• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

फलफूल लगायतका खाद्य सामग्रीको मूल्य दोब्बर महंगो भएको सर्वसाधारण गुनासो



काठमाडौँ । नेपालीहरुको महान चाड विजया दशमीको समयमा बजारमा फलफूल लगायतका खाद्य सामग्रीको मूल्य दोब्बरले महंगो भएको भन्दै सर्वसाधारणहरुले दु:खेसो पोखेका छन् ।

उनीहरुले चाडपर्वमा समेत सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्दा सर्वसाधारणले दु:ख पाएको बताए । चाडपर्वमा सरकारले सहुलियत दिनुपर्ने ठाउँमा चाडपर्वका लागि चाहिने चिनी लगायतका खाद्य सामग्रीको अभावसमेत परिपूर्ति गर्न नसकेको बताए । उनीहरुले बजारमा चिनीको अभाव र चामल लगायका खाद्य सामग्रीहरुको गुणस्तरियता नभएको समेत बताए । विगतका वर्षहरुको भन्दा यस वर्षको दशैँको समयमा मूल्यवृद्धि दोब्बर रहेको उनीहरुको भनाइ छ । सर्वसाधारण दिनेश श्रेष्ठ, साजना देवकोटा र जगतनारायण नायकले स्याउ, अनार लगायतका फलफूलमा धेरै महंगी बढेको गुनासो गर्नुभयो । उहाँहरुले सरकारले महंगी नियन्त्रण गर्नुपर्ने बताए । सामग्रीहरुको आवश्यकता पूरा गर्न सक्नुपर्ने र जनतालाई दु:ख दिनु नहुने उनीहरको भनाइ छ ।

त्यस्तै फलफूल व्यापारी लक्ष्मी श्रेष्ठले सामग्रीको गुणस्तर हेरेर मूल्य बढेको बताउनु भयो । उहाँले विगतको भन्दा यस वर्ष अनार, नरिवल पानीको मूल्य बढेपनि अरु फलफूलमा खासै मूल्य नबढेको बताउनु भयो । उहाँले आफूले पसल राखेको सात वर्षमा पहिलो पटक व्यापार घटेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महंगी बढ्यो भनेको छ, तर सामग्रीको गुणस्तर हेरेर हुन्छ, अनार, नरिवल पानी बढेको हो । व्यापार पोहोरको भन्दा धेरै कम छ । व्यापार भएको छैन । ७ वर्षमा यो पहिलो पटक यस्तो कम व्यापार भएको हो । हामीले हरेस ने खाइसक्यौँ ।’

उहाँले यस वर्ष व्यापार नहुँदा व्यवसाय गर्न हरेस खानुपर्ने अवस्था सिर्जना भएको बताउनु भयो ।