३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

फल नपाक्दै किबी किसानलाई बजारको चिन्ता

फल नपाक्दै किबी किसानलाई बजारको चिन्ता
अ+ अ-

झापा । पश्चिम इलामको देउमाई–३ का तेजबहादुर कटुवालले १५ रोपनीमा लगाएको किबीका बोटमा यतिबेला फल लटरम्म फलेका छन् । गाउँमा उन्नत किसानका रुपमा परिचित कटुवाल लहरामा लटरमम्म किबी हेरेर मुस्कुराउनुहुन्छ । तर, उहाँको मनमा भने आउँदो पाक्ने सिजनमा बजारमा भाउ नपाइने हो कि भन्ने चिन्ता लहरिएको छ ।

“विसं २०६७ मै एक सय ५० झ्याङ रापेर किबीखेती सुरु गरेको हुँ”, उहाँ मनको बह पोख्दै भन्नुहुन्छ, “यसपाली साह्रै राम्रो फलेको छ । कात्तिकदेखि पाक्न सुरु हुन्छ । तर बजारमा भाउ पाइएन भने त बर्बादै हुन्छ नि ।”

पूर्वी पहाडको इलाम र पाँचथरमा किबीखेती विस्तार भइरहेको छ । भूवनोट र हावापानीका कारण विज्ञले इलामलाई किबीको खानी नै मानेका छन् । राम्रो फलेर मात्र हुँदोरहेनछ । बिक्री गर्ने बेलामा कौडीको मोलमा विचौलियालाई दिनुपर्दा किसान निराश हुने गरेका छन् ।

इलामको देउमाई, साखेजुङ, सन्दकपुर र माइपोखरीमा किबीखेती प्रवद्र्धनका लागि ‘किबी जोन’ नै सरकारले घोषणा गरेको छ । पाँच सय हेक्टर जग्गामा किबीखेती भएपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘किबी जोन’ घोषणा गरेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सहयोग गर्दछ ।

‘किबी जोन’मा सरकारले किसानलाई प्रविधि, उपकरण, अनुदान र तालिमसम्बन्धी सहयोग दिँदै आएको छ । इलामका किसान सरकारले किबीको उत्पादन बढाउन सहयोग गरे तापनि दीगो बजारका लागि पर्याप्त मद्दत नगरेको गुनासो सुनाउँछन् ।

कटुवालले किबीको व्यावसायिक खेतीका लागि पानीटार कृषि फार्म स्थापना गर्नुभयो । कृषि ज्ञानकेन्द्र इलामले किबीको लहरालाई फलामको दीगो थाङ्ग्रा हाल्न सुरुमा रु पाँच लाख अनुदान दिएको थियो । थाङ्ग्रो हाल्न मात्रै रु सात लाख निजी लगानी गरेको उहाँले बताउनुभयो । बर्सेनि किबी खेती विस्तार गर्दै उहाँले अहिले देउमाईकै सबैभन्दा ठूलो किबी फार्म सञ्चालन गरिरहनुभएको छ ।

किबीलाई स्वादिलो र पौष्टिक फल मानिन्छ । यसको बजार भने झापाको विर्तामोड, मोरङको विराटनगर, सुनसरीको धरान र काठमाडौँ नै हो । किसानले उत्पादन गरेको किबी फल कतिपय व्यवसायीले फार्ममै आएर खरिद गर्छन् भने व्यापारी नआउँदा टिपेर बजार पुर्‍याउने गरेको उहाँले बताउनुभयो ।

किसानका अनुसार कात्तिक महिनादेखि माघसम्मको चार महिना किबी पाक्ने बेला हो । चरा, भ्याउसो नामको जङ्गली जनावरले किबीको बोटमै गएर खाएर बाली नष्ट गर्दै आएको हुँदा पाकेका बेला रुँघेर खेतबारीमै बस्नुपर्ने हुन्छ ।

“एक सिजनमा ४० देखि ५० क्विन्टल किबी फल्छ”, पानीटार कृषि फार्मका सञ्चालक तेजबहादुर कटुवालले भन्नुभयो, “सुरुका वर्षमा बोटमै टिपेर क्विन्टलको रु ५० हजारका दरले भाउ हालेर खरिदेले लैजान्थे । गत वर्ष मुस्किलले १५ हजारका दरले दिए । यसपाली पनि भाउ बढेन भने डुबिने भइयो ।”

भारतबाट सस्तो किबीको निर्वाध आयात भइरहेका कारण स्थानीय उत्पादनले बजारमा उचित भाउ नपाएको किबी उत्पादक कटुवालको भनाइ छ । उहाँका अनुसार इलाममा प्रशस्त किबी उत्पादन भए तापनि सरकारले जुस, जाम र वाइन कारखाना खोल्न प्रोत्साहित गरेन ।

धनकुटाको राजारानीमा माउन्ट एभरेस्ट वाइनरी प्रालिले किबीबाट वाइन उत्पादन गरिरहेको छ । कटुवालले किबीको सबैभन्दा बढी उत्पादन हुने इलाममै वाइन, जुस र जामको कारखाना खोल्नसके किबी किसान लाभान्वित हुने बताउनुभयो ।

आर्थिक वर्ष २०७९/८० मा काँकडभिट्टा नाकाबाटै रु दुई करोड ८५ लाख २० हजार मूल्य बराबरको ७१ मेट्रिकटन भारतीय किबी भित्रिएको पाइएको छ । भारतबाट भित्रिने किबी सस्तो हुने गरेको छ ।

कोशी प्रदेशका झापा र सुनसरीबाहेक १२ जिल्लामा किबीको व्यावसायिक खेती हुँदै आएको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका कृषि अर्थविज्ञ सार्थक घिमिरेका अनुसार कोशी प्रदेशको किबी रोपिएको कूल क्षेत्रफलमध्ये आधाभन्दा बढी खेती इलाममै छ ।

उहाँका अनुसार कोशी प्रदेशमा एक हजार दुई सय ७८ हेक्टर क्षेत्रफलमा किबी खेती छ भने वार्षिक उत्पादन तीन हजार पाँच सय ४७ मेट्रिकटन रहेको छ । जबकी, इलामको किबीखेती सात सय हेक्टरमा विस्तार भइसकेको छ भने वार्षिक उत्पादन एक हजार पाँच सय मेट्रिकटन रहेको छ ।

नेपालभर दुई हजार पाँच सय ९९ हेक्टर क्षेत्रफलमा किबीखेती गरिएको र त्यसबाट सात हजार छ सय ९८ मेट्रिकटन फल उत्पादन हुँदै आएको छ । कृषि अर्थविज्ञ घिमिरेका अनुसार देशभरको किबी खेतीमध्ये आधा इलाममै रहेको छ ।

इलामपछि पाँचथरमा दुई सय ५० हेक्टर र सोलुखुम्बुमा एक सय १५ हेक्टर क्षेत्रफलमा किबीखेती हुँदै आएको छ । खोटाङमा ४०, सङ्खुवासभामा ३६, भोजपुरमा ३५, ताप्लेजुङमा ३०, धनकुटामा २४, तेह्रथुममा १६, उदयपुरमा १५ र मोरङमा १५ हेक्टर क्षेत्रफलमा किबीखेती हुँदै आएको छ । रासस