३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सङ्घीयताले छुन नसकेको इखेनी गाउँ

सङ्घीयताले छुन नसकेको इखेनी गाउँ
अ+ अ-

कर्णाली । कर्णाली प्रदेशको सदरमुकाम सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र त्यससँगै जोडिएको बराहताल गाउँपालिका दूरीका हिसाबले धेरै टाढा छैनन् । भूगोल जोडिएको छ, मानव विकास र पूर्वाधारका हिसाबले सामाजिक जीवनशैली र रहनसहनमा त्यति धेरै ठूलो फरक छ जस्तो लाग्दैन तर कथा अर्कै छ । 

वीरेन्द्रनगर र बराहतालबासीको सामाजिक, सांस्कृतिक, आर्थिक अवस्था निकै फरक छ । उक्त गाउँपालिकाको वडा नं ६ इखेनी गाउँको कथा अझ बढी कारुणिक छ । त्यसमा बालबालिकाको जीवन कथा झनै पीडादायक छ । वीरेन्द्रनगरमा चिल्ला सडक, कङ्क्रिट र सिमेन्टले बनेका पक्की घर, शैक्षिक तथा आर्थिक रुपले सम्पन्न नागरिक जीवनशैली भए पनि त्यसैसँग जोडिएको इखेनी गाउँ आज पनि बत्तीमुनिको अँध्यारो जस्तै छ । 

खरकै छाना भएका माटाका घर छन् । त्यहाँका नागरिकले आफ्नै ठाउँमा ज्यालादारी काम गर्न नपाएर भारतीय भूमिमा अपमानित भएर मजदूरी गर्नुपर्ने विवशताबाट मुक्ति पाउन सकेका छैनन् । तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र युद्धका बेला विसं २०६० मा इखेनीमा दलित बस्ती बसालेको थियो । हाल ९३ घरधुरी रहेको त्यहाँका नागरिकले आफ्नै ठाउँमा ज्यालादारी काम गर्न नपाएर भारतीय भूमि जानुपर्ने बाध्यता छ ।  गाउँमा सुनार, परियार, वादीलगायत दलित जातिका हातमा जग्गाधनी पूर्जा छैन । गाउँमा प्रायः अभिभावक बस्दैनन् । उनीहरु एकसरो कपडा फेर्न र केही कमाउन वर्षेनी कालापहाड धाउने गर्छन् । 

सन्तानका बाआमा नै कामका लागि कालपहाड नै जाने गरेको इखेनी जनजागरण आधारभूत विद्यालयका प्रधानाध्यापक पुष्पा रानाले राससलाई जानकारी दिनुभयो । “उनीहरु नियमित घर बस्दैनन् । बाबाआमा नै घरमा नबस्ने स्थितिले बालबालिकाको जीवन बढी सकसपूर्ण छ”, रानाले भन्नुभयो, “अभिभावकविहीन बालबालिकालाई पढ्न र पढाउन कठिन छ । पोशाकका कुरै छाडौँ, कापी कलम नै नभएपछि उनीहरु स्कूल जाऊन् पनि कसरी रु यसले हामी शिक्षण गर्नेलाई पनि गाह्रो भएको छ । कति अभिभावक बालबालिका नै लिएर कालापहाड जान्छन् । नियमित पढ्न नपाउँदा मावि तहमा पुग्न नपाउँदै उनीहरुले पढाइ छाड्छन् ।” 

उहाँका अनुसार धेरै बालबालिका अभिभावकविहीन् छन् । मजदूरीका लागि कालापहाड जानैपर्ने बाध्यताले धेरैले लामो समय उतै बिताउँछन् भने कतिले त्यहीँ अकालमै ज्यान गुमाउँछन् । यो समस्या आजका दिनसम्म ज्यूँका त्यूँ रहेको र  उनीहरुको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थामा कुनै फेरबदल नआएको रानाको भनाइ छ । 

‘भोको पेट भर्न बालविवाह’

वीरेन्द्रनगरबाट करीब ५५ किलोमिटर टाढा इखेनमी समथर भूमि भएकाले जमीन रामै्र छ तर सिँचाइ र खानेपानीको चरम अभाव छ । सिँचाइ नभएका कारण त्यहाँ बसोबास गर्नेले अपेक्षित उत्पादन गर्न सकेका छैनन् । आयआर्जनका प्रभावकारी कार्यक्रम पनि त्यहाँ सञ्चालन भएको पाइँदैन । इखेनीको दलित बस्तीमा न कोही रोजगार छ न त खान पुग्ने उत्पादन हुन्छ । उत्पादनको कमीले  अधिकांश कालापहाड जान्छन् । अभिभावकविहिन बालबालिका राम्रोसँग खाना खान पाउँदैनन् र प्रायः बालिकाले ‘भोको पेट भर्न बालविवाह’ गरेको प्रधानाध्यापक रानाको भनाइ छ । 

सुर्खेत पश्चिमका युवा नेता तथा समाजसेवी खड्ग बाँसपानीले गरीबीकै कारण बालविवाह बढेकाले इखेनीमा विकराल समस्या रहेको बताउनुभयो । “साविक कर्णालीमा घोडा, खच्चर, हवाइजहाज त चल्छन् तर सुर्खेत पश्चिममा यस्ता विकल्प पनि छैनन्”, उहाँले भन्नुभयो, “यहाँका नागरिकले घण्टौँ हिड्नुपर्छ । सुर्खेतको पश्चिम क्षेत्र हुम्ला, डोल्पाभन्दा पनि अति दुर्गम छ । नजिकमा भेरी नदी बगिरहेको छ । यसको किनारमा रहेका बस्तीमा खडेरी परिरहेको छ । नदीमा पानी बगिरहेको छ, बस्ती काकाकुल छ । भेरी नदीबाट लिफ्टिङ गरेर बाँझो भूमिमा सिँचाइ गर्न असहज छैन । खानेपानीको व्यवस्था गर्न निकै गाह्रो  जस्तो पनि लाग्दैन ।  नेतृत्वको कमजोरीका कारण जमीन बाँझो र रुखो हुँदै गएको छ । त्यहाँका नागरिक कालापहाडको आर्जनले पालिन्छन् ।” 

नेपालको संविधानले व्यवस्था गरेको शिक्षा, स्वास्थ्य, खाद्य, खानेपानीलगायत मौलिक हकको ठाडो उल्लङ्घन भइरहँदा हिजोदेखिको कुनै पनि नेतृत्व, समाजसेवी अधिकारीवादीले इखेनीवासीको अधिकारका निम्ति ठोस पहल नगरेको उहाँको टिप्पणी छ । मुलुक सङ्घीयतामा गइसकेपछि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने तीनै तहका सरकारको पनि खासै चासो नदेखिएको उहाँको आरोप छ । बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले इखेनी बस्तीका सबै परिवार भूमिहीन अवस्थामा रहेको जनाउनुभयो । उहाँले सो बस्ती विकासको ठूलो चुनौती भनेकै सिँचाइ भएको बताउनुभयो । “इखेनी गाउँका लागि अहिले रु ७० लाखमा हामी भेरी नदीको पानी लिफ्टिङ गर्दैछौँ”, उहाँले भन्नुभयो, “अब एक डेढ महिनामा खानेपानी गाउँमा पुग्छ ।”

सिँचाइ आयोजना पनि भेरी नदीबाटै सञ्चालन गर्ने तर त्यसका समय लाग्ने अध्यक्ष बस्नेतले जनाउनुभयो । उत्पादनको कमी भएका कारण कालपहाड धाउने नागरिकको उक्त बस्तीमा सिँचाइ पु¥याउन सके त्यहाँको जीवनस्तर नै बदलिने उहाँको भनाइ छ । अध्यक्ष बस्नेतले भन्नुभयो, “सिँचाइ पुग्ने वित्तिकै अहिलेको सम्पूर्ण बाँझो जमीन उपयोगमा आउँछ । उत्पादन वृद्धि भएर बस्ती आत्मनिर्भर बन्छ ।” यसका लागि सहयोग हात आवश्यक रहेको उहाँले जनाउनुभयो । सो गाउँपालिका–६ का वडाध्यक्ष खगेन्द्रदेव गिरीले सिँचाइका साथै अशिक्षा, गरिबी र भोकको समस्याले हुने बालविवाह मानवीय विकासका लागि सबैभन्दा ठूलो चुनौतीको सवाल भएकोे बताउनुभयो । उहाँले भन्नुभयो, “बालविवाह रोक्न जनचेतनाका कार्यक्रम अगाडि बढाइएको छ । यद्यपि बालबालिकाका अभिभावक नै मजदुरीका लागि भारत जान रोक्न नसकिनुले सञ्चालित योजना र कार्यक्रमले अपेक्षित लक्ष्य हासिल गर्न सकेको छैन ।”

गाउँमा एकल महिलालाई ऋण लिन र उधारो खाद्यान्न पाउन गाह्रो छ । उनीहरुलाई सहजै कसैले पत्याउँदैन । पौष्टिक खानाका कुरै छोडौँ, सामान्य खाना पनि पर्याप्त नहुँदा आमा तथा बालबालिका कुपोषित रहेको वडाध्यक्ष गिरीको भनाइ छ । उहाँका अनुसार इखेनीमा ‘एक घर एक धारा’ को परियोजना निकट केही महिनामै सम्पन्न हुने गरी काम भइरहेको छ । 

चिया पकौडा बेचेर स्कुले नानीलाई सहयोग

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका शिक्षकविद्यार्थीले यो हप्ता बराहताल–६ सुर्खेत इखेनीका १५० स्कूले बालबालिकालाई चिया पकौडा बेचेर पाठ्य सामग्री सहयोग गरेका छन् । विश्वविद्यालय सामाजिक कार्य विभाग स्नातक तथा स्नातकोत्तर तह दोस्रो सेमेष्टरका विद्यार्थीले फिल्ड कार्यका क्रममा चिया पकौडा बेचेर रु २० हजार आम्दानी गरी बालबालिकालाईरु एक लाख बराबरको पोशाक, कापी र सिसाकलम सहयोग गरिएको विभागका प्रमुख खगेन्द्र अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “५२ बालबालिकालाई विश्वविद्यालयका विद्यार्थीसँग सुर्खेत जिल्लाका विभिन्न प्राकृतिक, पुरातात्विक, धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको पनि अवलोकन गराईएको छ ।”

विभागीय प्रमुख अधिकारीले अगाडि भन्नुभयो, “ बस्तीमा चरम समस्याका रुपमा देखिएको बालविवाह रोक्न बाल क्लब पनि गठन गरिएको छ । कुरीति र कुप्रथाविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । विभिन्न सामाजिक सङ्घसंस्थाको सहकार्य एवं समन्वयमा समुदायमा प्रयोग हुँदै गरेको घरेलु मदिरा पूर्णरुपमा बन्द गर्ने अभियानका साथै ‘नमूना बस्ती’ निर्माण गर्ने योजनामा सहयोग पुर्‍याएको छ ।”

विभागले इखेनीका अतिविपन्न बालबालिकाको पढाइलेखाइ, ज्ञान आर्जन, समाज परिवर्तनका साथै सुर्खेत पश्चिमका लगाम, बेतान, बिजारौका महिलाको पाठेघरमा रिङ राख्ने, सेनिटरी प्याड वितरणदेखि जटिल खालका बिरामीको उपचार शल्यक्रिया गर्न प्रदेश अस्पताल पुर्‍याउने कामसमेत गरेको उहाँको भनाइ छ । 

विश्वविद्यालयका विद्यार्थी सुरेश खड्काले इखेनीका स्कूले बालबालिकाको दयनीय अवस्था बुझेर प्रभावित क्षेत्रमा पुगेको र एक साताको फिल्ड कार्यमा उनीहरुको कापीसिसाकलमका लागि सहयोग सङ्कलन गरिएको बताउनुभयो । अर्का विद्यार्थी सिर्जना शाहीले भन्नुभयो, “फिल्ड कार्यले एकातिर सामाजिक सेवा गर्ने मौका मिलेको छ भने अर्कातिर व्यावहारिक र प्रयोगात्मक ज्ञान प्राप्तिको सफल अभ्यास भयो ।” प्रधानाध्यापक रानाले धेरै बालबालिकाले वीरेन्द्रनगर नै नदेखेको र  धार्मिक सम्पदा भनेर काँक्रेबिहार देउती बज्यैको कुरा किताबमा पढाउँदा नबुझ्ने गरेकामा भ्रमणले  धेरै सिकाएको बताउनुभयो ।   

उहाँले पाँच कक्षासम्म सञ्चालित विद्यालयमा स्थायी शिक्षकको दरबन्दी नभएको जनाउँदै भन्नुभयो, “म राहत दरबन्दीको शिक्षक हुँ । एक जना करार हुनुहुन्छ । ९६ बालबालिका छन् । शुरुमा वातावरण राम्रो नहुँदा यो स्कुलमा फसे भन्ने लाग्यो । कतिखेर बाहिर निस्कौ जस्तो भयो । अहिले सहयोगी हातहरुले निरन्तर अघि बढ्न उत्साह मिलेको छ ।” कालापहाडमा दिन गुजारा गर्ने समुदायका महिला आयआर्जन गरेर आत्मनिर्भर बनून् र बालबालिकाको पठनपाठनमा सहयोग पुगोस् भन्ने हेतुले कर्णाली प्रदेश अस्पताल, बालरोग स्वास्थ्य विभागका प्रमुख डा नवराज केसीले त्यहाँका आमालाई कुखुरा वितरण गर्नुभएको छ । (रासस, शुरबहादुर सिंह)