१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

चैते धानको प्रवर्द्धनमार्फत खाद्यान्नमा आत्मनिर्भरता बढाउँदै पोखरा महानगर

चैते धानको प्रवर्द्धनमार्फत खाद्यान्नमा आत्मनिर्भरता बढाउँदै पोखरा महानगर
अ अ+ अ-

गण्डकी । सर्वसाधारणलाई खाद्यान्नमा आत्मर्भिरतातर्फ उन्मुख गराउने लक्ष्यका साथ पोखरा महानगरपालिकाको ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत चैते धानको प्रवद्र्धनमा जोड दिइएको छ ।

सिँचाइयुक्त उब्जाउयोग्य जमिनको अधिकतम् उपयोग गर्दै त्यसबाट सर्वसाधारणले लाभ लिन सकून् भन्ने उद्देश्यका साथ महानगरपालिकाले बर्सेनि चैते धान खेतीका लागि कृषकलाई सहयोग गर्दै आएको हो । चैते धानको प्रवद्र्धन गर्दै महानगरपालिकाभित्रका वडा नं १४, १५, २६ र २७ मा चैते ५ जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुुभयो ।

उक्त क्षेत्रका कृषकले यसअघि स्थानीय जातको चैते धान लगाउने गरेकोमा चैते ५ जातको धानको बीउ वितरण गरेसँगै उत्पादनमा पनि वृद्धि भएको उहाँले बताउनुुभयो ।

“स्थानीय जातको बीउ लगाउँदा प्रतिरोपनी दुुई मुरी धान फल्ने गरेकामा अहिले छ मुरीसम्म फल्न थालेको छ”, उहाँले भन्नुुभयो, “चैते धानका कारण जमिनको सदुुपयोगसँगै खाद्यान्नमा आत्मनिर्भर बन्न पनि सहयोग पुुर्‍याएको छ ।”

महानगरपालिकाले यस वर्ष चार टन चैते धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गर्न लागेको बताउँदै उहाँले पोखरा महानगरपालिका–२६ का किसानलाई वितरण गरिसकिएको जानकारी दिनुुभयो ।

गत वर्षदेखि वितरण गरिएको चैते ५ जातको बीउबाट उत्पादित धान मसिनो, खान पनि स्वादिलो र प्रतिरोपनी पाँचदेखि सात मुरीसम्म फल्ने गरेको कृषक बताउँछन् । पोखरा महानगरपालिका–२६ मा गत वर्ष दुई सय ६५ जना कृषकलाई रु आठ लाख ४५ हजार प्रोत्साहन सहयोग पनि गरिएको वडाध्यक्ष नरेन्द्र थापाले बताउनुुभयो ।

“उक्त प्रोत्साहन सहयोगलाई यस वर्ष पनि निरन्तरता दिइएको छ”, उहाँले भन्नुुभयो, “वडाले आगामी दिनमा कृषि उत्पादनलाई प्राथमिकता दिँदै कृषि बजार बनाएर स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग पुुर्‍याउने योजना राखेको छ ।” महानगरपालिकाले चैते धान खेतीमा प्रोत्साहनका लागि रोपाइँ सकिएको ४५ दिनपछि स्थलगत अनुुगमन गरी प्रतिरोपनी रु नौ सय प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख कडरियाको भनाइ छ ।

अघिल्लो वर्ष महानगरपालिकाले चैते धान रोपाइँ गर्ने कृषकलाई रु १२ लाख प्रोत्साहन रकम उपलब्ध गराएको उहाँले जानकारी दिनुुभयो । महानगरपालिकाले पकेट कार्यक्रमअन्तर्गत सूचना प्रकाशन गरेअनुसार माघ १५ गतेसम्म प्राप्त आवेदनको आधारमा एक हजार रोपनीभन्दा बढी क्षेत्रमा तीन हजार दुई सय किलोग्राम चैते धानको बीउ वितरण गरिरहेको महाशाखाले जनाएको छ ।

चैते ५ धानको बीउ रोपेको एक सय २० दिनमा काट्न तयार हुुने बताउँदै उहाँले भन्नुुभयो, “यसका लागि छिटो ब्याड तयार गरी सकेसम्म गुमोज बनाइ ब्याड तयार गर्नुुपर्छ, हामीले फागुन २० गतेभित्र धान रोप्ने गरी कृषकलाई तयारी गर्न भनेका छौँ ।” महाशाखाले जमिन तयारी, मल व्यवस्थापन, सिँचाइ, रोप्ने दूरी, रोग किरा व्यवस्थापनका साथै खेती प्रविधिबारे अभिमुखीकरण गरी चैते धान खेती प्रविधि पुस्तिकासमेत वितरण गरिरहेको उहाँले जानकारी दिनुुभयो ।

नेपालको कृषि अर्थतन्त्रमा महत्वपूर्ण खाद्यान्नका रूपमा रहेको धान खेती तराई, मध्यतराई, मध्यपहाड र उच्चपहाडी क्षेत्रमा गरिँदै आएको पाइन्छ ।चैते धान तराई, मध्यतराई, मध्यपहाड र उच्चपहाडी क्षेत्रका साथै हिमाली जिल्ला ताप्लेजुङ र सोलुखुम्बुमा पनि उत्पादन हुने गरेको पाइन्छ ।

तथ्याङ्कअनुसार देशमा करिब ९२ प्रतिशत धान खेती बर्षातमा गर्ने गरिएको छ भने करिब सात प्रतिशत चैते धान र एक प्रतिशत जाडो मौसमअर्थात् माघको अन्तिममा रोपिँदै आइएको छ । चैते धान भने विशेषत: सिँचाइको सुविधा हुने पहाडी भूूभाग एव बेँसीमा गर्ने गरिएको छ । गण्डकी प्रदेशमा छ हजार तीन हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको तथ्याङ्क छ ।

विशेष गरेर चैतमा दिन लामो तथा रात छोटो हुने भएको र आकाशमा बादल नलाग्ने बेला, सूर्यको ताप बढी हुने र सूर्यको किरणको शक्ति बालीको हरित कणमार्फत् बालीले तान्ने भएकाले असारको तुलनामा चैतमा धेरै उत्पादन हुने गर्दछ ।

आकाशमा कम बादल र बढी सुक्खा हुने भएकाले चैते धानमा विभिन्न रोगजन्य प्रकोप पनि कम हुने कडरियाले जानकारी दिनुुभयो । उहाँले भन्नुुभयो, “चैते धानको खेतीसमेत गर्दा खेत बाँझो पनि नहुँने र उत्पादनसमेत बढ्ने भएकाले नेपाल सरकारले पनि यसलाई प्राथमिकतामा राखेको छ ।”

गण्डकी प्रदेशमा पोखरा र आसपासका क्षेत्रका साथै नवलपुरको मध्यविन्दु, त्रिवेणी, तनहुँको व्यास, भिमाद, गोरखाको दरौँदी किनारलगायत क्षेत्रमा चैते धानको बढी खेती हुने गरेको छ भने अन्य जिल्लामा पनि केही मात्रामा चैते धानको खेती गरिँदै आइएको छ । प्रदेशभित्र चैते धानमा ‘सिएच’ ४५, चैते २, चैते ५, चैते ६ लगायतका जातको खेती गरिँदै आइएको पाइन्छ । रासस