३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

धरहरासँगै पुरिएकी प्रशंसा : जसका लागि भूकम्प भाग्य बनेर आयो

धरहरासँगै पुरिएकी प्रशंसा : जसका लागि भूकम्प भाग्य बनेर आयो
अ+ अ-

काठमाडौं । स्याङ्जाबाट काठमाण्डौ घुम्न आएकी दिदीलाई डूलाउन धरहरा पुगेकी प्रशंसा श्रेष्ठलाई आफ्नो कहालीलाग्दो विगत कुनै खराब सपना झै लाग्छ । दिदीसँगै धरहराको नवौं तलामा पुगेर फलामको रेलिङमा हात परेकै बेलादेखि भूकम्पले पिङ झै हल्लाएको र क्षणभरमै दिदी गुमाई आफू पनि मृत्युको मुखमा पुगेको त्यो पल हरेक वर्षको भूकम्प दिवसको दिन ताजा बनेर आउँछ । 

दिदीबहिनी रमाइलो गर्दै, जिस्किदै धरहराका सिढीहरु चढेको, नवौं तलामा पुगेर काठमाण्डौलाई नियालेको, मोवाइलबाट एकअर्काको फोटो खिचेको र त्यही बेला एकाएक भूकम्प आई सबै बर्बाद भएको क्षणको विषयमा कुरा गर्दा अहिले पनि प्रशंसाको आँखा रसाउँछ, मुटुमा गाँठो पर्छ, दिदीको सम्झना ताजा बनेर आउँछ । 

उनै प्रशंसा श्रेष्ठ, जो ११ कक्षाको बोर्ड परीक्षाको अन्तिम तयारी गरिरहेकै बेला दिदीसँग धरहरा चढ्न सुन्धारा पुगेकी थिइन्, जतिबेला उनीसहित कयौं व्यक्ति धरहरा भत्किँदा त्यहाँको भग्नावशेषमा पुरिएका थिए । त्यसरी पुरिएकामा बाँचेका सीमितमध्येकी एक पात्र हुन् प्रशंसा । 

त्यसबेला प्रशंसा आमासँग ललितपुरस्थित डेरामा बस्ने गर्थिन् । स्थायी ठेगाना स्याङ्जाको पुतलीबजार भए पनि प्रशंसाकै पढाईका लागि उनीहरु काठमाण्डौ सिफ्ट भएका थिए । भूकम्प आउँदा काठमाण्डौ आएको १ वर्ष मात्र भएको थियो । 

भूकम्पको बेला भीमसेन स्तम्भ धरहरा भत्कियो र सबैभन्दा माथिल्लो तलामा रेलिङ समातेर बसेकी प्रशंसा समेत भग्नावशेषले थिचिइन् । उनकी दिदीको घटनास्थलमै मृत्यु भयो भने उनलाई भने फलामको रेलिङले थिचेर खुट्टामा निकै गम्भीर असर पर्यो । खुट्टा ठाउँ ठाउँमा भाँचिएर र रक्तश्राव भएर घटनालगत्तै उनी बेहोस भइन् । उद्धारकर्मीले उद्धार गरेर नर्भिक अस्पताल पुर्याए । बाँच्ने संभावना निकै कम भएकी प्रशंसाले नर्भिक अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र व्यवस्थापनको समेत अनपेक्षित साथ पाउँदा नयाँ जीवन पाइन् । 

नर्भिक अस्पतालको बेडमा पुगेकै कारण भूकम्प प्रशंसाको जीवन र पढाईका लागि निकै ठूलो टर्निङ प्वाइन्ट बनिदियो । ‘भूकम्पले मेरी दिदीलाई लग्यो । तर मेरो लागि भने भूकम्प भाग्य बनेर आयो ।’ प्रशंसाले दिदीको यादले रसाएका आँखा पुछ्दै भनिन्–‘भूकम्पकै कारण मेरो जीवनमा नसोचेको परिवर्तन भयो । आज मेरो सपना पूरा हुँदैछ, म एउटा सक्षम नारी बन्दैछु ।’ 

धराहरामा परेर पनि बाँचेकी प्रशंसा अस्पतालको शैयामा केही आराम गरिरहँदा उनलाई भेट्न नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरी पुगेका थिए । त्यहाँ पुगेर उनले प्रशंसाको उपचारमा लाग्ने सबै खर्च अस्पतालले व्यहोर्ने घोषणा गरेका थिए । त्यति मात्र होइन, उनले अस्पतालको शैयामा छटपटाइरहेकी प्रशंसालाई उनको सपनाको बारेमा सोधेका थिए । जवाफमा प्रशंसाले भनिन्–‘बिएसी नर्सिङ पढ्ने मेरो ठूलो सपना छ ।’ 

चौधरीले सोही बेला प्रशंसाको सपना नर्भिकले पूरा गरिदिने वचन दिएका थिए । उनले वचन दिएजस्तै अहिले प्रशंसा सानेपाको ललितपुर नर्सिङ क्याम्पसमा बिएसी नर्सिङ पढिरहेकी छिन् । उनको पढाईको पूरा प्रायोजन नर्भिक अस्पतालले गरिदिएको छ। अहिले प्रशंसाको बिएसी नर्सिङको तेश्रो वर्षको बोर्ड परीक्षाको तयारी चलिरहेको छ । परीक्षाकै तयारीबीच कुराकानी गर्न राजी भएकी प्रशंसाले भनिन्–‘भूकम्पपछि म उपचारका लागि नर्भिक पुग्नु नै मेरो भाग्योदय हुनु रहेछ । बसन्त चौधरीले मेरो सपना पूरा गरिदिनुभयो ।’ 

नर्भिकले बिएसी नर्सिङको पढाईका लागि प्रशंसालाई फूल स्कलरसीपको व्यवस्था मात्र गरिदिएन, रेलिङले थिचेर जीर्ण बनेको उनको खुट्टा समेत ठीक पारिदि यो । खुट्टा ठीक पार्नैका लागि विदेशबाट सिनियर डाक्टर र अत्याधुनिक उपकरण र प्रविधि समेत भित्र्याइयो । प्रशंसाले उपचारकै लागि नर्भिक अस्पतालमा साढे ४ महिनाभन्दा बढी  भर्ना भई बस्नु परेको थियो ।

सो क्रममा नर्भिक अस्पतालमा उनको उपचारका क्रममा लागेको खर्च समेत सबै मिनाहा गरिएको थियो । ‘नर्भिकमा साढे ४ महिना बढी बस्दा मेरो उपचारमा लाखौं खर्च भयो होला, तर त्यो सबै मिनाहा गरिदिनुभयो ।’ प्रशंसाले खुशी हुँदै भनिन्–‘विदेशी डाक्टर नआउनुभएको थियो भने मेरो एउटा खुट्टा छोटो हुने रहेछ, धन्न म भाग्यमानी रहेछु।’ 

अहिले उनको खुट्टा पहिला झै ठीक भएको छ । नर्सिङ पेशामा आबद्ध भएपछि धेरै लामो समयसम्म उभिनुपर्दा खुट्टाले साथ नदेला कि भन्ने चिन्ता उनमा थियो । तर, राम्रो उपचार भएका कारण अहिले त्यस्तो कुनै समस्या छैन । उनी लामै यात्रा पनि पैदल नै गर्न सक्छिन्, पहिलाको जस्तै । प्रशंसाका अनुसार पढाईपछि उनी सेवा गर्न नर्भिकमै आउनेछिन् । आफूमा पनि समस्यामा परेकाहरुलाई सेवा गर्ने ठूलो सपना रहेको उनले सुनाइन् । 

पढाईकै व्यस्तताका बीच आफूले अस्पतालबाट डिस्चार्ज भएपछि अहिलेसम्म आफ्नो जीवन सुधारिदिने बसन्त चौधरीलाई भेट्न नसकेकोमा आफूलाई ग्लानी भएको बताइन् । ‘मैले पहिल्यै उहाँलाई भेट्नुपथ्र्यो, तर पढाईमा व्यस्त हुँदा भेट्ने अवसर जुरेन ।’ उनले भनिन्–‘तर अब चाँडै भेट होस् भन्ने कामना गर्छु । म उहाँलाई चाँडै भेट्न चाहन्छु ।’ 

फेरि धरहरा चढ्ने आँट छैन
प्रशंसाले सामाजिक सञ्जाल, विभिन्न मिडियाका माध्यमहरुबाट भत्किएको धरहरा बनेको सुनिन् । प्रधानमन्त्रीले धरहरा उद्घाटन गरेको समेत उनलाई थाहा छ । धरहरा उद्घाटनमा उनलाई पनि सरकारी मान्छेले बोलाउलान् कि भन्ने डर थियो, धन्न निमन्त्रणा नै आएन र ढुक्कले घरमै बसेर टिभी स्क्रीनमा उद्घाटनको दृश्य हेरिन् ।

उनमा अझै पनि धरहराको नाम सुन्ने बित्तिकै उनमा डर पैदा हुन्छ । ‘सायद म जीवनभर धरहरा चढ्न सक्दिँन होला ।’ उनले भनिन्–‘फेरि धरहरा जान त के, सुन्धारा आसपास पुग्नै पनि आँट आइरहेको छैन ।’उनले धरहरालाई पहिलाभन्दा अझ राम्रो, व्यवस्थित र घुम्न लायक बनाइदिएकोमा नेपाल सरकार र प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएकी छिन् ।