१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्नपूर्ण पदमार्गमा साढे छ महिनामै भित्रिए २० हजार पर्यटक



फाईल फोटो
अ+ अ-

पर्वत । विश्वमै पदयात्राका लागि ख्याति कमाएको राउन्ड अन्नपूर्ण क्षेत्रमा पछिल्लो साढे छ महिनामा झन्डै २० हजार पर्यटक भित्रिएका छन् ।

कोरोना सङ्क्रमणले दुई वर्ष नराम्ररी थलिएको यो पदमार्गमा सन् २०२३ को जुलाई १८ (साउन २ गते)सम्म १९ हजार पाँच सय ६२ पर्यटक पदयात्राका लागि आएका हुन् ।

सोमध्ये एक हजार चार सय २१ जना सार्क राष्ट्रका रहेका छन् भने अन्य पर्यटक जापान, चीन, युरोप, अमेरिका र कोरियका रहेका छन् । यो सङ्ख्या सन् २०२२ को तुलनामा झन्डै दोब्बर हो ।

सन् २०२२ को पहिलो छ महिनामा झन्डै ११ हजार जनाले पदयात्रा गरेका थिए । सन् २०२२ को वर्षमा कूल २४ हजार पाँच सय ४२ जना पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप विरेठाँटी चेकपोष्ट इञ्चार्ज याम गुरुङले जानकारी दिनुभयो । गुरुङले अगस्टपछि सुरु हुने अर्को याममा पर्यटकको सङ्ख्या अझै बढ्ने अनुमान रहेको बताउनुभयो । यस वर्ष ४० हजारभन्दा बढी पर्यटक आउने अनुमान गरिएको छ ।

पर्वत र कास्कीको सिमाना नयाँपुलदेखि सुरु हुने यो पदमार्ग विश्वकै १० उत्कृष्ट पदमार्गमा पर्दछ । कोभिड सङ्क्रमणपछि यस क्षेत्रमा अहिले पर्यटकको सङ्ख्या उल्लेख्यमात्रामा वृद्धि भएको गुरुङले बताउनुभयो । “सन् २०२० र २०२१ मा नगण्यमात्रामा पर्यटक आए पनि सन् २०२२ को सेप्टेम्बरदेखि पर्यटक आवागमनमा सुधार हुँदै आएको थियो”, गुरुङले भन्नुभयो, “सन् २०२१ मा पर्यटकको सङ्ख्या ह्वात्तै बढेर आएको छ ।” उहाँका अनुसार अहिले भने ‘अफसिजन’ भएका कारण दैनिक १० देखि २० जनासम्म ‘इन्ट्री’ भइरहेका छन् ।

असार महिनाअघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर पदमार्ग सुनसान जस्तै बनेको उहाँले बताउनुभयो । यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा होटल व्यवसाय सञ्चालनमा रहेका छन् ।

विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, प्राकृतिक सुन्दरता हेर्न र कास्कीको नयाँपुलदेखि वीरेठाँटी हुँदै घान्द्रुक–घोरेपानी–मस्ताङ, मुक्तिनाथबाट थोराङ भञ्ज्याङ उक्लेर मनाङ हुँदै लमजुङ जान अन्नपूर्ण राउन्ड पदमार्गमा आउँछन् । मुस्ताङ र मनाङका विभिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् ।

वीरेठाँटीमा दर्ता भएर पदयात्रा सुरु गर्ने सबै पर्यटक थोराङ भञ्ज्याङ पास भने गर्दैनन् । मुस्ताङको मुक्तिनाथभन्दा माथि पुग्दा लेक लाग्ने, बिरामी पर्ने जस्ता समस्याले अधिकांश पर्यटक अन्नपूर्ण बेसक्याम्पबाटै फर्किने गरेका छन् । यो क्षेत्रमा पर्यटकले सातदेखि नौ दिनसम्म बिताउने गरेको गुरुङले बताउनुभयो ।

अहिले भने बर्खा लागेकाले अफसिजन भएको र दृश्य पनि राम्रो नदेखिने तथा बर्खामा बाटो हिँड्न समस्या हुनेलगायत कारण पर्यटकको आगमन घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वीरेठाँटीका इञ्चार्ज गुरुङले जानकारी दिनुभयो । यस क्षेत्रमा पर्यटकका लागि सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना सबैभन्दा उत्तम मौसम मानिन्छ भने अन्य समयमा पनि विदेशी पर्यटकहरू आउने गर्दछन् । रासस