काठमाडौं । बाग्लुंग स्थित धवलागिरी अस्पतालको नर्सिंग अधिकृत अन्जना पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी छन् । उनले कोरोना कहरमा स्वास्थ्यकर्मीहरुले भोगेको समस्याको बारे व्याख्या गर्दै प्रधानमन्त्री ओलीलाई चिठी लेखेको हो । यस्तो लेखिन् चिठीमा:
प्रधानमन्त्री ज्यू,
१ बर्ष बढी भयो देशले कोरोना कहर खेपेको अनि हामी स्वास्थ्यकर्मीले सधैको डर त्रासमा काम गरेको। डर आफु मरिन्छ की भन्ने भन्दा पनि आईसीयू र अस्पतालममा भर्ना भएका बिरामीलाई जिवित घर फर्काउन सकिएला की नसकिएला भन्ने कुराले सताउँछ।
बिरामी छट्पट्टीदै गर्दा एकछिन नजिक बसेर सान्त्वना दिन समय हुँदैन, अर्को बिरामीलाई अक्सिजन मिलाउन र औषधी दिन हतार भैराखेको हुन्छ । बिरामीका आफन्तको न्याउरो अनुहारमा देखिएका आशा र हामी प्रतिको बिश्वास देख्दा आखाँ जुधाएर भन्न सकिदैन पिर नगर्नुस् तपाइको बिरामी ठिक हुनुहुन्छ भनेर।
प्रधानमन्त्रीज्यु , पोहोर १०० प्रतिशत जोखिम भत्ताको आश देखाउनु भयो, हामी स्वास्थ्यकर्मीले १० प्रतिशत पनि पाएनौँ। अहिलेको सम्बोधनमा फेरी ५० प्रतिशत को कुरा गर्नुभएछ। भयो हामीलार्इ भत्ताको ललीपप नदेखाउनुस, वर्षौ दिन सम्मदिन नसक्ने भत्ताको आश देखाएर हाम्रो मनोबल कमजोर नपारिदिनुस्। साच्चै हाम्रो मनोबल बढाउन चाहनुहुन्छ भने स्वास्थ्य सुरक्षाका सामानहरु प्रर्याप्त उपलब्ध गराउने व्यबस्था मिलाइदिनु।
नेपालमा हामीलार्इ पुग्ने जनशक्ती (नर्स, डाक्टर, पारामेडिक्स) छन्, जो अधिकतम बेरोजगार छन्। यी जनशक्तिलाई दैनिक ज्यालादारीमा होइन आकर्षक सेवा सुबिधा दिएर कम्तीमा एक वर्षको करारमा नियुक्त गर्ने व्यबस्था मिलाउनुस् र अस्पतालहरुमा भइराखेको जनशक्ति अभावको समस्या समाधान गर्नुस् ।औषधि, अक्सिजन, मास्क, पन्जा जस्ता अतिआवश्यक वस्तुको बजारमा कृतिम अभाव हुन थालिसकेको छ।
यस्तो महामारीमा पनि लुट्न नछाड्ने लुटेरा व्यापारीलाई कारवाहीको दायरामा ल्याउनुहोस्, जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने अत्यावस्यक सामग्रीहरु सहजरुपमा उपलब्ध हुने वातावरण मिलाउनुस्।
कोरोनाले दिनदिन आक्रान्त पारिरहेको छ, आज मेरो देश रोइरहेको छ। हामी स्वास्थ्यकर्मी शारीरिक र मानसिकरुपमा थकित भैसकेका छौँ । तैपनि दिनरात नभनी आफुलार्इ सेवामा समर्पित गरिरहेका छौँ, र अन्तिम समयसम्म लडीरहन्छौँ ।
अन्जना पौडेल
नर्सिंग अधिकृत
धवलागिरी अस्पताल, बाग्लुंग ।











