३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

‘सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गराउन कठिन’

‘सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गराउन कठिन’
अ+ अ-

काठमाडौं । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य मापदण्ड पालना गर्दै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । धेरैले स्वास्थ्य मापदण्ड पालना गर्ने तर केही व्यक्तिले लापरवाही गर्नाले सार्वजनिक यातायात चढ्ने यात्रुमा कोरोना सङ्क्रमणको उच्च जोखिममा पर्ने खतरा बढेको छ । सार्वजनिक यातायातमा कोरोनाबाट बच्न जारी स्वास्थ्य मापदण्ड पूर्णरुपमा कार्यान्वयन नहुँदा अनुगमन प्रभावकारी हुन नसकेको यात्रुको गुनासो छ । 

उपत्यकाको भित्री भाग विशेष गरी चक्रपथभित्र चल्ने सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड बढी पालना भएको देखिए पनि उपत्यकाको काठ क्षेत्र एवं लामो दूरीका सवारीमा पालना हुन नसकेको ललितपुर बुङ्मतीका यात्रु जयराम महर्जनले गुनासो गर्नुभयो । उपत्यकाको मुख्य भागमा चल्ने सवारीमा मापदण्डअनुसार नै यात्रु चढेको देखिए पनि काठ क्षेत्रमा चल्ने यातायातमा बिहान कार्यालय र बेलुका कार्यालय फर्कने समयमा भीड हुने गरेको छ । 

सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रुलाई मास्क दिएर मात्र यात्रा गराउनुपर्ने नियम सरकारले बनाए पनि प्रहरी कार्यालय आएपछि मात्र परिचालकले ‘कसैले मास्क लगाउनुभएको छैन कि रु’ भनी सोध्ने गरेका छन् । यात्रु चढ्ने बेलामै मास्क लगाएर मात्र यात्रा गर्नुस् भनेको नदेखिएको रत्नपार्कबाट भक्तपुरको कमलविनायक यात्रा गरिरहनुभएकी यात्रु सविना कोजुले सुनाउनुभयो । सबै तहका सरकारले कानून बनाउने तर कार्यान्वयनमा ध्यान नदिने गरेकाले महामारीका बेला कोरोना जोखिम उच्च भएको उहाँको भनाइ छ । 

स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा अनुगमन समितिको व्यवस्था भए पनि प्रभावकारी रुपमा काम गर्न नसक्दा सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना हुन नसकेको हो । स्थानीय सरकारले स्थानीय मार्गमा चल्ने सार्वजनिक यातायातमा अनुगमन गरेर नियमन गर्न नसक्ने देखिएको यात्रु कोजुको गुनासो छ । स्थानीयस्तरमा चिनिने भएकाले भावी निर्वाचनमा प्रभाव पर्न सक्ने डरले पनि उपप्रमुख नेतृत्वको अनुगमन समितिको प्रभावकारी हुन नसकेको हो । उपप्रमुख आगामी निर्वाचनका स्वाभाविक रुपमा प्रमुखको दावेदार हुने र अनुगमन एवं कारवाहीको प्रक्रियामा जाँदा चुनावको माहोल बिग्रने विश्लेषणले काम नभएको यात्रुको विश्लेष्ण छ । 

स्थानीय तहका अनुगमन समितिले बजार अनुगमन गर्नुपर्नेमा त्यो हुन सकेको छैन । उपभोग्य वस्तुको विना कारण मूल्य वृद्धि भइरहँदा पनि अनुगमन समिति मूकदर्शक मात्र बन्ने गरेको उपभोक्ता मञ्चका सदस्य रोशन पोखरेलले बताउनुभयो । पछिल्लो समय तेल, तरकारीलगायत खाद्यपदार्थको मूल्य एकाएक बढेको छ ।

 केन्द्रीयस्तरमा थोरै अनुगमन टोली

केन्द्रीयस्तरबाट यातायातको अनुगमन यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र वाणिज्य विभागले गर्ने गरेकामा त्यस्तो अनुगमन भएको नदेखिएको यात्रुको भनाइ छ । यस्ता निकायले प्रत्येका दिन गर्ने अनुगमन र प्राप्त तथ्य आफ्ना वेबसाइटमार्फत सार्वजनिक गर्ने व्यवस्था गरिनुपर्ने यात्रु सरिना विश्वकर्माको माग छ

यातायात व्यवस्था विभागका सूचना अधिकारी डा लोकनाथ भुसाल भने सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन भइरहेको दावी गर्नुहुन्छ । आज पनि कोटेश्वर क्षेत्रमा चल्ने सार्वजनिक यातायातमा अनुगमन भइरहेको उहाँले सुनाउनुभयो । विभागले गर्ने अनुगमनमा ट्राफिक प्रहरी सहभागी हुने  गरेको छ । 

विभागको अनुगमन टोली खटिने गरे पनि एउटै मात्र हुने भएकाले धेरैतिर गर्न कठिनाइ पर्ने गरेको छ । उपत्यकाका सबै स्थानीय तहका अनुगमन समितिलाई सक्रिय गराएर सार्वजनिक यातायातको अनुगमन गर्न पनि यात्रुले विभागको ध्यानाकर्षण गराउने गरेका छन् । विभागले अनुगमनका क्रममा सिट क्षमताभन्दा बढी यात्रुलाई झार्ने गरेको छ ।

अनुगमनका क्रममा अवस्था हेरी रु १०० देखि रु एक हजारसम्म जरिवानासमेत गर्ने गरिएको विभागले जनाएको छ । मास्क नलगाई सार्वजनिक यातायातमा यात्रा गर्नेलाई पनि रु १०० जरिवाना गरिएको सूचना अधिकारी भुसालले बताउनुभयो । 

‘आफ्नै स्वास्थ्यको ख्याल गर्दैनन् यात्रु’

सरकारले वैशाख १६ गतेदेखि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेपछि आज बिहानैदेखि धेरै सार्वजनिक यातायात राजधानीबाट बाहिरिएका छन् । तर यी सवारीमा पनि पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना हुन सकेको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारी सोमबारदेखि नै आइतबारको भन्दा बढी यात्रु उपत्यका बाहिर गएको तथ्याङ्क प्राप्त भएको बताउनुहुन्छ । 

उपत्यका बाहिर लामो रुटमा चल्ने प्राय: सार्वजनिक यातयातले सिट क्षमताभन्दा बढी यात्रु चढाउँदैनन् । उपत्यकासँग जोडिएका जिल्लामा भने अलि बढी नै यात्रु हालेर लगेका छन् । केही यात्रुले भने आफ्नो स्वास्थ्यलाई प्रभाव पर्ने भएपनि मास्क नलगाएको देखिएको प्रवक्ता अधिकारीले सुनाउनुभयो । ट्राफिक प्रहरीको अभिलेख अनुसार आज बिहान पनि उपत्यकाबाट बढी सवारी बाहिरिएका छन् । 

“उपत्यकामै रत्नपार्कबाट दक्षिणकाली रुटमा चल्ने सार्वजनिक यातायातलाई सिट क्षमताभन्दा बढी यात्रु नराखभन्दा बस चालक नै छाडे, सबैको स्वास्थ्यका लागि मापदण्ड पालना गराउन खोज्दा पनि समस्या आउने गरेको छ”, उहाँले भन्नुभयो ।

 पटकपटक सचेत गराउँदा पनि सार्वजनिक यातायातमा तोकिएको मापदण्ड पालना नगराउने सार्वजनिक यातायातलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बसपार्क वरपरका पैदलमार्ग बजार कायमै 

राजधानीमा पुरानो बसपार्क वरपरका पैदलमार्ग बेलुकी व्यापारीले ढाकेका हुन्छन् । बेलुकीको बजार हेर्दा लाग्छ देशमा कुनै रोगको महामारी नै छैन । बेलुकी सवारी चढ्न पैदलमार्ग भएर जाने यात्रुले बाटो पाउँदैनन् । सुन्धाराबाट पुराना बसपार्क, रत्नपार्कको वरिपरि र राष्ट्रियसभा गृहबाट पुराना बसपार्कसम्मको दुवैतर्फका पैदलमार्ग व्यापारीले भरिभराउ हुन्छन् । 

यहाँ २५ जनाभन्दा बढी भेला हुन नपाउने मापदण्ड कार्यान्वयन हुन नसकेको सार्वजनिक यातायात चढ्न रत्नपार्क जाँदै गर्नुभएका टीकाथलीका यात्रु रामकृष्ण गुरागाइँले गुनासो गर्नुभयो । बस चढ्न पैदलमार्गमा हिँड्दै सङ्क्रमण फैलने डर भएको उहाँको भोगाइ छ । 

पुराना बसपार्क क्षेत्र रहेको काठमाडौँ महानगरपालिका वडा नं. २८ का अध्यक्ष भाइराम खड्गी कोभिडसम्बन्धी विषयमा छलफल गर्न आज बोर्ड बैठक बस्न लागेकाले यस विषयमा कुरा राख्ने तयारी गरेको बताउनुहुन्छ । पैदलमार्ग व्यापारीका कारण पुरानो बसपार्क क्षेत्रमा दूरी कायम गर्न नसकिने अवस्था रहेको उहाँले स्वीकार्नुभयो । (रासस, पूर्णप्रसाद मिश्र)