८ आश्विन २०८१, मंगलवार
,
Latest
श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम जलवायु परिवर्तनका असर न्युनिकरण गर्न तीन तहका सरकारबीच समन्वय जरुरी: मुख्यमन्त्री सिंह कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच कार्य सम्पादन सम्झौता दुर्गा प्रसाईंको रिटमा कारण देखाउ आदेश जारी झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन नेपालको अर्थतन्त्रमा सुधारको सङ्केत: आईएमएफ चोटका कारण स्वर्ण जित्न असहज भयो– एरिका गुरुङ तल अधिकार नदिने हो भने संघीयता हटाइदिए हुन्छ: डा. शेखर कोईराला कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै खुल भएन सत्ती भन्सार नाका



अ+ अ-

कैलाली । सरकारले भारतसँग सीमा जोडिएका सिमानाका खुला गर्ने निर्णय गरे पनि कैलालीको सत्ती भन्सार नाका अझै आवतजावतका लागि खुला भएको छैन । नाका नखुल्दा अहिले दैनिक सयौँ भारतीय नागरिक लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन् । 
    
खुला सिमानाका कारण नेपाली तथा भारतीय नागरिक लुकिछिपी नेपाल–भारत प्रवेश गर्ने गरेको भए पनि सीमा प्रहरी  मुकदर्शक जस्तै बनेको छ । पहिले सो भन्सार कार्यालयमा मात्र सीमासुरक्षा प्रहरीको क्याम्प रहँदा लुकिछिपी आउने क्रमलाई रोक्न चुनौती रहे पनि अहिले एक किलोमिटरको दूरीमा सीमा सुरक्षा प्रहरीको क्याम्प स्थापना भएको छ ।  अवैधरुपमा प्रवेश गर्नेको क्रम भने घट्नुको साटो दिन प्रतिदिन बढ्दै गएको छ । सरकारले भारतीय नागरिकलाई  कोरोना नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य गरेको छ । 
    
भारतको तिकुनियाँका हरिश कुरेसीले प्रहरीको आँखा छलेर आफूहरु कामका लागि नेपाल प्रवेश गरेको जानकारी दिनुभयो ।  “नेपाल नआएर घरमा चुलो बल्दैन । दिनभरी सङ्कलन गरेको कवाडी सामान बेचेर घर चलाउछौँ”, उहाँले भन्नुभयो, “प्रहरीलाई पैसा दिएर भए पनि नेपाल आउनु हाम्रो बाध्यता हो । दैनिक २०० भन्दाबढी दैनिक नेपाल आउछन् होला ।”
    
खक्रौला बिओपीका प्रमुख पदमराज भट्टले भन्सारमा सामान आयात निर्यात भए पनि मानिसको आवतजावत भने नभएको दाबी गर्नुभयो । उहाँले भारतीय नागरिक नेपाल प्रवेश गरेको सूचना आफूहरुलाई पनि आएको जनाउँदै लुकिछिपी प्रवेश गर्ने ती नाकामा आफ्नो कार्यक्षेत्र नपरेको बताउनुभयो । “पहिले खक्रौला बिओपीबाटै हेर्नुपर्ने अवस्था थियो । अहिले कौवाखेडा, कालाकुण्डमा बिओपी स्थापना भइसकेपश्चात् हाम्रो कार्यक्षेत्र घटेको छ”, उहाँले भन्नुभयो, “हाम्रो क्षेत्रबाट कोही पनि प्रवेश गरेको छैनन् । हामीले मातहतको निकायमार्फत पाएको आदेशलाई पूर्णरुपमा कार्यान्वयन गरेका छौँ ।”
    
कालाकुण्डा बिओपी प्रमुख केशव गोइलाले भारतीय नागरिकलाई रोक्नका लागि आफँै लागिपरेको जानकारी दिदैँ आफ्नो कार्यक्षेत्रभन्दा बाहिरबाट भारतीय नागरिक प्रवेश गर्ने गरेको  बताउनुभयो । “पथरैया र मोहना नदीको सङ्गमस्थलबाट भारतीय नागरिक नेपाल प्रवेश गरिरहेका छन् । पथरैया नदी तरेर जानसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “नदीका कारण पनि अवैधरुपमा आवागमन बढेको छ । सबैभन्दा बढी नागरिकको आवागमन हुने अहिलेको मुख्य प्वाइन्ट जसबहादुर घाट हो ।” चोरीका नाकाबाट भारतीय नागरिक मात्र नभई त्यही मात्रामा नेपाली भारतीय बजार दैनिक उपभोग्य सामानका लागि जाने गरेका छन् । “हामीलाई आवागमनका लागि निर्देशन त छैन । तर केही व्यावहारिकरुपमा पनि काम गर्नुपर्ने अवस्था हुन्छ ।” उहाँले भन्नुभयो । 
    
मरियाघाट बिओपी प्रमुख मुक्ति खड्काले प्रहरीले २४ सै घण्टा ड्युटी दिन नसक्ने जनाउँदै प्रहरीका आँखा छलेर नागरिकको आवागमन हुने गरेको बताउनुभयो । “एक क्षेत्रमा गयो, अर्को क्षेत्रबाट प्रवेश गर्छन् । हामीले प्रयास भने गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “भारतीय नागरिकसँग स्थानीयको पनि संलग्नता भएका कारण प्रहरी आएको खबर उनीहरुलाई पु¥याउने गरेका छन् ।” नदीकै कारण सीमा सुरक्षामा चुनौती थपिएको उहाँ बताउनुहुन्छ । 
    
अहिले भारतसँग जोडिएका सीमानाका खुकुलो हुँदै जाँदा र नागरिकको आवागमन बढ्दा भन्सार कार्यालयको राजश्व सङ्कलनमा समेत गिरावट आएको छ । भन्सार कार्यालयमा अघिल्ला पाँच महीनाको तुलनामा पुस र माघ महीनामा राजस्वमा गिरावट आएको सत्ती भन्सार कार्यालय खक्रौलाका भन्सार प्रमुख विमलकुमार शाहले बताउनुभयो । 

कार्यालयले गत मङ्सिर महीनासम्ममा वार्षिक लक्ष्य पूरा गरिसकेको भएपनि पछिल्ला दुई महीनामा राजस्व सङ्कलनमा केही कमी देखिएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार मङ्सिरमा रु एक करोड ४८ लाख ४७ हजार, पुसमा रु एक करोड ४२ लाख ४७ हजार र माघमा रु एक करोड ३४ लाख २५ हजार राजस्व सङ्कलन भएको थियो । अहिले जिल्लाका सीमाक्षेत्रमा १४ बिओपी स्थापना भएका छन् । भन्सार सीमाबाट आवागमन असहज     हुन थालेपछि नागरिकले चोरीका सिमानाको प्रयोग गर्दै आएका छन् । यसले सीमावर्ती क्षेत्रमा चोरीका घटनमा समेत वृद्धि भएको छ । गाईभैँसी, बाख्रा र अन्य घरायसी सामान चोरी हुन थालेपछि स्थानीय त्रसित छन् ।