२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

छठपर्वले आपसी सद्भाव बढाउने राष्ट्रपतिको विश्वास



अ+ अ-

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गर्नुभएको छ ।

छठका अवसरमा आज दिनुभएको शुभकमना सन्देशमा नेपाली समाजमा राष्ट्रपतिले  विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकृतिको पूजा गरिने छठपर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने विश्वास सन्देशमा राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।

यसै अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै जारी गरिएको सन्देशमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठपर्वबाट सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार हुने बताउनुभएको छ ।

यसै उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको शुभकामना सन्देशमा छठपर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

छठका अवसरमा तराईवासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै भूगोल र क्षेत्रफलको हिसाबले नेपाल सानो भए तापनि भाषा, कला, संस्कृति, चाडपर्व, वेशभूषा र सभ्यताका दृष्टिले विश्वमै विशाल र वैभवशाली भएको बताउनुभएको छ । “यो यथार्थ हाम्रा संस्कार, संस्कृति र ऐतिहासिक तथ्यहरूले प्रमाणित गर्छन्, नेपालको संविधानले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विशेषतालाई आत्मसात् गर्दै विविधतासहितको एकतालाई राष्ट्रिय गौरवका रूपमा आत्मसात गरेको छ”, सन्देशमा भनिएको छ ।

यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनउपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

यसैगरी, सभामुख देवराज घिमिरेले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने नेपालीहरूको महान् पर्व छठको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सूर्य देवता र छठीमाताको पूजाअर्चना छठपर्वको मुख्य विशेषता हो । यो पर्वमा सूर्यको उपासना तथा व्रत बसी रातभर खोला तथा पोखरीको किनारमा जाग्राम गरेर हर्षोल्लासका साथ धुमधामसँग यो पर्व मनाइन्छ । खासगरी तराई तथा मधेस क्षेत्रमा मनाइने छठपर्व पछिल्लो समय काठमाडौँ उपत्यकालगायत पहाडी तथा हिमाली जिल्लामा समेत सूर्यदेवता र छठीमाताको पूजाअर्चना गर्दै श्रद्धा एवं भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ । भेदभावबिना सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यलाई दूधको अघ्र्य दिएर पूजा आराधना गरी यो चाड मनाइन्छ ।

छठपर्वलाई प्राकृतिकसँग प्रेमको प्रतीकका रूपमा लिइन्छ । यस पर्वमा यो मौसममा उपलब्ध हुने सबैखाले नयाँ अन्न, फलफूल, कन्दमूलहरू प्रसादका रूपमा प्रयोग गरिन्छ ।रासस

प्रकृति र सभ्यताको अनुपम उदाहरण रहेको छठपर्वको नेपालको तराई मधेसमा हिन्दूबाहेक इसाई, मुस्लिम र नेवार समुदायले पनि मान्ने गरेका  छन् ।रासस