इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा म्यान्चेस्टर युनाइटेडले फुलह्यामलाई संघर्षपूर्ण खेलमा १–० गोल अन्तरले पराजित गरेको छ ।
दुबै टिमबाट आक्रमण र प्रत्याक्रमण भए पनि खेलको निर्धारित समय ९० मिनेटसम्म गोल हुन सकेको थिएन ।
तर इन्जुरी समयमा डिबक्स रेखा नजिकबाट ब्रुनो फर्नान्डेसले एक सुन्दर सट प्रहार गरेर युनाइटेडलाई विजयी गराए । उनले प्रहार गरेको सट गोल रक्षकको हातलाई छोएर गोलपोस्टको दायाँतर्फको कुनाबाट जाली चुमेको थियो ।
यो जितसँगै म्यान्चेस्टरले ११ खेलबाट १८ अंक जोडेको छ र लिगमा छैटौं स्थानमा उक्लेको छ ।
यस सिजनमा पनि युनाइटेडको प्रदर्शन कमजोर भएको भन्दै प्रशिक्षक टेन हागको आलोचना हुन थालेको थियो । जितपछि प्रशिक्षक हाग खुसी देखिएका थिए ।
शनिबार नै सम्पन्न अर्को खेलमा वेस्टह्यामले ब्रेन्टफोर्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
वेस्टह्यामका लागि मोहम्मद कुडुस र जेरोड बाओनले गोल गरेका थिए भने ब्रेन्टफोर्डका लागि एक मात्र गोल निल मपेले गरेका थिए । जितसँगै वेस्टह्यामले ११ खेलबाट १७ अंक हासिल गरेको छ ।