१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

मनाङको तापक्रम माइनस १६, मनाङ्बासी बेँसी झरे, पशु र घर कुर्न कोही गाउँमै- फोटो फिचर

मनाङको तापक्रम माइनस १६, मनाङ्बासी बेँसी झरे, पशु र घर कुर्न कोही गाउँमै- फोटो फिचर
अ अ+ अ-

मनाङ: जाडो बढेसँगै हिमाली जिल्ला मनाङको दैनिक तापक्रम घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री झरेको छ । बिहानी पखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातीमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । तापक्रम मापन गर्दा अत्यन्त कम देखाउदै गएको उहाँले बताउनुभयो । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उहाँले बताउनुभयो ।

प्रजिअ लामिछानेले भन्नुभयो, “चिसोले धारोमा पानी आउनै छाडेको छ । खोलानालामा पानी जम्दै गएका छन् । बाटोमा हिउँ छ । सवारीसाधनको आवतजावत न्यून मात्रामा छ । पिउने पानी जोहो गर्नै मुस्किल हुन थालेको छ ।” चिसो पनि उसै गरी बढ्दै गएको उहाँले बताउनुभयो । चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माणका कार्य ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिनुभयो ।

चामे गाउँपालिकाले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले चिसोका कारणले सिमेन्टसँग सम्बन्धित निर्माण कार्यको सेटिङ र हार्डिङ प्रक्रियामा समस्या हुने भएकाले यससम्बन्धि काम बन्द गर्न सूचना जारी गरिएको बताउनुभयो ।

पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्ला बाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौं, पोखरा लगायतका स्थानतर्फ झर्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पूर्वाधार कार्यालय मनाङका प्रमुख जय विष्टले भन्नुभयो, “चिसो अत्याधिक छ । त्यसैले सिमेन्टजडित कार्य ठप्प भएको छ । योजनाको नापजाँच, परीक्षणको काम गरिरहेका छौं । अन्य कार्यालयसम्बन्धि कामलाई प्राथमिकता दिएर नै काम गरिरहेका छौं ।”

त्यस्तै चिसोका कारण स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका–३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई कार्यालय मनाङका प्रमुख ढक बहादुर भुजेलले चिसो बढिरहेको अवस्थामा पनि पर्यटकको आगमन भइरहेको बताउनुभयो । सिजनमा भन्दा पर्यटकको आगमन कम भए पनि आउने क्रममा जारी रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चिसोमा पनि दैनिक १५ देखि २० पर्यटक आगमन भइरहेको छ । बाटोमा केही मात्रामा हिउँ छ । हिउँ खेल्दै रमाउँदै पर्यटक थोराङ्ला भञ्ज्याङ, तिलिचो तालतर्फ जाने आउने भइरहेको छ ।” पर्यटकको आगमन भइरहेकाले माथिल्लो क्षेत्रमा रहेका होटल व्यावसायी पूर्ण रुपमा बन्द नभएको भुजेलले जानकारी दिनुभयो ।  उहाँका अनुसार यहाँ आउने पर्यटकलाई बसोबासका लागि होटल सञ्चालन भइरहेका छन् ।

पर्यटकलाई मौसमसम्बन्धि जानकारीका साथै बाटोमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी यात्रा गर्न सुझाव दिदै आएको उहाँले बताउनुभयो ।

मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका किसान सोनाम लामाले धेरैजसो गाउँले तल झरेका छन् । तर, हामी घर कुर्ने र याकचौरी हेर्न यहीँ बसेका बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोमा माउ चौरी र युवा अवस्थाका याकलाई खुवाउन बचाउन सजिलै हुन्छ । तर, चिसोमा बच्चालाई जोगाउनै मुस्किल हुन्छ । ठूला पशुचौपायले पानी, घाँस आफैं खोज्न सक्छन् । बच्चाले सक्दैनन् । जाडोमा यिनीहरुलाई ध्यान दिनुपर्छ ।”

“लामो समयसम्म हिमपात भयो भने अलिअलि जम्मा गरेर राखेको घाँस सकिन्छ । खान नपाई दुब्लाएर मर्ने गर्छ । जाडो भइरहेका बेला बच्चालाई भने गोठ बनाएर राखिन्छ । हिउँ बढी परे पनि ठूला भएका पशुचौपायलाई हिउँमै छाड्नुपर्छ । जाडोमा घाँस कम हुँदा दुध पनि कम हुने हुँदा बच्चालाई मात्र ठिक्क हुन्छ । हामीले यो समयमा दुध दुहुदैनौं”, उहाँले भन्नुभयो, “लेकका खर्कबाट गाउँघर नजिक याकचौरी ल्याइन्छ । नावर पनि याकचौरीसँगै अलि तल नै झर्छन् । जसले गर्दा हिउँ चितुवा पनि पशुचौपाय नजिकै आहाराका लागि आउने गर्दछन् । यसबाट जोगाउनकै लागि हामी यहाँ बस्नुपर्ने भएको हो ।”

यहाँ फागुनको पहिलो सातादेखि खेतीपातीको समय सुरु हुन्छ । जसले गर्दा बेसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ । हाल जिल्लाभर चार हजार तीन सय ९७ याकचौरी रहेका भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिनुभयो । जाडो कम हुँदै गएपछि यहाँका स्थानीय फर्कन थाल्दछन् ।

नवीन लामिछाने/ रासस