२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहुघाट जलविद्युत् आयोजना १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति



अ+ अ-

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको १४ वर्षमा ६० प्रतिशत काम सकिएको छ ।

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा विसं २०६६ मा सो आयोजना निर्माण सुरु भएको थियो ।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा सो आयोजना निर्माण अघि बढाइएको थियो ।

पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट विसं २०७० मा निर्माण सकिनुपर्ने थियो । विसं २०७४ मङ्सिरमा सम्पन्न गर्नेगरी रु छ अर्बमा ठेक्का सम्झौता गरेको भारतको सिभिल ठेकेदार जयप्रकाश एशोसियट् (जेपी)ले पनि निर्धारित समयभित्र आयोजना निर्माण सम्पन्न गर्न सकेको छैन ।

आयोजनाका व्यवस्थापक राज विष्टले हालसम्म समग्रमा ६० प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तिय प्रगति भएको बताउनुभयो । “पैँतालिस महिनाको ठेक्का सम्झौताको म्याद भएको आयोजना सन् २०२३ जनवरीदेखि सञ्चालनमा ल्याउने लक्ष्य थियो”, उहाँले भन्नुभयो, “कोरोना महामारी र विपद्का कारण ठेकेदार कम्पनीले लक्ष्यअनुसार काम गर्न नसकेका कारण सन् २०२४ को अक्टोबर १७ सम्म ठेक्का सम्झौताको म्याद थप भएको छ ।”

पुरानो ठेकेदार आइभिआरसिएलले आठ वर्षमा १० प्रतिशत काम गरेको थियो । विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा सुरुङ खन्न सुरु गरेको जेपी कम्पनीले हालसम्म पिप्लेमा ६१ मिटर गहिरो सर्चसाफ्ट, तीन सय २९ मिटर वटम प्रेसर साफ्ट, छ सय ५४ मिटर लामो चारवटै अडित (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग) र एक सय ९६ मिटर ठाडो सुरुङ निर्माण गरिसकेको छ । अडिट एकबाट बाँधतर्फ जाने ७५ मिटर लामो सुरुङ जोडिएको छ ।

छ किलोमिटर दुई सय ७० मिटर लामो सुरुङमध्ये हालसम्म पाँच हजार एक सय ६२ मिटर निर्माण सकिएको छ । एक हजार एक सय आठ मिटर सुरुङ खन्न बाँकी छ । बाँध निर्माण स्थलमा अडिट एक, अधेरीखोलामा अडिट दुई, पिप्लेमा अडिट तीन र तिल्केनी चौरमा अडिट नं ४ खन्ने कार्य सम्पन्न गरी ती अडिटहरुबाट सुरुङ निर्माणलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध निर्माणको काम ६० प्रतिशत सकिएको छ । तिल्केनीचौरमा विद्युत्गृहको संरचना निर्माण तीव्रताका साथ भइरहेको छ ।

घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत्गृह र बाँधलाई सिधा सडकले जोडिएको छ । यसअघिका दुई वर्ष बुग्लको पहिरोका कारण बर्खायामको चार महिना बाँध निर्माणको काम रोकिएको थियो । यस वर्ष बर्खायाममा पनि बाँध, सुरुङ र विद्युत्गृह निर्माणले निरन्तरता पाएको आयोजनाका व्यवस्थापक गणेश केसीले बताउनुभयो ।

प्राकृतिक विपद्, कोरोना (भाइरस)को महामारी र कालीगण्डकीबाट नदीजन्य निर्माण सामग्री उत्खनन गर्न नपाउनुलाई ठेकेदारले ढिलाइको कारण भएको जनाएको छ । विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड ९भेल०ले विद्युत्गृहका उपकरण आयात गर्न थालेको छ ।

भेलसँगको ठेक्का सम्झौताको म्याद सन् २०२४ नोभेम्बर महिनासम्म थपिएको छ । उक्त आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक रु चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।

राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करीडोरअन्तर्गत २२० केभी ९डबल सर्किट० क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न लुप इन लुप आउट ९लिलो०को चार टावर तयार भएको छ ।

केही दिनअघि आयोजना निरीक्षण गर्नुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीसँग आयोजनाका अधिकारीहरुले नदीजन्य निर्माण सामग्रीको अभावका कारण निर्माण कार्यमा असर पर्न थालेको जानकारी गराएका थिए । सर्वोच्च अदालतले विसं २०७८ असारमा कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा निकासी गर्न रोक लगाएको थियो ।

मन्त्री जुग्जालीले राहुघाट जलविद्युत् आयोजना निर्माणमा भएको ढिलाइले म्याग्दी जिल्लालाई मात्र नभएर समग्र देशलाई नै नोक्सानी भएको बताउनुभयो । वैकल्पिक स्रोत पहिचान गरी आयोजनालाई नदीजन्य निर्माण सामग्रीको अभाव हुन नदिन सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै उहाँले थप भएको आगामी एक वर्षभित्र नै आयोजना सञ्चालन हुने वातावरण बनाउन आयोजना, निर्माण कम्पनी र परामर्शदातालाई निर्देशन दिनुभयो । रासस