१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

इतिहास सम्झाउने दुई सय वर्ष पुरानो ठकुरीको पँधेरो

इतिहास सम्झाउने दुई सय वर्ष पुरानो ठकुरीको पँधेरो
अ अ+ अ-

गलेश्वर । तत्कालीन पर्वत राज्यअन्तर्गत प्रमुख सामरिकस्थल हो म्याग्दीको ज्यामरुककोट । बेनी नगरपालिका–२ स्थित यस स्थलमा आजभन्दा आठ सय वर्षअघि १२औँ शताब्दीमा बस्ती बसेको थियो ।

विसं १२४६ मा धर्मराज थापा ज्यामरुककोटका राजा भएपछि मात्र नाम र पहिचान पाएको ज्यामरुककोट विसं १७४३ मा मलेबम मल्ल र उनका भाइ भर्तिबम मल्लको युद्धका कारण चर्चामा आएको गाउँ हो ।

ज्यामरुककोटको दक्षिणतर्फ पर्ने अन्तिम गाउँ हो सानालेख । यो गाउँ बागलुङका धार्मिक पर्यटकीयस्थल पञ्चकोट र पन्चासेसँग गहिरो सम्बन्ध रहेको गाउँ हो । गोश्वराको पुछारमा अवस्थित सानालेख गाउँका धेरै ऐतिहासिक तथा प्राकृतिक सम्पदा नासिसके पनि बचेको एउटा धारो (ठकुरीको पँधेरो) भने यहाँका बासिन्दाको इतिहास झल्काउने, सानालेखका पुर्खाहरूलाई सम्झाउने र गृहिणीहरूका दु:ख बिसाउने माध्यम बनेको छ ।

ज्यामरुककोटे राजा भर्तिबम मल्लका सन्तति र कल्याण मल्लका बाजेहरूले विसं १८८६ मा गाउँलेलाई ठूलो खोलाको पानी पिउनुपर्ने समस्याबाट मुक्त गराउन यो ढुङ्गेधारो निर्माण गरेका सानालेख निवासी हरिप्रसाद शर्मा बताउनुहुन्छ ।

“यो धारोलाई ठकुरीको पँधेरो भनिन्छ । यसको इतिहास करिब दुई सय वर्ष पुरानो छ”, उहाँ भन्नुहुन्छ, “ज्यामरुककोटे राजा भर्तिबम मल्लका सन्तानहरू यहाँ आएर बस्न थालेपछि उनीहरूकै सुविधाका लागि यो धारो निर्माण गरिएको थियो । त्यतिबेला पूरै गाउँमा यही एउटामात्रै धारो रहेकाले ठकुरीहरूले प्रयोग गरिसकेपछि मात्र सापकोटा र थापाहरूले प्रयोग गर्ने गर्दथे भन्ने भनाइ थियो ।”

स्थानीय पँधेरा र ढुङ्गेधाराहरू गाउँघरबाटै लोप हुन थालेको अवस्थामा आफूहरूले पुर्खाको चिनोका रूपमा यो ढुङ्गेधारो मर्मत र संरक्षण गर्दै अएकोे थापा बताउनुहुन्छ । “यो धारोसँग हाम्रा पुर्खाहरूको नाम र पहिचान जोडिएको छ । ढुङ्गेधारोलाई पुरानै स्वरुपमा संरक्षण गर्न नसकिए पनि मर्मत गरेर अहिलेसम्म जोगाएका छौँ”, उहाँ बताउनुहुन्छ, “ढुङ्गाको गौमुखे धारो हराएपछि अहिले मूल रहेको ठाउँबाट कुलेसो बनाएर पुरानै ढुङ्गा र छपनी प्रयोग गरी पाइपबाट पानी खसालेका छौँ ।”

पछिल्लो समय गाउँ–गाउँमा मोटरबाटोको पहुँच र एक घर एक धाराको अवधारणा आएपछि पँधेरा र ढुङ्गेधाराको उपयोगमा पनि कमी आएको स्थानीय बासिन्दा बताउँछन् । अव्यवस्थितरूपमा खनिएका मोटरबाटो र पाइपमार्फत घरघरमा पानी पुर्याउने होडबाजीमा कतिपय जलसम्पदा पुरिएको अवस्थामा साना लेखवासी आफ्ना पुर्खाको सम्झनाका लागि ढुङ्ेधारो संरक्षण गरेको बताउँछन् ।

“यो ढुङ्गेधारोसँग हाम्रा पुर्खाहरूको नाममात्रै जोडिएको छैन, हाम्रा आमा र दिदीहरूको दु:खका कथाव्यथा पनि जोडिएको छ”, स्थानीय महेन्द्र थापा चर्चा गर्नुहुन्छ, “त्यसबेला अहिलेको जस्तो हातहातमा मोबाइल र घरघरमा धाराको चलन थिएन । बिहान सखारै उठेपछि पहिलो काम धारामा गएर नुहाउने र पानी लिएर घरमा आउने हुन्थ्यो । दिनभरि काममा व्यस्त हुनुपर्ने आमा दिदीहरू भेटेर दु:ख सुखका कुरा गर्ने फुर्सद पनि नपाउँदा पँधेरामा पानी भर्ने बेलामै आ–आफ्ना दु:खसुखका कुरा गर्ने गर्दथे ।”

धारो निर्माणका लागि सोही बखत ठूलो खोलाबाट ल्याइएका विशाल छपनी र काला दर्शनढुङ्गाहरू अहिले पनि उस्तै अवस्थामा रहेका छन् । धारोको माथिल्लो पर्खाललाई दुईपटक मर्मत गरिसकिए पनि तल्लो भाग भने पुरानै अवस्थामा राखिएको थापा बताउनुहुन्छ । पानीले खियाउँदै लगेर तल्लो भागको मूलढुङ्गा ओखलजस्तो बनेको छ । लेउ लागेर चिप्लो बनेको तल्लो भागलाई सरसफाइ र पुन:मर्मत गर्नुपर्ने भएको हरि शर्माको भनाइ छ ।

पानी जम्मा हुने ठाउँमा चेपागाडा, भ्यागुता र माछाहरू देखिन्छन् । धारो रहेको ठाउँभन्दा तलपट्टीको खेत सधैँभरि पानीले भरिने गरेको छ । प्रशस्तै गड्यौला पाइने यहाँको माटो निकै खुकुलो भएकाले यहाँ धानबाली अरु ठाउँको भन्दा निकै राम्रो हुने गरेको स्थानीयको भनाइ छ ।

हिउँद होओस् वा वर्षा, जुनसुकै याममा पनि साँझ परेपछि यहाँ जुनकिरी नाचिरहेको देखिन्छ । पछिल्लो समय अरु ठाउँमा देखिन छोडेका जुनकिरी ढुङ्गेधारो परिसरमा भने प्रशस्तै देखिने गरेका स्थानीयवासी रघु शर्मा बताउनुहुन्छ ।

म्याग्दीका ग्रामीण भेगमा रहेका कैयौँ पधेरा र ढुङ्गेधारा लोप भइसकेका र भावी पुस्ताले यस्ता परम्परागत मौलिक सम्पदाहरू देख्न नपाउने हुँदा भएका ढुङ्गेधारा संरक्षण गर्न स्थानीय तहले नै सक्रियता देखाउनुपर्ने उहाँको भनाइ छ ।

यही ढुङ्गेधाराले गाउँको सौन्दर्य बचाइराखेको स्थानीय टोपबहादुर थापा बताउनुहुन्छ । “उकाली ओराली गर्दा आँत हरहर भएको बेलामा अञ्जुली थापेर ढुङ्गेधाराको पानी कलकल पिउँदा पाइने आनन्द बेग्लै हुन्छ”, उहाँ भन्नुहुन्छ ।

पानी पँधेरो र ढुङ्गेधारोसँग गाउँको संस्कृति र सभ्यताको साइनो रहेको र ग्रामीण सभ्यताको सुरुआत नै यस्तै सम्पदाहरूबाट भएको थापा बताउनुहुन्छ ।

तीन दशकअघिसम्म यही पानी पँधेरो नै यहाँका महिलाहरूको दु:खसुख साटासाट गर्ने र पीरब्यथा कहने एकमात्र माध्यम हुने गरेको उहाँको भनाइ छ । पछिल्लो समय गाउँको सौन्दर्यमात्रै होइन आत्मीयता र सामूहिकतामा समेत सङ्कट देखापरेको स्थानीय बूढापाकाको भनाइ छ । सामूहिकरूपमा काम गर्ने गाउँलेहरूमा विश्वासको सङ्कट बढ्दै गएकाले एकाङ्कीपन बढेर आएको र उपभोक्तावादी संस्कृतिका कारण गाउँलेहरू पनि व्यापारीजस्ता बन्दै जान थालेका बेनी नगरपालिका–२ का वृद्ध खड्गबहादुर घिमिरे बताउनुहुन्छ । प्रविधिको बढ्दो प्रयोग र पश्चिमेली संस्कृतिको प्रभावका कारण गाउँको संस्कृति, मौलिकता र सम्पदा हराउँदै गएको उहाँको भनाइ छ ।

“पँधेरा र ढुङ्गेधारा भएको ठाउँमा जलदेवताको पूजा गर्ने गरिन्थ्यो, जलदेवताको पूजा गर्ने, गाउँभरिका मानिसहरु भेला भएर दु:खसुख साट्ने, रमाइलो गर्ने, खिर पकाएर चढाउने र प्रसादको रूपमा खाने गरिन्थ्यो”, बगरफाँटमा अर्का वृद्ध वेदप्रसाद उपाध्याय भन्नुहुन्छ, “अब ती सबै परम्पराहरू हराएर गइसकेका छन् ।”

विकास, बासाइँसराइ र प्रविधिको पहुँचका कारण ग्रामीण संस्कृति र सभ्यताको क्षयीकरण हुँदै गएको अवस्था छ । विकास र प्रविधिलाई संस्कृति र सभ्यतासँग जोडेर संरक्षण गर्नुपर्नेमा उल्टो विनाश हुँदै गएको स्थानीय बुद्धिजीवीहरू बताउँछन् । रासस