हिउँ पर्लाजस्तो भएको थियो, हल्का परेको पनि एकैछिनमा बिलाएर गइहाल्यो, अहिले त पूरै सुक्खा छ”, उहाँले भन्नुभयो । हिमपात नहुँदा खुम्बुक्षेत्र पर्यटनमा समेत असर गर्ने व्यवसायीको चिन्ता छ ।

हिउँले पूरै ढाकिनुपर्ने हिमाल तथा डाँडापाखा सुक्खा हुँदा पर्यटकीय क्षेत्रको सौन्दर्यता गुम्दै गएको लुक्लाका दामु शेर्पाले बताउनुभयो । खुम्बुक्षेत्रमा हिउँ हेर्ने र भ्रमणका लागि नै विदेशी तथा स्वदेशी आउने भएकाले यो वर्ष खुम्बुमा पनि सुक्खा रहेको उहाँको भनाइ छ । शेर्पाले भन्नुभयो, “लुक्लाबाट देखिने डाँडा तथा हिमालमा हिउँ सकिँदै गएको छ, सबै सुक्खा छ, सगरमाथा क्षेत्र त यस्तो छ, झन् अरु ठाउँको अवस्था के होला ?”

वर्षात् र हिमपात नहुँदा मौसम सुक्खा हुँदै गएको छ भने वनजङ्गलमा आगलागीको जोखिम वृद्धि भएको छ । गत शनिबारमात्रै जिल्लाको माप्यदूधकोशी गाउँपालिका–५ काँकुस्थित खाम्दिङ मुलाबारी सामुदायिक वन र सोलुदूधकुण्ड नगरपालिका–७ च्याल्सास्थित मेन्दोपाके सामुदायिक वनमा डढेलो लाग्यो । कारण पत्ता लाग्न नसकेको उक्त डढेलोबाट हजारौँ बोटबिरुवा जलेर नष्ट भएको डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत रामजी शाहले बताउनुभयो । डढेलोले वनक्षेत्रमा रहेका जीवजन्तुसमेत हताहत भएको हुनसक्ने स्थानीयको अनुमान छ ।

सुक्खा मौसम र पानीका मुहानसमेत सुक्दै गएकाले डढेलो नियन्त्रणमा सकस परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रले बताउनुभयो । प्रहरी र स्थानीयको दिनभरको प्रयासपछि साँझतिरमात्रै आगो नियन्त्रणमा लिइएको उहाँको भनाइ छ । मौसममा देखिएको फेरबदलले सामुदायिक वन क्षेत्र डढेलोको जोखिममा परेको सामुदायिक वन महासङ्घका केन्द्रीय सदस्य पेम्बा शेर्पाले बताउनुभयो ।

सुक्खाग्रस्त हुँदै गएकाले यस्तो बेला आगोजन्य स्रोतहरूको ख्याल गर्न सकिएन भने डढेलोको जोखिम उच्च हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो समयमा फोहर जलाउँदा तथा आगो बाल्दा एकदमै ध्यान दिन सकिएन भने ठूलो जनधनको क्षति हुने सम्भावना हुन्छ, वनमा फैलिएको आगो नियन्त्रणमा लिनलाई पानीका मुहान सबै सुक्दै गएको छ, अनि माटोले निभाउन माटोसमेत चिसो छैन सबै सुक्खा हुँदै गएको छ, त्यसैले वन क्षेत्र जोखिममा देख्छु ।”

जिल्लाको कुल भू–भागको एक लाख पाँच हजार तीन सय ३० हेक्टर क्षेत्रफलमा सामुदायिक वनक्षेत्र फैलिएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । जिल्लामा एक सय ७२ सामुदायिक वन छन् । वनमा लाग्ने डढेलोले बोटबिरुवामात्रै नभई त्यहाँ रहेका जीवजन्तु, मानवबस्तीदेखि पर्यवरणमा समेत गम्भीर असर पुर्याउने वातावरणविज्ञ राजन थापाले बताउनुभयो । पानी नपरेको समयमा डढेलो लाग्दा त्यहाँबाट निस्कने धुँवाले अझ ठूलो असर गर्ने उहाँको भनाइ छ । रासस