५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी

येंयापुन्हीमा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको परिक्रमा गर्ने

येंयापुन्हीमा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको परिक्रमा गर्ने
फाईल फोटो
अ+ अ-

भक्तपुर । मध्यपुर थिमिका बालकराम नानिचा श्रेष्ठले यस वर्षको ‘येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा’मा जिब्रो छेडेर पशुपतिनाथको दर्शन र परिक्रमा गरी फर्कने भएका छन् । येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा व्यवस्थापन सम्बन्धमा आयोजित भेलामा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको दर्शन गरी मध्यपुर थिमि फर्कने जानकारी दिनुभएको हो । बालकरामले दोस्रो पटक जिब्रो छेड्न लाग्नुभएको हो । उहाँले यसअघि विसं २०७५ मा जिब्रो छेडाउनु भएको थियो ।

मध्यपुर थिमिमा वर्षको दुई पटक जिब्रो छेड्ने जात्रा सञ्चालन गरिन्छ । बिस्का: (बिस्केट) जात्राका अवसरमा वैशाख २ गते बिहान मध्यपुर थिमि–८ बोडेमा र येंयापुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि–५ दिगुलीमा जिब्रो छेड्ने जात्रा सञ्चालन हुने परम्परा छ । सो अनुसार यस वर्ष यही असोज १२ गते थिमिमा येंयापुन्ही या म्ये प्वा खनेगु (जिब्रो छ्ड्ने)जात्रा हुँदैछ ।

बोडेको जात्राले सदियौँदेखि निरन्तरता पाइरहेको छ भने दिगुलीको जात्रा नियमित सञ्चालन हुन नसकेको स्थानीय संस्कृतिविद् प्रदीपजामन श्रेष्ठले बताउनुभयो । करिब दुई दशक रोकिएको यो जात्रालाई विसं २०७४ मा वीरेन्द्रभक्त श्रेष्ठले जिब्रो छेडाएर पुनर्जीवन दिनुभएको थियो । विसं २०७५ मा बालकरामले जिब्रो छेडाउनु भएको थियो भने विसं २०७६ देखि कोरोना महामारीका कारण रोकिएको जात्रा गत वर्ष पुन: वीरेन्द्रभक्तले जिब्रो छेडाएर निरन्तरता दिनुभएको थियो ।

बोडेको जिब्रो छेड्ने जात्रामा निश्चित मार्ग भए पनि थिमि दिगुलीमा हुने जात्राको निश्चित मार्ग नभएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यो जात्रामा जिब्रो छेडाउने व्यक्तिले इच्छाएको मार्गमा परिक्रमा गर्ने प्रचलन रहेको छ ।

“येंयापुन्ही या म्ये प्वा खनेगु जात्रामा जिब्रो छेडाएर नगर परिक्रमा गर्दा यही नै निश्चित मार्ग भन्ने छैन । विशेषगरी जिब्रो छेडाउने व्यक्तिले इच्छाए अनुसारको मार्ग तय हुन्छ,” संस्कृतिविद् श्रेष्ठले भन्नुभयो, “योभन्दा पहिले पनि जिब्रो छेडाएर पशुपतिनाथ र चाँगुनारायणको दर्शन र परिक्रमा गरेको इतिहास छ ।”

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बालकरामको साहसले भावी पुस्तालाई जात्राप्रति आकर्षित गर्ने र नयाँ पुस्तामा जिब्रो छेडाउन अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । “जिब्रो छेडाएर बाँसले निर्माण गरिएको महादीप काँधमा बोकेर थिमिदेखि पशुपतिनाथको दर्शन गरी पुन: थिमिसम्म पैदल यात्रा गर्नु निकै कठिन कार्य हो”, उहाँले भन्नुभयो, “बालकरामले जुन सहास देखाउनुभएको छ, उहाँको संस्कृति प्रतिको लगाव छ, त्यसलाई उच्च सम्मान दिनुपर्छ ।” प्रमुख श्रेष्ठले नगरको मूर्त–अमूर्त कला संस्कृतिको संरक्षणमा लगानी गर्दै आइरहेको नगरपालिकाले जिब्रो छेड्ने जात्रालाई पनि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको बताउनुभयो ।

उक्त जात्राका लागि जात्राको आठ दिन अगाडि द्य: दुसालेगु अर्थात् देवता भित्र्याउने चलन रहेको छ । त्यसका लागि बालकुमारी मन्दिरमा ११ किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउनु पर्ने रातोभालेको बलि दिएर बालकुमारीको साधना गर्नुपर्ने संस्कृतिविद् प्रदीपजामन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जात्राको चार दिनअघि थिमिको लाय्कूका प:माहरुले हनुमानढोका दरबारमा गएर राज खड्ग लिएर आउने र सो खड्गलाई जात्रामा डबलीमा राख्ने प्रचलन रहेको छ ।

इन्द्रजात्राको दिन बालकुमारीमा रातो भालेको बलि सहितको पूजा गरी छ्वयला ब्व: भोज खुवाउने चलन रहेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भोलिपल्ट येंयापुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको दिनमा दुता नं ९जामा० लगाएर बालकुमारीमा पूजा गर्ने परम्परा छ ।

“यस दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ । जिब्रो छेड्ने दिनमै बेलुकापख ९साँझ० बालकुमारीदेखि दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ती दिन जानु पर्दछ । त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु ९जामन: थरका व्यक्ति० को उपस्थितिमा भैरवको पूजा गरिन्छ”, श्रेष्ठले भन्नुभयो, “पूजापश्चात् जिब्रो छेड्ने व्यक्तिमा दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरव सामुन्ने मुख फर्काइ उल्टो हिँडाइ डबलीमा पुर्‍याइन्छ ।”

डबलीमा सयौँ जनमानसलाई देखाएर नकर्मीले बनाएको १० इन्च लामो सुइरोबाट कमी नायोले जिब्रो छेडाउने काम हुन्छ । त्यसपछि भ्यं (महादीप) बोक्न लगाई उसको इच्छाअनुसार नगर परिक्रमा गराउने गर्दछ । यसरी जिब्रो छेड्ने व्यक्तिले नगर परिक्रमा गर्दा स्थानीय व्यक्तिहरु पनि ‘ताकुँ म्ये: ख्वामसिसें भ्वय् नय्’ भन्दै सँगसँगै नगरपरिक्रमा गर्दछ । जिब्रो छेड्ने व्यक्तिले इच्छाएको ठाउँमा परिक्रमा गरेपछि बालकुमारी मन्दिरमा पुगी कमी नायोले सुइरो निकालिन्छ ।

सुइरो निकालिसकेपछि जिब्रोमा भएको खालमा नास:द्य: (नित्यनाथ) देवता परिसरको माटो राखेपछि उक्त सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ । बालकुमारी मन्दिर परिसरमा सुइरो निकालिसकेपछि जिब्रो छेड्ने व्यक्तिले घर गई मान्यजनबाट सगुन लिने संस्कृतिविद् श्रेष्ठको भनाइ थियो । उहाँका अनुसार जात्राको भोलिपल्टको बिहान नातु पूजा भनी द्य:लित तवनेगु (विसर्जन पूूजा) का लागि बालकुमारीमा पूजा गर्न जानुपर्ने प्रचलन छ ।

संस्कृतिविद् श्रेष्ठका अनुसार जिब्रो छेडेर नगर परिक्रमा गराए देशमा दु:ख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ । “पौराणिक कथनअनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दालाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुले दु:ख दिन थालेपछि थिमिका जनतालाई सो दु:खबाट छुट्कारा दिलाउन थिमिका अराध्यदेवी बालकुमारीको साधना गरेपश्चात् आश्विन शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरु यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरु रहेको भन्दै भागेको जनश्रुति छ”, उहाँले भन्नुभयो । रासस