९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय

श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
अ अ+ अ-

काठमाडौँ । सरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालनीरूपमा समाधान गर्न आवश्यक ठानिएको नीतिगत र कानूनी उल्झन तथा प्रक्रियागत व्यवस्थालाई समयसीमा तोकेरै टुङ्याउने निर्णय गरेको छ ।

गत भदौ २५ र २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको १२ वटा मुख्य श्रम गन्तव्य मुलुकस्थित नेपाली राजदूतसमेतको बैठकले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभिन्न ४७ बुँदे निर्णय गरेको हो ।

बैठकले नयाँ श्रम गन्तव्य मुलुकसँग द्विपक्षीय सम्झौता गर्ने, नयाँ गन्तव्य मुलुकको खोजी गर्ने, श्रमिकको हक अधिकार र सामाजिक सुरक्षाको प्रत्याभूति गराउने, श्रम स्वीकृति प्रक्रियालाई सरलीकरण गर्ने, कूटनीतिक नियोगको भूमिकालाई प्रभावकारी बनाउने, सेवा शुल्क निर्धारण गर्नेलगायत निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले जानकारी दिनुभयो ।

बैठकले श्रम मन्त्रालय सम्बद्ध मुलुकस्थित कूटनीतिक नियोगसँगको समन्वयमा नयाँ श्रम गन्तव्य मुलुकसँग श्रम सम्झौता प्रक्रिया अगाडि बढाउने, श्रमिकको हक, अधिकार, सामाजिक सुरक्षालगायत विषय द्विपक्षीय श्रम सम्झौतामा नै सुनिश्चित गर्ने, श्रमिकको शव फिर्ता र पुन:एकीकरण कार्यक्रमलगायत कल्याणकारी दायित्व समेट्ने विषय सुनिश्चित गर्न पहल गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्रालयमा ‘श्रम आप्रवासन महाशाखा’ स्थापना गर्ने, परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयसँग समेत समन्वय गरी उक्त महाशाखाको कार्यविवरण र दरबन्दी एकीन गरी एक महिनाभित्र निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने, सोका लागि कानूनी प्रक्रिया पूरा गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयसँग आवश्यक सहजीकरण गर्ने निर्णय गरेको मन्त्री भण्डारीले जानकारी दिनुभयो । “परराष्ट्रले श्रम मन्त्रालयसँग सहजीकरण गरी ‘रोमिङ एम्बेसडर’रश्रम सहचारीसमेतको प्रबन्ध हुने गरी महाशखाको कार्ययोजना तर्जुमा गर्नेछ”, उहाँले भन्नुभयो ।

बैठकले परराष्ट्र मन्त्रालयमा रायरपरामर्शका लागि प्रेषित वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ माथि सात दिनभित्र श्रम मन्त्रालयलाई राय उपलब्ध गराउने, परराष्ट्रको रायपछि श्रम मन्त्रालयले संशोधनका लागि मन्त्रिपरिषद्मा पेश गर्ने, मागपत्र प्रमाणीकरणसम्बन्धी वैदेशिक रोजगार ऐनको प्रावधानमा आवश्यक संशोधनका लागि श्रम मन्त्रालयले प्रस्ताव पेश गर्ने र माग प्रमाणीकरण गर्ने कार्यलाई थप सरल र प्रभावकारी बनाउन श्रम सहचारीलाई मुख्य जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति लिने प्रक्रियासम्बन्धी निर्देशिका, २०६९ मा संशोधन गरी उच्च दक्ष र दक्ष कामदारको भिसा प्रमाणीकरण प्रक्रिया सरलीकृत गर्ने, व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारीमा रहेका श्रमिकको हकमा श्रम मन्त्रालयले निश्चित मापदण्ड तयार गरी कूटनीतिक नियोग प्रमुखलाई विशेषाधिकार दिने व्यवस्था गर्ने बैठकको निर्णय छ ।

बैठकले साउदी अरबस्थित नेपाली कूटनीतिक नियोगले माग प्रमाणीकरण कार्यलाई प्रविधिमैत्री बनाउन अभ्यास गरेको ‘अनलाइन प्रणाली’को अनुकुलता हेरी तत्कालका लागि अन्य नियोगले समेत प्रयोगमा ल्याउने, दीर्घकालमा मागपत्र प्रमाणीकरणलाई पूर्णरूपमा अनलाइन प्रणालीमा आबद्ध गर्न वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा स्तरोन्नति गर्ने र सो प्रणालीलाई कूटनीतिक नियोगसँग आबद्ध गर्ने निर्णयसमेत गरेको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।

विदेशबाटै पुन: श्रमस्वीकृति प्राप्तिका लागि रकम भुक्तानी प्रक्रियामा सरलीकरण गर्न श्रम मन्त्रालयले सम्बन्धित कूटनीतिक नियोग र नेपाल राष्ट्र बैंकको समन्वयमा एक महिनाभित्र देशगतरूपमा प्रक्रियागत व्यवस्थापन मिलाउने उहाँले जानकारी दिनुभयो । सबै गन्तव्य मुलुकस्थित नियोगमा राहत उद्धार कोष स्थापना गर्ने, उक्त कोषमा नियोगबाट प्रदान गरिने जुनसुकै प्रकारका सेवाबापत प्राप्त शुल्कको निश्चित प्रतिशत रकम जम्मा गर्ने, कोषको परिचालन गर्न परराष्ट्र मन्त्रालयले एक महिनाभित्र निर्देशिका तयार गरी मन्त्रिपरिषद्मा पेस गर्ने र त्यसका लागि अर्थ मन्त्रालयले सहजीकरण गर्नेछ ।

वैदेशिक रोजगार बोर्डबाट नियोगलाई उपलब्ध हुने चक्रीय कोष सञ्चालन गर्न पारदर्शी र व्यवस्थित परिचालनका लागि बोर्डले खर्च गर्नेसम्बन्धी कार्यविधि एक महिनाभित्र तयार गरी उपलब्ध गराउने, वैदेशिक रोजगारीका क्रममा अशक्त भई कोमामा रहेका नेपालीलाई फिर्ता ल्याई उपचार गर्न नेपालमा हेरचाह केन्द्र खोल्ने कार्य अघि बढाउने, श्रम स्वीकृतिको अवधि सकिएका, विभिन्न भिसामा गएका नेपालीको हकमा शव व्यवस्थापन तथा ढुवानीको सम्पूर्ण खर्च सम्बन्धित नेपाली नियोगमा रहेको कोषबाट खर्च गर्ने र सो रकमको शोधभर्ना सरकारले गर्ने बैठकको निर्णय छ ।

“हाल कूटनीतिक नियोग स्थापना नभएका तर १० हजारभन्दा बढी नेपाली श्रमिक रहेका मुलुकमा ‘ड्राई पोस्टिङ’ (खटिइएका कर्मचारीले परिवारबाहेकको मात्र सुविधा पाउने) गरी नेपाली कूटनीतिक नियोगको स्थापना गर्ने, सो नियोगमा एक जना परराष्ट्रको उपसचिव, एक श्रम सहचारी र एक स्थानीय कर्मचारी गरी तीन जनाको दरबन्दी रहने गरी परराष्ट्रले दुई महिनाभित्र सङ्गठन तथा व्यवस्थापन सर्भेको प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा पेस गर्ने, त्यसका लागि अर्थ र सङ्घीय मामिला मन्त्रालयले सहजीकरण गर्ने निर्णय भएको छ”, मन्त्री भण्डारीले भन्नुभयो ।

पोर्चुगल, रोमानिया, माल्टा, साइप्रस, क्रोएशिया, माल्दिभ्स, पोल्याण्ड, टर्कीलगायत युरोपका मुलुकमा १० हजार बढी श्रमिक रहेको अनुमान गरिएको छ । यी मुलुकमा श्रम काउन्सिलर र श्रम सहचारीको दरबन्दी सिर्जना तथा थप गर्न श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयको समन्वयमा एक महिनाभित्र प्रस्ताव पेस गर्ने बैठकको निर्णय छ ।

जापान, जर्मनी, अस्ट्रिया, इजरायलमा एकरएक जना श्रम काउन्सिलर र सहचारी तथा दक्षिण कोरियामा एक जना श्रम सहचारी नियुक्तिका लागि दरबन्दी सिर्जना गर्नुपर्ने बैठकले ठहर गरेको छ । अब नियुक्त हुने काउन्सिलर र सहचारीको कार्यअवधि न्यूनतम तीन वर्षको हुनेछ । यसअघि काउन्सिलर र सहचारीको अवधि दुई वर्षको रहेको छ ।

गन्तव्य मुलुकको सामाजिक सुरक्षा नेपालको सामाजिक सुरक्षा कोषमा हस्तान्तरण गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउने वा कामदारको सम्झौताको अवधि समाप्त भएपश्चात जम्मा भएको रकम फिर्ता पाउने गरी द्विपक्षीय समझदारीमा समावेश गर्ने, कोषमा आबद्धताको निरन्तरताका लाागि भुक्तानी विधि सरलीकृत गर्न श्रम मन्त्रालयले सम्बन्धित नियोग र राष्ट्र बैंकसँग समन्वय गरी विधि तयार गर्ने बैठकले निर्णय गरेको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।

बैठकले रोजगारदाता कम्पनीले सेवा शुल्क प्रदान गरेकामा इजाजतपत्रवालाले कुनै पनि भर्ना शुल्क लिन नपाउने गरी ‘इम्प्लोयर्स पे प्रिन्सिपल’ लागू गर्ने, रोजगारदाताले सेवा शुल्क नदिएको अवस्थामा इजाजतपत्रवालाले बढीमा एक महिनाको तलब सेवा शुल्कबापत लिन पाउने, यस्तो शुल्क देशगतरूपमा विशिष्टीकरण गरी रु एक लाखभन्दा बढी लिन नपाउने गरी श्रम मन्त्रालयले सेवा शुल्क निर्धारण गर्ने निर्णय गरेको छ । संसदीय समितिको निर्देशन, सम्बन्धित मुलुकको वस्तुतग अवस्था र सुरक्षाका उपाय अपनाएर मात्र घरेलु कामदार पठाउने कार्य नमूना ‘पाइलटिङ’को सुरुआत गर्ने बैठकको निर्णय छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको उक्त बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रममन्त्री भण्डारी, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, मुख्यसचिव डा वैकुण्ठ अर्याल, श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, परराष्ट्र सचिव भरतराज पौडेल, विभिन्न १२ वटा मुख्य श्रम गन्तव्य मुलुकस्थित नेपाली कूटनीतिक नियोगका राजदूत, महावाणिज्यदूतलगायतको सहभागिता थियो । रासस