काठमाडौं । आज काठमाडौँ, काठमाडौँ नभएर भिडमाडौँको रुपमा परिणत भएको छ ।
यो भीड नयाँ बसपार्क गंगबुको हो । भोलि १६ गतेदेखि काठमाडौँ उपत्यकामा १ हप्ता लामो निषेधाज्ञा लाग्ने भएपछि काठमाडौँ बाहिर जानेको भीड हो यो । निषेधाज्ञा थप हुने आशङ्काले काठमाडौँ छोड्नेको संख्या बढेको छ ।
यो लाइन विभिन्न अस्पताल अगाडी खोप लगाउन बसेकाहरुको हो । सरकारले आइतबारबाट १८ वर्षदेखि ५९ वर्षसम्मका व्यक्तिहरुलाई खोप लगाउन थालेको छ । खोप केन्द्र थोरै हुनु र बिहीबार बिहानदेखि निषेधाज्ञा सुरु हुने भएपछि भीड बढेको छ ।
यो लाइन पेट्रोल पम्प अगाडिको हो । निषेधाज्ञाको समयमा अत्यावश्यक कामका लागि निस्कनु परेमा पेट्रोल नपाइने डरले थप सञ्चय गर्न उपभोक्ता लाइनमा बसेका छन् ।
यो दृश्य एक सपिङ सेन्टर भित्रको हो । भोलिबाट निषेधाज्ञासँगै बजार, पसल बन्द हुने डरले उपभोक्ता सपिङ सेन्टरमा पुगेका छन् । आवश्यक सामान एकै ठाउँमा पाइने भएकोले पनि उपभोक्ता एकै पटक सपिङ सेन्टरमा पुगेका छन् ।
यी भीडहरु सरकारको अव्यवस्था र फितलो योजनाको परिणाम हो । करिब ८ लाख मानिस काठमाडौँ बाहिरिनसक्ने अनुमानकाबीच २ दिनको समय मात्र राखेर निषेधाज्ञाको मिति तोक्नु गलत भएर होला अहिले काठमाडौँ भिडमाडौँ बनेको छ । भीडले सबैको घरमा कोरोना लैजान सहयोग गरिरहेको बारे कसले प्रश्न गर्ने ?











