काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको हनुमानढोका परिसरमा सवारी साधानलाई प्रवेश निषेध गरेको छ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले आज एक सूचना जारी गर्दै हनुमानढोकाको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक भएकाले सवारी प्रवेश निषेध गरिएको बताउनुभयो ।
केही दिनयता सामाजिक सञ्जालमा हनुमानढोका तथा वसन्तपुर क्षेत्रमा सवारी साधनको जवरजस्ती प्रवेश गरेका भिडियो भाइरल बनेका थिए ।
‘काठमाडौँ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो । काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् । यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन् । वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ ।
यीनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ ।यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरिएको छु’, प्रमुख शाहले भन्नुभएको छ ।