१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’: निशानामा सरकार

एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’: निशानामा सरकार
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट महाकाली—मेची यात्रा शुरु गर्‍यो ।

मध्यपहाडी पुष्पलाल यात्रालाई जनतासँग जोडिने अभिायनका रुपमा अघि बढाएको एमालेको लगभग आधा मध्यपहाडी यात्रा सकिएको छ । आजसम्म एमालेले बैतडीदेखि सिन्धुपाल्चोकसम्मको यात्रा सकिसकेको छ । सो क्रममा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झुलाघाटदेखि नै अभियानमा जोडिरहेका छन् । यसबाट एमालेको युवापंक्तिलाई थप शाहस त प्रदान गरेको छ नै साथमा हरेक राजनीतिक दलमा संवद्ध व्यक्तिका साथै आम नागरिहरुमा थप उर्जा थपिएको छ ।

किनपनि भने ७२ वर्षको उमेरमा त्यो माथि जाडो याममा मध्यपहाडी लोकमार्गको यात्रा त्यत्तिकै कठिन हुन्छ । तर ओलीको आँटले भने युवापंक्तिमा थप उर्जा र जोश थपिएको भने पक्कै छ । जनतासँग नजिकिने अवसरका रुपमा हेरिएको एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्राले पार्टीलाई थप बलियो त बनाउँछ नै साथै देशमा रहेका दूरदराजका समस्याको पहिचान गरी सम्बोधन गर्न पनि महत्वपूर्ण अवसर हुने निश्चित छ । यस क्रममा एमालेले मध्यपहाडी लोकमार्गमा पर्ने जिल्लाका स्थानीयहरुसँग छलफल र अन्तरक्रिया पनि गरेको छ । तर यात्राका क्रममा पार्टीले गरेका सार्वजनिक आमसभाहरुमा अध्यक्ष ओलीका भाषण सरकारलाई निशानामा राखेर गरिएको पाइन्छ । ओलीले यात्राका क्रममा सरकारबिरुद्ध निशाना साँधेको कुरा झुलाघाटदेखि सिन्धुपाल्चोकसम्म गरेका भाषणहरुले स्पष्ट हुन्छ । एमालेको यात्राका क्रममा सार्वजनिक कार्यक्रमलाई हेर्दा भने जनतासँगका गुनासा र समस्या समाधानको खोजितर्फ खासै केन्द्रित भएको देखिँदैन ।

पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई ‘मुलुकको समृद्धिका लागि संकल्प यात्रा’ भनिएपनि अध्यक्ष ओलीले त्यसलाई सरकारको बिरोधमा आम जनतालाई गोलबन्ध गर्ने अभियानको रुपमा प्रयोग गर्ने प्रयास गरेको पाइन्छ । त्यसो त ओलीले सो अभियान शुरु गर्नुअघि नै अब सरकारबिरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको भन्दै पार्टीका नेता, कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका थिए । अभियानको क्रममा उनका अभिव्यक्ति सरकारको बिरोधमा केन्द्रित छन् तर अझै आधा भूभागको यात्रा बाँकी रहेकाले त्यस समयावधिमा के हुन्छन् भन्ने हेर्न बाँकी नै छ । कोशी प्रदेशमा पहिचानवादीहरुले एमालेको सो अभियानलाई प्रवेश नै गर्न नदिने भनेको कुरालाई लिएर प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पहिचानवादीलाई संरक्षण गरेको र सञ्चालन गरिरहेको भन्दै प्रधानमन्त्रीको आलोचना गरिरहेकाले पनि सहजै अनुमान लगाउन सकिन्छ की आगामी जिल्लामा ओलीका भाषणहरु सरकारप्रति आलोचना गर्ने भन्दा फरक हुने छैनन् । जनतासँगको सम्बन्धलाई बलियो बनाउँदै सरकारको विकल्प खोजी गर्ने सन्देश ओलीले अभियानका क्रममा दिनेगरी आफ्नो अभिव्यक्ति दिएका छन् ।

सो अभियानको शुभारम्भ गर्दादेखि नै मुलुकको समृद्धिका लागि आफूहरु मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा जुटेको बताए पनि उनका अभिव्यक्ति सरकारविरुद्ध बढी लक्षित छ ।

ओलीले अभियानका क्रममा स्थानीयसँग अन्तरक्रिया पनि गरेका छन् । विभिन्न राजनीतिक दलका नेताहरुले पनि उनीसँग स्थानीय समस्या र त्यसका समाधानका लागि पहल गरिदिन आग्रह नगरेका पनि होइनन् । तर उनले आफ्नो अभिव्यक्तिमार्फत देशको समस्या सत्तारुढ गठबन्धनले समाधान गर्न नसक्ने सन्देश आम जनतालाई दिने प्रयास गरेका छन् । दैलेखमा पुगेर ओलीले वर्तमान सरकार रहेसम्म मुलुकमा विकास, निर्माणको कामले गति लिन नसक्ने दाबी गरेका थिए । अभियानका क्रममा ओलीका अभिव्यक्ति वर्तमान गठबन्धन सरकारको विकल्प खोज्ने कुरामा बढी केन्द्रित देखिन्छ ।

ओलीले राष्ट्रिय स्वाधिनता र स्वाभिमान इतिहासमै सबैभन्दा कमजोर बनाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्नेसम्मको अभिव्यक्ति दिएका छन् । वागलुङमा आयोजित सभामा उहाँले वर्तमान सरकारले राष्ट्रिय हितको संरक्षण गर्नै नसक्ने जिकिर गरेका थिए ।

सो क्रममा ओलीले भनेका थिए ‘यो सरकारले स्वाधीनता कमजोर पार्छ । राष्ट्रिय हितको रक्षा गर्न सक्दैन । विकासको काम एमालेको पालामा भएका थिए, अहिले ठप्प छ । तैपनि यो सरकार बसिरहेको छ । सरकार गरैजिम्मेवार भएर इमान नभएर बसेको छ । नत्र राजीनामा दिएर हिँड्नुपर्ने हो । यो सरकारमा बसिरहन लाज नलागेर कसरी बसेको छ ? अचम्म लागेको छ । देशको राजनीतिमा अस्थिरता र अराजकता बढेको छ ।’

ओलीले वर्तमान सरकारले छिमेकसँगको सम्बन्ध पनि बिगारेको आरोप लगाएका छन् । भारतको इसारामा वर्तमान सत्तारुढ गठबन्धन चलेको उसले चीनको सहयोग लिन डराएको ओलीको आरोप थियो । ओली उत्तरी छिमेकी मुलुक चीनको साथ लिएर फेरि सरकारमा आउन चाहन्छन् भन्ने सन्देश सो अभिव्यक्तिले दिन्छ ।

उनले भनेका छन्: ‘अबका पोल्टिकल पार्टीहरूले पोल्टिक्स मात्रै गरेर हुँदैन । विकासका नेता हुनुपर्दछ । उनीहरूले विकासको बारेमा जानकारी राख्नुपर्छ । कसरी विकास हुनसक्दछ, के हुनसक्छ यस्ता कुरालाई लिएर हामीले सोच्नुपर्छ । अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ । चीनसँग डराएको होइन, अरु कोकोसँग कहाँकहाँ डराउँछ ।’

ओलीले पार्टीका नेताहरुलाई साथमा लिएर अभियानको क्रममा दिएको अभिव्यक्ति सरकारबिरुद्ध जनमत सृजना गर्ने र त्यसका परिचालन गरेर वर्तमान सरकार हटाउने कुरामा केन्द्रित देखिन्छ ।

उनले जनतामाझ अपिल गर्दै भनेको छन्: ‘वर्तमान सरकार रहेसम्म संकटमा रहेको मुलुकको अर्थतन्त्रमा सुधार आउँदैन, विकास, निर्माणको कामले गति लिन सक्दैन ।’

ओलीले वर्तमान सरकारले देशलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको आरोप लगाउँदै त्यसबाट मुक्त हुन पनि एमाले नेतृत्वको सरकारको विकल्प नभएको बताएका छन् ।

‘देश अहिले इतिहासमै कमजोर अवस्थामा पुगेको छ । देशलाई भ्रष्टाचार, घुषखोरी, कमिसनतन्त्रको जालोले छोपेको छ ।’ उनले अगाडि भने, ‘देशको सामाजिक अवस्था निकै डरलाग्दो भएर अघि बढ्दैछ तर सरकार कानमा तेल हालेर बसेको छ । यो अवस्था गठबन्धन सरकारले ल्याएको हो ।’

हुनत: अध्यक्ष ओलीको देशदौडाहालाई चीनका नेता माओको ‘लङ मार्च’ सँग तुलना गर्नेहरु पनि नभएका होइनन् । खासमा ओली भने पार्टीको सो १९ दिने समृद्धिका लागि संकल्प यात्रालाई सरकारको विकल्प खोज्ने अस्त्रको रुपमा प्रयोग गर्न चाहन्छन् । ओलीले अभियानका क्रममा सरकार बिरुद्ध जनमत सृजना गर्नका लागि वर्तमान सरकार आफैँ ढल्ने अवस्था पुगेको समेत बताएका छन् ।

अवश्य पनि ओलीले आफूले सरकारको नेतृत्व पाएको बेला ‘समृद्ध नेपाल: सु:खी नेपाली’ को परिकल्पना अघि सारेका हुन् । उनले भारतसँगको नाकाबन्दीको सामना गरेर, लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्शामा समेटेर आफूलाई राष्ट्रवादी नेताको पहिचान बनाउने प्रयास पनि गरेकै हुन् । तर वर्तमान अवस्थामा ओलीका यी प्रयासले मात्रै उनलाई सत्ताको बाघडोर सुम्पने अवस्था छैन । सत्तारुढ गठबन्धनसँग स्पष्ट बहुमत छ । तर पनि जनता गठबन्धन सरकारसँग असन्तुष्ट नै छन् । अर्थात सरकारले नागरिकलाई गरेको प्रतिवद्धताअनुसारका कामहरु व्यवहारत: देखाउन सकेको छैन । पार्टीको पक्षमा जनमत पारेर सत्तारोहण गर्ने ओलीको प्रयासलाई सत्तारुढ गठबन्धन दल भित्रैबाट साथ दिएमात्रै पूरा हुने देखिन्छ । मुलुक अस्थिरतामा फसेको नेपाली राजनीतिलाई माथि उकास्ने अवसरको खोजिमा छ । यस्तो बेलामा ओलीको फेरि सत्तारोहण गर्ने अभिलाषा पूरा होला वा नहोला । त्यो भने हेर्न बाँकि नै छ । एमालेको मध्यपहाडी यात्रा चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ ।