३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कोरोनाले सिकाएको पाठ : प्राङ्गारिक उत्पादनतर्फ किसान

कोरोनाले सिकाएको पाठ : प्राङ्गारिक उत्पादनतर्फ किसान
अ+ अ-

गलेश्वर । विगत २८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दङ्ग पर्नुभएको छ ।

जिल्लाको नयाँ पर्यटकीयस्थल लभ्लीहिल नजिकैको १२ रोपनी खेत र बारीमा प्राङ्गारिक तरकारी खेती गर्दै आउनुभएका कार्कीले यसअघि कहिल्यै पनि प्राङ्गारिक तरकारीको बिक्री यति धेरै भएको थाहा पाउनुभएको थिएन । “म विगत २८ वर्षदेखि तरकारी खेतीमा छु, मेरो जीवनको उर्वर समय मैले मेरै खेतबारीको माटोमा बिताएको छु”, कार्कीले भन्नुभयो, “तर कोरोना कहर शुरु भएयता जसरी मैले फलाएको तरकारी बिक्री भयो, त्यसरी यसअघि कहिल्यै पनि भएको थिएन ।”

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण जतिजति बढ्दै गयो, मानिसले आफ्नो स्वास्थ्यलाई ध्यान दिई प्राङ्गारिक खानेकुराको मात्रा बढाउँदै लगे । विशेषगरी आयातित तरकारी र फलफूल नपाइने वा मानिसले त्यसलाई ध्यान नदिने भएपछि सदरमुकाम नजिकै रहेका कृषककहाँ पुगेर नै बजारका मानिसहरुले तरकारी खरिद गर्न थालेपछि कार्कीजस्तै व्यावसायिक तरकारी खेतीमा लागेका किसानका उत्पादनले बजार पाउन थालेका हुन् । कृषक कार्कीको खेतबारीमा प्राङ्गारिक तरकारी र फलफूल झुलिरहेका छन् । शारीरिक व्यायामका लागि बिहान लभ्लीहिलमा जाने बजारका गृहिणी, युवायुवती वा बटुवाले कार्कीको बारीमा पसेर ताजा तरकारी खरिद गरी फर्कने गरेका छन् । 

त्यसैगरी खबराका अर्का कृषक शोभित शर्मा, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदीलगायतका जिल्लाका दुई दर्जनभन्दा बढी कृषकले पछिल्लो समय प्राङ्गारिक तरकारीको बिक्री बढेपछि खेती विस्तार गर्ने सोच बनाएको बताएका छन् । विगतमा तरकारी बिक्रीबाट वार्षिक रु पाँच लाख आम्दानी गर्दै आउनुभएका खबराका कार्कीले विसं २०७६ चैतदेखि २०७८ वैशाखसम्म तरकारी बिक्री गरेर रु ११ लाखभन्दा बढी आम्दानी भएको बताउनुभयो । त्यसैगरी डाँडाखेतका नारायण पौडेलले पनि गत वर्ष आफूले उत्पादन गरेको तरकारी राम्रो बिक्री भएको र सोचेभन्दा बढी आम्दानी भएको बताउनुभयो ।

म्याग्दीका छ स्थानीय तहमा गरी २०० भन्दा बढी कृषक व्यावसायिक तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीमा लागेका किसानले पछिल्ला वर्षमा मनग्ये आम्दानी गर्न थालेको कृषि प्राविधिक जगत बानियाँको अनुभव छ । बानियाँ भन्नुहुन्छ, “कोरोना कहर शुरु भएयता मानिसले प्राङ्गारिक उत्पादनको महत्व बुझ्न थालेका छन्, जसले गर्दा गाउँका उत्पादनहरुको माग शहर बजारमा बढी हुन थालेपछि किसानलाई फाइदा भएको हो ।”

कोरोनापछि धेरै मानिसले प्राङ्गारिक उत्पादन खोज्न थालेको बगरफाँटका कृषक जीतबहादुर कार्कीको पनि अनुभव छ । बेनी–बगरफाँट–सुर्केमेला–बरङ्जा सडकको छेउमा रहेको उहाँको बारीमा प्राङ्गारिक तरकारी खरिद गर्न बेनीबजारबाट धेरै ग्राहाक आउन थालेका छन् ।  कोरोनापछि प्राङ्गारिक तरकारी खोज्दै उहाँका बारीमा धेरै उपभोक्ता पुग्छन् । मानिसको स्वास्थ्यसँग जोडिएको हुनाले पहिलादेखि नै कार्कीले प्राङ्गारिक खेतीको प्रचारपसार गर्दै आउनुभएको थियो । विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा धेरै हानी गर्ने हुँदा सबैले प्राङ्गारिक खेती गर्नुपर्ने कृषिविज्ञको भनाइ छ ।

म्याग्दीमा निजी क्षेत्रले करोडौँ लगानीमा कृषिफार्म सञ्चालन गरेका छन् । जिल्लाको बेनी नगरपालिका–४ सिङ्गा र आवेबगरमा करिब रु १० करोडको लगानीमा सञ्चालित हरियाली कृषिफार्म र मङ्गला गाउँपालिकाको हिदीमा रु तीन करोडको लगानीमा प्राङ्गारिक कृषिफार्म सञ्चालित छन् । यी कृषिफार्मले पनि प्राङ्गारिक उत्पादनमा जोड दिँदै आएका छन् । म्याग्दीमा पछिल्लो समय प्राङ्गारिक कृषितर्फ युवाको पनि आकर्षण बढ्दै गएको छ । विशेषगरी कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवा प्राङ्गारिक खेतीतर्फ लागेका छन् । ध्रुवसागर शर्मा/रासस