१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्ती बस दुर्घटनाका घाइते भन्छन्- भाग्यले बाँच्यौँ



अ+ अ-

जानकी । “लमहीमा खाना खाएर बस चढेपछि म निदाएछु, ब्युझिँदा अस्पतालको बेडमा थिएँ । दुर्घटना भएर उद्धार गर्दासम्म मैले केही थाहा पाइनँ”, कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको शय्याबाट बाँके नरैनापुरका नफिस बेहेनाले पीडा सुनाउनुभयो ।

नरैनापुर गाउँपालिका–३ बालापुरका १९ वर्षीय बेहेना वैदेशिक रोजगारीका सिलसिलामा कतार जाने तयारीस्वरुप स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जाँदै हुनुहुन्थ्यो । तर दुर्घटना कुन बेला र कसरी भयो तथा कसरी उद्धार भयो भन्ने उहाँलाई केही थाहा छैन । दुर्घटनामा परी नफिसको देब्रे हात, ढाड र मुखमा चोट लागेको छ ।

सोही दुर्घटनामा परी घाइते हुनुभएका बसका सहचालक शङ्कर थारू पनि सोही अस्पतालमा उपचाररत हुनुहुन्छ । थारूले चालक लालबहादुर नेपालीले भालुवाङमा रहेको प्रहरी ‘इन्ट्री पोस्ट’मा दर्ता नगरी तीव्रगतिमा बस कुदाएपछि दुर्घटना भएको बताउनुभयो ।

“भालुवाङस्थित प्रहरीको इन्ट्री पोस्टमा दर्ता गर्ने ठाउँमा आइपुग्दा रातिको त्यस्तै साढे १० बज्नै लागेको थियो । हामीभन्दा अगाडि अर्को गाडीको दर्ता हुँदै थियो, गुरुजीलाई अल्छी मान्नुभयो कि के हो, उहाँले बस नरोकी अगाडि कुदाउनुभयो”, सहचालक थारूले भन्नुभयो, “कुदाउने क्रममा बस अनियन्त्रित भइ नदीमा खस्यो ।”

बस नदीमा खस्दा आफू होसमै रहेको थारूले बताउनुभयो । “म क्याबिनमै थिएँ । बस एक्कासी नदीमा खस्यो । त्यतिबेला मलाई खासै चोट लागेको जस्तो त लागेको थिएन । तर नदीबाट बाहिर आएपछि भने श्वास फेर्न गाह्रो भयो”, अघिल्लो रातको घटना सम्झँदै उहाँले भन्नुभयो । बस नदीमा खसेको केहीबेरमै यात्रुको उद्धार सुरु भएको उहाँले सुनाउनुभयो । सहचालक थारूले चालक लालबहादुर नेपालीको मापसे तथा लापसे सेवन गर्ने बानी नरहेको दाबी गर्नुभयो ।

दुर्घटनामा परी घाइते हुनुभएकी भारत बहाराइच जिल्लास्थित रुपैडिहा मटेराकी २० वर्षीया छोटी पथ्थरकट्टाको पनि कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँ श्रीमान् राहुल पथ्थरकट्टा र बाबु चेतराम पथ्थरकट्टासँगै काठमाडौँमा रहनुभएकी दिदी सङ्गीता पथ्थरकट्टालाई भेट्न जाँदै हुनुहुन्थ्यो ।

“म श्रीमान् र बुवा तीनजना दिदीलाई भेट्न काठमाडौँ जाँदै थियौँ । काठमाडौँमा जाडोयामभर सिलौटा र झाटो बेच्ने र केही पैसा कमाएर घर फर्कने भनेर दिदी भिनाजुसँग हाम्रो कुरा भएको थियो, दुर्घटनामा हामी भाग्यले बाँच्यौँ”, छोटी पत्थरकट्टाले भन्नुभयो ।

नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार राति दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइतेमध्ये १३ जनालाई उपचारका लागि कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ल्याइएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले १३ जनामध्ये पाँच जना उपचारपछि घर फर्किसक्नुभएको छ भने आठजनाको उपचार जारी छ । घाइतेमध्ये कालीकोटका तिलकप्रसाद उपाध्यायको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

दुर्घटनापछि घाइतेलाई पाँचवटा एम्बुलेन्समार्फत राति नै सो अस्पतालमा ल्याइएको थियो । सल्यान निवासी २८ वर्षीय बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ ।




भर्खरै