१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नेपालमा पहिलो पटक ‘रेन्बो’ पर्यटन सम्मेलन हुने

नेपालमा पहिलो पटक ‘रेन्बो’ पर्यटन सम्मेलन हुने
अ अ+ अ-

काठमाडौं : नेपालमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन हुने भएको छ।

‘यात्रा टु ह्यापिनेस’ भन्ने नाराका साथ आगामी माघ ४ र ५ (जनवरी १८ र १९ तारिख) मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन आयोजना हुने भएको हो।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपाल, पहिचान फाउन्डेसन र गोर्खा इन्टरनेशन रेन्बोले बोर्डमा आयोजित पत्रकार सम्मेलनमा पर्यटन प्रवर्द्धनका लागि सम्मेलन गर्न लागेको जानकारी दिए।

पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन हुन लागेको जानकारी दिइन। सम्मेलनले नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूका लागि उपयुक्त गन्तव्य भएको सन्देश दिने उनले बताइन।

दक्षिण एसियामा पहिलो इन्द्रेणी विवाह दर्ता गरेका मायाको पहिचान नेपालका अध्यक्ष माया गुरुङ्ग र सचिव सुरेन्द्र पाण्डेले पर्यटन सम्मेलनले समुदायका सदस्यलाई रोजगारी सिर्जना गर्ने आशा व्यक्त गरे। माया र सुरेन्द्र १३ मङ्सिर २०८० मा लामो कानुनी लडाइँको प्रक्रिया पछि आफ्नो विवाहलाई आधिकारिक रूपमा मान्यता दिने नेपालको पहिलो समलिङ्गी जोडी बनेका छन्।

उनीहरूको विवाहले कानुनी रूपमा मान्यता प्राप्त गर्दा नेपाल समलिङ्गी विवाहमा दक्षिण एसियामा पहिलो देश बनेको छ। अहिले नेपालको नाम विश्वभर फैलिएको छ। यही मौकामा नेपालमा एलजीबीटीआई अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन हुन लागेको हो।

कानुनी रूपमा विवाह दर्ता हुनुलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नागरिकको अधिकारमा कोसे ढुङ्गाकै रूपमा लिइएको छ। २१ औँ शताब्दीमा नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारमा उल्लेखनीय विकास भएको छ। नेपालको संविधानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको अधिकारलाई मौलिक अधिकारका रूपमा मान्यता दिएको छ।

अन्तर्राष्ट्रिय पर्यटन सम्मेलनको अवधारण एसियाका पहिलो समलिङ्गी सांसद सुनिलबाबु पन्तले ल्याएका हुन्। पन्त जकार्ता सिद्धान्तलाई एकीकरण गर्ने बैठकमा २७ विज्ञहरू मध्ये एक थिए।

पहिलो विवाह दर्ता पछि नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारका लागि च्याम्पियन मानिन्छ। समावेशिता र विविधतालाई प्रवर्द्धन गर्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटन कार्यक्रमहरूले विविध यौन झुकाव र लैङ्गिक पहिचान भएका व्यक्तिहरूका लागि सुरक्षित र स्वागत योग्य ठाउँ सिर्जना गर्ने पन्तले बताए।

यी कार्यक्रमहरूले पर्यटन, स्थानीय प्रतिष्ठानहरूको लागि व्यापार वृद्धि, र रोजगारीका अवसरहरू मार्फत स्थानीय अर्थतन्त्रलाई बढवा दिने पन्तले बताए। ‘यो सकारात्मक परिवर्तन सिर्जना गर्ने र थप समावेशी र स्वीकार्य समाज निर्माण गर्ने अवसर हो’ पन्तले भने।

सम्मेलनलाई भव्यताका साथ सफल बनाउन सबै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारहरूलाई आफ्नो समर्थन र ऐक्यबद्धता देखाउन पन्तले अनुरोध गरेका छन्। पन्तले सम्मेलनले यो समुदायको आर्थिक विकासमा टेवा पुर्‍याउने लक्ष्य लिएको जानकारी दिए।

नेपालमा २३ वर्ष लगाएर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकार प्राप्त भएको भन्दै अब आर्थिक र पर्यटकीय रूपमा अघि बढ्न सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने पन्तले बताए।

छिमेकी देशहरू भारत र चीनमा अधिकार नपाएको अवस्थामा नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको विवाह दर्ता समेत भएको अवस्थामा नेपालले फाइदा लिन सक्ने पन्तले बताए। यो समुदायका व्यक्तिहरूलाई पर्यटनसँग जोडेर अघि बढ्न सके अर्थतन्त्रमा नै ठुलो परिवर्तन आउने उनको भनाइ छ।

युरोपियन मुलुक स्पेनमा यो समुदायलाई लक्षित गरेर काम गर्दा अर्थतन्त्रमा २० प्रतिशत सम्मको सहयोग पुगेको अध्ययनले देखाएको पन्तले जानकारी दिए। यो सम्मेलनमा विदेशीले पनि सहयोग गर्ने बताएको उनले जानकारी दिए। कार्यक्रममा विदेशका ५० जना र नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको सहभागिता रहने उनको भनाइ थियो।

पत्रकार सम्मेलनमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोलाले यो समुदायलाई पर्यटन क्षेत्रसँग जोड्न सकिए बेरोजगार भएर सडकमा उभिनु पर्ने अवस्था नआउने बताए। गोर्खा ट्राभलका सिइओ सुशील पन्तले नेपालमा यसको सम्भावना निकै उच्च रहेको बताए।

‘खुसीको यात्रा’ नारा सहित हुन लागेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटन प्रवर्द्धन सम्मेलनले नेपालमा विदेशी पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। पर्यटन सम्मेलनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा आशाको सञ्चार गर्ने अभियन्ता सनरोज मास्केको भनाई थियो।

पर्यटन सम्मेलनको एसोसिएट पार्टनर पर्यटन बोर्ड रहेको छ। मिडिया पार्टनर पहिचान डटकम, अन्तर्राष्ट्रिय विकास साझेदारमा विश्व बैङ्क र लजिष्टिक पार्टनरमा गोर्खा इन्टरनेशनल ट्राभल रहेको छ।

मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले पर्यटन सम्मेलन मार्फत समुदायका सदस्यको जीविकोपार्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग विविध सीप रहेको र त्यसलाई सदुपयोग गर्न पर्यटन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे।