१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

हरिबोधिनी एकादशी पर्व : तुलसी र दामोदरको विवाह गरी मनाइयो

हरिबोधिनी एकादशी पर्व : तुलसी र दामोदरको विवाह गरी मनाइयो
अ अ+ अ-

काठमाडौँ : औषधीय गुणले युक्त तुलसीको विवाह दामोदरसँग गरी हरिबोधिनी एकादशी पर्व आज देशभर मनाइएको छ ।

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोादरसँग विवाह गरिएको हो । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजा आराधना गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझिने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिएको हो । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । वास्तु बिग्रिएका घरमा तुलसी रोप्नाले वास्तु दोष पनि निवारण विश्वास छ ।

तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।

तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोना एवं डेँगुबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक एवं नरदेवी आयुर्वेद अस्पतालका प्रमुख डा श्यामबाबु यादव बताउनुहुन्छ ।

कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भए अनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

कार्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्प जस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लागेको छ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । यसै विश्वासले आज बूढानीलकण्ठमा पनि लाखौँ भक्तजनको भीड लागेको थियो । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइएको छ ।

वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसैगरी भक्तपुरको चाँगुनारायण र ललितपुर विशङ्खुनारायण मन्दिरमा पनि भक्तजनको भीड लागेको थियो । नारायणहिटी दरबार परिसरमा रहेको नाराणस्थानमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ ।रासस