काठमाडौं । नयाँवानेश्वरस्थित संघीय संसदभवनमा आज बिहिबार पनि कोभिड १९ परीक्षणका लागि स्वाब लिने कार्य जारी छ । संघीय संसद सचिवालयले आगामी २७ गतेको प्रतिनिधिसभा बैठकको तयारीका बैठकमा आवश्यक सम्पुर्ण जनशक्तिहरुको कोभिड १९ संक्रमणको परिक्षणका लागि हिजो र आज दुईदिन गरि स्वाब संकलन गरेको हो ।
बुधबार (हिजो) स्वाब दिन छुटेका सांसदहरुले आज लोत्से हल पुगी स्वाब दिएका छन् । त्यसैगरी अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु, संसदीय मामिला पत्रकारहरु, स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, ट्राफिक, बम डिस्पोजल टोली, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीहरु तथा बैठक सञ्चालनका लागि विभिन्न भूमिकामा रहेका सबैको स्वाब परीक्षण गरिने सचिवालयले जनाएको छ ।
सरकारले विश्वासको मत लिने प्रयोजनका लागि मात्रै बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएको छ । यसैबीच हिजो बुधबार स्वाब दिएका ४ जना सांसद र २ जना सचिवालयका कर्मचारीमा कोरोना पोजेटिभ देखिएको संघीय संसद सचिवालयले जनाएको छ ।











