२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसो छल्न: नार्पाभूमिका विद्यार्थीलाई स्वयम्भूमा घुम्ती कक्षा



अ+ अ-

मनाङ: हिमाली जिल्ला मनाङमा हिउँद लागेसँगै चिसो छल्न बाबुआमासँगै छोराछोरी पनि अन्यत्र जाने गर्दछन् । जिल्लामा बसोबास नहुँदा यहाँका विद्यालय चार महिना पूर्णरूपमा बन्द हुनेहुँदा विद्यार्थीको पठनपाठनमा समस्या हुँदै आएको छ ।

विद्यार्थीको पढाइलाई मध्यनजर गरी नार्पाभूमि गाउँपालिकाले पहिलो पटक ‘घुम्ती कक्षा’ सञ्चालन गरेको त्यहाँका अध्यक्ष कुञ्जो तेञ्जिङ लामाले जानकारी दिनुभयो । अधिकांश विद्यार्थी काठमाडौँमा रहेकाले पठनपाठन निरन्तर गराउने उद्देश्यले स्वयम्भूमा घुम्ती कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

अध्यक्ष लामाले भन्नुभयो, “लामो समयसम्म विद्यार्थीले बसेर अध्ययन नगर्दा उनीहरुको भविष्यमाथि खेलबाड भएको महसुस गरी घुम्ती कक्षा सञ्चालन गरेका हौँ । चार महिना यहीँ कक्षा सञ्चालन गरी विद्यार्थीलाई पढाउने व्यवस्था गरेका छौँ । यहाँको विद्यालय बन्द हुँदा शिक्षक पनि बिदा हुने गरेका थिए, अब भने काठमाडौँमै कक्षा सञ्चालन गरी अध्यापन गराउने व्यवस्था गरिएको छ । पहिले समग्र देशको शैक्षिकसत्रभन्दा पहिले नै अन्तिम परीक्षा सकाएर हिउँदमा तल झर्ने गरिन्थ्यो । यसले विद्यार्थीको पढाइमा असर गर्दैन थियो तर समग्र देशका विद्यालयमा एउटै शैक्षिकसत्र पालना गर्नुपर्दा हिमाली क्षेत्रका विद्यार्थीको भविष्यमा असर पुगेको आभास हुन्छ । त्यसैले उक्त कक्षा सञ्चालनमा ल्याएका हौँ ।” शिक्षालाई प्राथमिकतामा राखी बालबालिकाको भविष्य सुनिश्चितताका लागि यस्तो योजना बनाइ प्रबन्ध गरिएको अध्यक्ष लामाको भनाइ थियो ।

हिउँदमा चार महिना विद्यालय बन्द हुन्थ्यो । विद्यालय खुल्नासाथ नयाँ शैक्षिकसत्र सुरुआत हुँदा यहाँका बालबालिकालाई सहज हुन्थ्यो तर अहिले परीक्षाको नतिजाको पर्खाइमा रहने विद्यार्थी अहिले कसरी पढ्ने भन्ने ध्याउन्नमा हुने गरेकाले सहजताका लागि पालिकाले पहिलो पटक घुम्ती कक्षा सञ्चालन गरेको जनाइएको छ ।

यहाँका विद्यार्थीलाई भविष्यमा देशैभरका विद्यालयसँग प्रतिस्पर्धीका रुपमा उतार्न घुम्ती कक्षाले प्रेरणा मिल्ने अपेक्षा गाउँपालिकाको छ । मनाङमा मङ्सिरदेखि फागुनसम्म विद्यालय बन्द हुने गर्दछ ।