७ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा कोभिड बिरामी कुन अस्पतालमा कति ?



अ+ अ-

काठमाडौं । राजधानीका धेरैजसो अस्पतालमा कोभिडका नयाँ बिरामीलाई सहजै भर्ना गरेर उपचार गर्न सकिने अवस्था छैन । कोभिड बिरामीका लागि छुट्याइएका सबै शय्या भरिइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दिनहुँ जटिल प्रकारका संक्रमितको संख्या बढिरहेकाले चाप थेग्न राजधानीमा तत्काल करिब हजार शय्याभन्दा बढीको अक्सिजनसहित उपचार दिन सकिने अस्थायी अस्पताल आवश्यक भइसकेको छ ।

सिकिस्त बिरामी बढिरहेकाले केही अस्पतालले थप बिरामीलाई सेवा दिन क्षमता विस्तारको तयारी थालेका छन् । हाल उपत्यकाका अस्पतालमा सामान्य अक्सिजनसहितको बेड पाउन कोभिडका बिरामी लाममा बस्नुपर्ने अवस्था छ । ‘बेड निकाल्न सकिएको छैन, ३–४ जना क्यूमा छन्, कोभिड पोजिटिभ बेड नपाएर इमर्जेन्सी, ट्रान्जिट वार्डमा छन्,’ वीर अस्पतालका कोभिड फोकल पर्सन डा. अच्युतराज कार्कीले भने, ‘तत्काल नयाँ बिरामी लिन सकिने स्थिति छैन ।’ वीरमा कोभिडका ९४ जना बिरामी छन् ।

तीमध्ये आईसीयूमा १० र भेन्टिलेटरमा ५ जना छन् । बिरामीको बढ्दो चापलाई ध्यानमा राख्दै १८ बेडको नयाँ वार्ड थप्ने तयारी गरेको डा। कार्कीले बताए । उनका अनुसार १८ मध्ये चारवटा बेड डायलसिसका लागि छुट्याउने र १४ वडा अक्सिजन बेड रहनेछन् । राजधानीका अस्पतालले कोभिडका बिरामीका लागि क्षमता विस्तार गर्दा पनि एक दिनमै शय्या अपुग हुन थालेको छ । अस्पतालको क्षमता, तयारी र बिरामीको चापमा धेरै भिन्नता देखिएको छ ।

हाल राजधानीमा देखिएको संक्रमण, जटिल बिरामीको संख्या विस्तारको दर र अस्पतालले विस्तार गर्ने सेवासुविधाको दर नमिलेको जनाउँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले भने, ‘अस्पतालले एक शय्या थप्दा २० जना जटिल बिरामीको संख्या थपिइसक्छ ।’ त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले अस्पतालमा कोभिड र ननकोभिड बिरामीका लागि थप शय्या राख्ने तयारी भएको जानकारी दिए । हाल शिक्षण अस्पतालमा आईसीयू, हाइडिपेन्डेन्सी युनिट (एचडीयू), अब्जरभेसन, कोभिड इमर्जेन्सीसहित १४० कोभिड बिरामीका लागि डेडिकेटेड बेड बनाइएको छ । शिक्षणले तयार गरेका ‘एचडीयू’ दुई दिनमै भरिएको डा। काफ्लेले जनाए । ‘अवस्था गम्भीर छ, जुन संख्यामा बिरामी आइरहेका छन्, त्यसअनुसार द्रुत गतिमा थप उपचार व्यवस्था गरिएको छ,’ उनले भने ।

कोभिड बिरामीका लागि उपचार प्रक्रियाअन्तर्गत जनशक्ति, सप्लाई चेन, अक्सिजनलगायत थप व्यवस्था आवश्यक भएको उनले औंल्याए । ‘१२ बेडको आईसीयूमा २४ घण्टामा १२० वटा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) चाहिन्छ, आईसीयूमा अचेत बिरामीलाई दुई–दुई घण्टामा पल्टाउनुपर्छ,’ उनले भने ।

सशस्त्र प्रहरी बल अस्पताल बलम्बुका डा. प्रवीन नेपालले हाल अस्पतालमा क्षमताभन्दा बढी कोभिड बिरामी रहेको बताए । गत सोमबारदेखि सशस्त्र अस्पतालमा कोभिड बिरामीका लागि छुट्याइएका बेड सबै भरिएको जनाउँदै डा। नेपालले भने, ‘हाम्रो बेड पूरै भरिएको छ, भर्ना हुन चाहने आजको लिस्टमै बसेका व्यक्तिको संख्या ३१ छ ।’ सशस्त्र प्रहरी बल अस्पतालमा कोभिडका १४० जना बिरामी छन् । त्यहाँ दिनहुँजसो आईसीयूमा राख्नुपर्ने १९–२० जना र भेन्टिलेटरमा राख्नुपर्ने ८–९ जना बिरामी थपिइरहेका छन् ।

सरकारी तथ्यांकअनुसार मंगलबार देशभरिमा कोभिडका ३१५ जना बिरामी आईसीयूमा र ८४ जना भेन्टिलेटरमा गरी ३९९ जना सघन उपचारमा छन् । काठमाडौं उपत्यकामै १११ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा गरी १५७ जना सघन उपचारमा छन् । यो मुलुकभरिमा सघन उपचारमा रहेका कोभिड बिरामीको ३९.३४ प्रतिशत हो । कान्तिपुर दैनिकमा छ ।