४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन माविका पूर्व प्रअ ढकाल सम्मानित



अ+ अ-

बागलुङ । जिल्लाको बागलुङ नगरपालिका-१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयले सो विद्यालयका पूर्व प्रधानाध्यापक इश्वरिप्रसाद ढकाललाई सम्मान गरेको छ ।

सो विद्यालयको ७४ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित समारोहका प्रमुख अतिथि सो विद्यालयका पूर्व विद्यार्थी एवम् नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा विशिष्ठ अतिथि पूर्व विद्यार्थी एवं गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले उहाँलाई सम्मान प्रदान गर्नुभएको हो ।

सुरुमा सोही विद्यालयका विद्यार्थी ढकालले उक्त विद्यालयमा लामो समय शिक्षण गर्नुभएको थियो । उहाँ उक्त त्रिभुवन मावि र अमलाचौरको पृथ्वी हिरण्य माविमा समेत प्रधानाध्यापक भएर काम गर्नुभएको थियो ।

नेपालमा प्रजातन्त्रको उदय नहुँदै विक्रम सम्वत २००७ माघ १ गते स्थापित सो विद्यालय नेपालको पश्चिमी क्षेत्रको एक पुरानो विद्यालयमा पर्दछ । सो विद्यालयको स्थापना र यसको श्रीबृद्धिमा यहाँका स्थानीय समाजसेवी पण्डित हेमराज शर्मा पौडेलको योगदान रहेको छ । साथै पठन पाठनका क्षेत्रमा डिल्लीप्रसाद शर्मा र पूणर्प्रकाश नेपाल यात्रीको योगदान रहेको छ ।

सो वार्षिकोत्सव कार्यक्रममा बोल्दै आफूले अध्ययन गरेको विद्यालयमा प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेकामा नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खुसी व्यक्त गर्नुभयो । उहाँले स्कुलमा आफ्ना सुरुआती दिनहरुको स्मरण गर्दै आफूले पनि विद्यालयको भौतिक र शैक्षिक विकासमा सहयोग गर्दै आएको बताउनुभयो ।

सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पञ्जेबाजा बजाउन सिकाएर नेपाली लोक संस्कृतिको संरक्षणमा लागेको तथा उनीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा समेत संलग्न गराएकामा अध्यक्षा ढकालले सो विद्यालयका शिक्षक शिक्षिकाहरुको प्रशंसा गर्नुभयो । उहाँले विद्यार्थीहरुको सबैभन्दा ठूलो सम्पत्ति भनेको इमान्दारिता र मेहनत हो भन्दै आगामी दिनमा सफलताका लागि हरेक व्यक्तिले आफूले मेहनत गर्नुपर्ने र जुनसुकै काममा पनि इमान्दार रहनुपर्ने सुझाव पनि दिनुभयो ।

त्यसैगरी सो विद्यालयका पूर्व विद्यार्थी एवं गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले मुलुकमा शिक्षाको पर्याप्त मात्रामा विकास र विस्तार नभई अरु क्षेत्रको विकास सम्भव नभएकाले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय व्यवस्थापन समिति र शिक्षक शिक्षिकाहरुलाई विशेष आग्रह गर्नुभयो ।  पूर्व प्रधानाध्यापक ढकालले आफूले लामो समयसम्म अध्यापन गराएको विद्यालयले यसरी सम्मानका लागि सम्झिएकामा खुसी व्यक्त गर्दै विद्यालयका पहिलेका दिनहरुको स्मरण गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद आचार्यले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथै अतिरिक्त र सिर्जनात्मक क्रियाकलापहरुमा पनि लगाउने गरिएको जानकारी दिनुभयो ।  त्यस क्रममा विद्यार्थीहरुले पञ्चे बाजाका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु देखाएका थिए ।