५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

संविधान दिवस: मौलिक हकको उपभोग कहिले ?

संविधान दिवस: मौलिक हकको उपभोग कहिले ?
अ+ अ-

गण्डकी । “संविधानको सुन्दरता लेखोटमा होइन, उपभोगमा हुन्छ, संविधानका हरेक अन्तरवस्तुले मानिसको जीवनमा गुणात्मक प्रभाव राख्न सक्नुपर्छ”, संविधान दिवसका अवसरमा पूर्वप्रधानन्यायाशीध कल्याणकुमार श्रेष्ठले व्यक्त गर्नुभएको विचार हो यो । उहाँको झैँ सामान धारणा छ, वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठको पनि । उहाँ भन्नुहुन्छ, “निरङ्कुश शासन व्यवस्था रहेका मुलुकले पनि मौलिक हकको घोषणा गर्छन्, संविधानमा लेख्नुमात्र ठूलो कुरा होइन, व्यवहारिक कार्यान्वनको पक्ष महत्वपूर्ण हो ।”

संविधानप्रदत्त नागरिक अधिकारको प्रचलन हुनु/नहुनुले राज्य सञ्चालनमा ठूलो अर्थ राख्ने तत्कालीन संविधानसभा सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य चम्पादेवी खड्का बताउनहुन्छ । उहाँ भन्नुहुन्छ, “संविधानको सही कार्यान्वयन गरिएमात्र लोकतन्त्र सुदृढ हुन्छ, नागरिक बलिया हुन्छन्, व्यवस्था टिक्छ ।”

कानुन निर्माणदेखि प्रचलन गराउने संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका व्यक्तिका यी विचारमा संविधानमा उल्लेखित मौलिक हकको कार्यान्वयनको अवस्थाप्रति चासो र चिन्ता अभिव्यक्त भएको छ । सिद्धान्तत: मौलिक हक तत्काल प्रचलन हुने अधिकार भए पनि नेपालमा भने यसको कार्यान्वयन निराशाजनक छ ।

विसं २०७२ मा जारी भएको संविधानको धारा ४७ मा मौलिक हकको कार्यान्वयन गर्न तीन वर्षभित्र कानुनी व्यवस्था गर्ने उल्लेख छ । तर, संविधान बनेको आठ वर्ष वितिसक्दा पनि मौलिक हकसँग सम्बन्धित कानुन बनेका छैनन् । संविधानमा राखिएका प्रावधानको व्यावहारिक उपादेयतामाथि बेला–बेला जनस्तरबाटसमेत प्रश्न उठ्ने गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले संविधानमा लिपिबद्ध भएर पनि कानुन नबनेका कारण कतिपय नागरिक अधिकार प्रचलनमा आउन नसकेको बताउनुभयो ।

“संविधानको भाग ३ को धारा १६ देखि ४८ सम्म मौलिक हकको व्यवस्था छ, तर संविधान बनेको आठ वर्ष वितिसक्दा पनि तिनको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन”, उहाँले भन्नुभयो, “विडम्बना भन्नुपर्छ, हाम्रा राजनीतिक दलहरु सत्तामुखी मात्र भए, कानुन निर्माणको थलो संसद् पनि सरकार बनाउने र गिराउनेमा बढी केन्द्रित भयो ।”

उहाँले आमाको नामबाट नागरिकता दिन सकिने प्रावधान संविधानमा राखिएको भए पनि कानुन नबनेका कारण बुबाको पहिचान नभएका कैयन व्यक्ति नागरिकताबाट वञ्चित हुनुपरेको बताउनुभयो । “बनेका कानुनको कार्यान्वयनमा पनि राज्य गम्भीर छैन, प्रत्यक्ष मानवअधिकारसँग जोडिएका विषय छन् जसप्रति राज्य संयन्त्र उदासिन छ”, उहाँले भन्नुभयो, “संविधानले दिएका हक–अधिकारको उपभोग गर्न नपाउँदा नागरिकका निराशा बढेको छ, राज्यका निकायप्रति अविश्वास सिर्जना भएको छ ।” सामान्य प्रशासनिक खर्चको व्यवस्थापनमासमेत समस्या झेलिरहेको राज्यले एकैसाथ सबै मौलिक हकको प्रत्याभूति दिलाउनु चुनौतीपूर्ण हुने कतिपयको बुझाइ छ । मौलिक हक प्रचलनमा ल्याउन देशको आर्थिक विकाससँगै राजस्व र खर्च गर्ने क्षमतामा वृद्धि हुनुपर्ने संविधानका जानकार बताउँछन् ।

नागरिकलाई मौलिक हकको प्रत्याभूति दिलाउन राज्यसँग स्रोतसाधान, संस्थागत संरचना, जिम्मेवारिबोध र अठोट चाहिने उनीहरुको भनाइ छ । वरिष्ठ अधिवक्ता श्रेष्ठले मौलिक हक–अधिकार प्रचलनमा नआउने हो भने लोकप्रियताका लागि मात्र संविधानमा लिपिबद्ध गरिएको ठहर्ने धारणा राख्नुभयो ।

“संविधानले दिएको अधिकारबाट नागरिकलाई वञ्चित गर्न मिल्दैन, यसमा राज्य जिम्मेवार र उत्तरदायी बन्नुपर्छ,”, उहाँले भन्नुभयो, “राज्यले पद्दतिमा सुधार ल्याउन आवश्यक छ, स्रोतसाधनको प्रबन्ध गर्नुपर्छ ।” मौलिक हकको कार्यान्वयन फितलो हुनुमा अनुत्तरदायी राज्य प्रणालीकै दोष रहेको वरिष्ठ अधिवक्ता श्रेष्ठले बताउनुभयो ।

राज्य आराम गरेर बस्ने प्रवृत्तिको हुने जनाउँदै उहाँले नागरिक अधिकार प्राप्तिका लागि दबाब सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो । संविधानको व्यावहारिक र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ऐन/कानून निर्माणलाई तीव्रता दिइनुपर्ने वरिष्ठ अधिवक्ता श्रेष्ठले उल्लेख गर्नुभयो ।

संविधानसभा सदस्य खड्काले संविधानको रक्षा र कार्यान्वयनमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । “ठूलो सङ्घर्ष र बलिदानपछि संविधानसभाबाट नयाँ संविधान बनेको हो, मौलिक हक र नागरिक अधिकारका दृष्टिले यो संविधान उत्कृष्ट छ”, उहाँले भन्नुभयो, “संविधानको सही कार्यान्वयन हुन नसके नागरिकले परिवर्तनको अनुभूति गर्न पाउँदैनन्, व्यवस्थाप्रति नै प्रश्न उठ्छ, यसमा हामी सबै सचेत रहनुपर्छ ।”

संविधानमा रहेका कतिपय मौलिक हकका प्रावधान महत्वकांक्षी जस्ता देखिए पनि लोककल्याणकारी राज्यले ढिलाचाँडो तिनको प्रत्याभूति दिनैपर्ने अधिकारीकर्मी बताउँछन् । मौलिक हकमा धारामा राजनीतिक, नागरिक, सामाजिक, आर्थिक, सांस्कृतिकलगायतका हकलाई लिपिबद्ध गरिएको छ । कानुन व्यवसायी एवं अधिकारकर्मी राम शर्माले संविधानको आँखाबाट हेर्दा मौलिक हकको प्रावधान विश्वका समृद्धशाली देशकै हाराहारीमा रहेको बताउनुभयो । “स्वास्थ्य, शिक्षा, रोजगार, आवासलगायत ३१ वटा मौलिक हकलाई संविधानले समेटेको छ”, उहाँले भन्नुभयो, “मौलिक हक भनेको कसैले हरण गर्न नसक्ने अधिकार हो, मानवअधिकारसँग जोडिएको विषय हो, राज्य यसको दायित्वबाट पन्छिन मिल्दैन ।”

प्रत्येक नागरिकलाई राज्यबाट नि:शुल्क स्वास्थ्य सेवा पाउने हक संविधानमा लेखिएतापनि सहज उपचार पाउन समस्या विद्यमान छ । संविधानको धारा ३५ को उपधारा १ मा रहेको स्वास्थ्यसम्बन्धी हकमा कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगरिने उल्लेख छ । अधिवक्ता शर्माले नागरिकलाई रोजगार दिन नसके राज्यले बेरोजगार भत्ता दिनुपर्ने तर्क अघि सार्नुभयो । “रोजगारको हकलाई संवैधानिक रुपमा किटान गरिएको छ, राज्यले रोजगार दिन सक्दिन भन्न पाउँदैन, बेरोजगार व्यक्ति कसैले चाह्यो भने राज्यविरुद्ध मुद्दा हाल्न सक्छ”, उहाँले भन्नभयो ।

संविधानमा रोजगारीको हक सुनिश्चित गरिए पनि कामकै खोजीमा नेपाली विदेश भौंतारिनु पर्ने अवस्था छ । संविधानको धारा ३० को उपधारा १ मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको प्रबन्ध गरिएको छ । वायु प्रदूषणका साथै फोहर र त्यसको उचित व्यवस्थापन नहुँदा नेपालका सहरी क्षेत्रमा प्रदूषण बढ्दो छ । यस्तो स्थितिमा नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हक कसरी सुरक्षित होला र १

संविधानको धारा ३६ मा रहेको खाद्यसम्बन्धी हकमा कोही पनि नागरिक खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुनेछ भनी लेखिएको छ । तर स्थिति त्यस्तो छैन । खाद्यवस्तुको अभावमा कैयन नेपालीको जीवन जोखिममा छ । मानिस भोकमरी झेल्न बाध्य छन् । सरकारकै प्रतिवेदनअनुसार झण्डै २० लाख जनसङ्ख्यामा खाद्य असुरक्षाको स्थिति छ । भोकमरी सूचकाङ्क सन् २०१९ ले नेपाल विश्वका एक सय १७ देशमध्ये भोकमरीको ७३औँ स्थानमा रहेको देखाएको थियो । यसरी संविधानले व्यवस्था गरेका कैयन मौलिक हकका प्रावधान नेपालको वस्तुस्थिति विपरित छन् । शिक्षासम्बन्धी हकले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क तथा माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क पाउने हकको प्रबन्ध गरेको छ । हाम्रा शिक्षाका तथ्याङ्क भने चिन्ताजनक छन् । युनिसेफका अनुसार पाँचदेखि १२ वर्ष उमेर समूहका सात लाख ७० हजार बालबालिका अझै विद्यालय बाहिर छन् । प्रत्यक नेपालीले आफ्नो मातृभाषामा शिक्षा पाउने हकलाईसमेत संविधानमा किटान गरिएको छ । तर, त्यसको कार्यान्वयन कम चुनौतीपूर्ण छैन ।

उपभोक्ताको हक, भाषा संस्कृतिको हक, श्रमको हक, सामाजिक न्यायसहितका मौलिक हक अझै उपभोग्य हुन सकेका छैनन् । अधिवक्ता शर्माका अनुभवमा मौलिक हकबाट वञ्चित हुनुपरेको भन्दै अदालतमा मुद्दा परेका घटना भने बिरलै पाइन्छन् । नागरिकले पनि मौलिक हकका अन्तवस्तुबारे यथोचित रुपमा बुझ्न नसकेको उहाँको ठम्याइँ छ । “मौलिक हकको कार्यान्वयन नहुने हो भने संविधानको परिपालना गरेको ठर्हदैन, संविधानका प्रावधान हात्तीको देखाउने दाँत जस्तो हुनुभएन”, उहाँले भन्नुभयो । रासस