२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

निषेधाज्ञामा वृद्धाश्रमको खर्च धान्ने चिन्ता

निषेधाज्ञामा वृद्धाश्रमको खर्च धान्ने चिन्ता
अ अ+ अ-

गण्डकी ।  विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण समाजका हरेक क्षेत्र प्रभावित छन् । यसले ज्येष्ठ नागरिकलाई आश्रय दिँदै आएका वृद्धाश्रममा पनि उत्तिकै प्रभाव पारेको छ । महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेको अवस्थामा त अघिपछि आउने दाता पनि नआउने भएपछि दैनिक खर्च धान्न पनि मुस्किल हुने गरेको छ ।

दान तथा सहयोग नै आश्रम सञ्चालनको मुख्य आधार रहेको अवस्थामा कोरोनाका कारण गत वर्ष गरिएको लामो समयको बन्दाबन्दीले वृद्धाश्रमहरूलाई प्रभाव पारेको थियो नै यस वर्ष पुनः कोरोना सङ्क्रमणको दोस्रो लहरले सञ्चालकलाई चिन्तित बनाएको छ । आध्यात्मिक जागरणका साथै सामाजिक सेवामा समेत अग्रणी बन्दै आएको पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर तथा यहाँ सञ्चालित वृद्धाश्रम तथा गुरुकूलको नियमित सञ्चालनमा कोरोना कहरले प्रभावित बनाइहेको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सचिव घनश्याम खनालले बताउनुभयो ।

आध्यात्मिक जागरणसहित निम्बार्क सम्प्रदायको विस्तार गर्ने लक्ष्यका साथ विसं २०२२ मा स्थापित उक्त मन्दिरमा वृद्धाश्रम तथा गुरुकूल सञ्चालन हुँदै आएको जानकारी दिँदै उहाँले समय–समयमा आउने दाताको सहयोगले नै वृद्धाश्रम तथा गुरुकूल सञ्चालन भइरहेको बताउनुभयो । मन्दिर स्थापनाको पाँच दशकभन्दा बढी भइसकेको अवस्थामा यहाँको राधाकृष्ण मन्दिरसँगै यसको सक्रियतामा विसं २०६८ देखि वृद्धाश्रम र २०७० देखि गुरुकूल संस्कृत सञ्चालन हुँदै आएका छन् । विसं २०७० मा स्वीकृति प्राप्त गरी २०७१ बाट सञ्चालनमा आएको गुरुकूलमा कक्षा ६ देखि १० सम्मको अध्ययन/अध्यापन हुँदै आएको छ ।

संस्कृत माध्यमिक विद्यालयको पाठ्यक्रममा आधारित रही पठनपाठन भइरहेको गुरुकूलमा विभिन्न जिल्लाबाट आएका २३ जना विद्यार्थी अध्ययनरत छन् । वृद्धाश्रमसँगै गुरुकूलमा अध्ययनरत विद्यार्थीका लागि नियमित भोजन व्यवस्थापनका लागि दाताहरूको नै भर पर्नुपर्ने अवस्था रहेको भन्दै खनालले कोरोना महामारीको रोकथामका लागि हुने गरेका बन्दाबन्दी तथा निषेधाज्ञाले दैनिकी सञ्चालनमा नै धौधौ हुने गरेको बताउनुभयो ।

राधाकृष्ण मन्दिरको आफ्नै इतिहास छ । मन्दिरको पोखरा–३२ लामेआहालमा लगभग ५२ रोपनी जग्गा छ । विसं २०२२ मा तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसीकी भक्तिनी आमाका रूपमा परिचित हरिप्रिया दासीको सङ्कल्प एवं उहाँका गुरु भगवत्शरण देवाचार्यको सक्रियतामा मन्दिर स्थापना गरिएको हो । इतिहासअनुसार तत्कालीन समयमा मन्दिर स्थापनाका लागि राजा महेन्द्रसँग भेटेर जग्गा उपलब्ध गराउन आग्रह गरिएको र तत्कालीन रुपाकोट गाउँ पञ्चायतबाट जग्गा प्राप्त भएको थियो ।

मन्दिर स्थापना भएपछि नेपालका निम्बार्क सम्प्रदायका संस्थापक भगवत्शरण देवाचार्य नै यहाँको पीठाधीश बन्नुभएको थियो । भगवत्शरण देवाचार्य वृन्दावनबाट फर्केपछि विसं २००८ मा स्याङ्जा, पाल्पा र तनहुँको सङ्गम केलादीघाटमा निम्बार्क पीठ स्थापना गरी यस सम्प्रदायको प्रचारप्रसारमा लाग्नुभएको थियो । राधाकृष्ण मन्दिर विसं २०२२ मा स्थापना भए पनि यहाँ वृद्धाश्रमको आवश्यकता महसुस गरी विसं २०६८ देखि सञ्चालनमा ल्याइएको राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले जानकारी दिनुभयो । उहाँका अनुसार स्थापनाकालमा १०÷१२ ज्येष्ठ नागरिकबाट शुरु गरिएको वृद्धाश्रममा अहिले ५५ जना बस्दै आउनुभएको छ । ज्येष्ठ नागरिकको सुविधालाई दृष्टिगत गरी शौचालय, स्नानगृहसहितका छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

“धेरै ज्येष्ठ नागरिक यहाँ आएर बस्नका लागि इच्छुक हुनुहुन्छ तर कोठालगायत अन्य व्यवस्थापन गर्न नसकिने भएकाले सबैलाई राख्न सकेका छैनौँ”, उहाँले भन्नुभयो । वृद्धाश्रमका साथै गुरुकूलका विद्यार्थीको आवास तथा भोजन व्यवस्थापनमा मासिक रु डेढ लाखसम्म खर्च हुने गरेको उल्लेख गर्दै उहाँले सम्पूर्ण खर्च दान तथा सहयोगबाटै जुटाइने गरेको बताउनुभयो । कोरोना कहरका कारण हुने गरेका निषेधाज्ञाले दाता आउने क्रम बन्द हुँदा दैनिक कसरी खर्च जुटाउने भन्ने चिन्ता हुने गरेको उहाँको भनाइ छ । रासस