काठमाडौँ । मनसुनी वायुको प्रभावले आजदेखि देशका विभिन्न भूभागहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
मनसुनी वायुको प्रभाव आंशिक र न्युनचापीय रेखा सरदरका कारण केही दिनसम्म कम पानी परेको थियो। आज मनसुनी वायुको प्रभावका कारण चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले मधेश प्रदेशका एकदुई स्थान तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति भने गण्डकी र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
अन्य प्रदेशका पहाडी भूभागहरुमा मध्यम वर्षा र बाँकी भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।










