१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल योगको भूमि हो, विश्वभरका अध्येताका लागि गन्तव्य बन्नसक्छ : प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल योगको भूमि भएको बताउनुभएको छ । आज अन्तर्राष्ट्रिय योग दिवस २०८० को अवसरमा यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालका तीन सम्भता शिव, जनक र बुद्ध योगको जगमा विकसित भएको बताउनुभयो ।

उहाँले नेपालका पुराना भवन र शहर निर्माणमा पनि योगको ज्ञान–विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको बताउनुभयो । ‘मठमन्दिर र मूर्तिकलामा होस या चित्रकला, पौभाचित्र (थान्का) सबैतिर योगको प्रभाव देखिन्छ । ढुंगेधारा, कुवा–इनार र राजकूलोका निर्माणमा पनि योगको ज्ञानलाई प्रयोग गरिएको देख्न सकिन्छ’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले योग नेपालकै अमूल्य निधि पनि भएकाले प्राकृतिक वातावरणको हिसावले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासका लागि एउटा सुन्दर भूमि भएको बताउनुभयो । उहाँले नेपाल योगसम्बन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि मूल गन्तव्य बन्न सक्ने विचार व्यक्त गर्नुभयो ।

‘हामीले परिकल्पना गरेको योग माया आयुर्वेद विश्वविद्यालयले भोलिका दिनमा विश्वस्तरीय विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्नुपर्दछ भन्ने पनि मलाई लाग्दछ’, उहाँले भन्नुभयो । उहाँले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको बताउनुभयो ।

‘स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र मनोवैज्ञानिक रूपमा सबल बनाउन योगले सहयोग पुर्‍याउँछ । शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो । नियमित योगअभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमतामा बृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउने लगायतका सकारात्मक गुणको विकास हुन्छ भन्ने यसक्षेत्रका अनुभवी व्यक्तिहरूको ज्ञान र अनुभववाट हामीले सिक्नुपर्दछ’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ शरीर, आघातमुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो । योग र ध्यानका अभ्यासहरू व्यक्तिगत तहमा पुग्दा त्यसले नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनस्थापनाका लागि महत्वपूर्ण योगदान गर्ने भएकाले यसलाई व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउनेतिर कदम चाल्न योगका अभियन्ताहरू र योग गुरूहरूको अहम् भूमिका हुने बताउनुभयो ।

‘अन्तर्राष्ट्रिय योग दिवस मनाइरहँदा योगसम्बन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा हामीले पर्याप्त ध्यान दिनुपर्दछ र व्यवस्थित ढङ्गले काम गर्नुपर्दछ । यसबाट नेपालमा योग पर्यटनको विकास गर्न सकिन्छ’, उहाँले भन्नुभयो ।

मानव जातिको इतिहास, जीवनवृत्ति र विकासका क्रममा पूर्वीय समाजले बहुआयमिक योगदान गर्दै आएको भन्दै उहाँले चिन्तन, दर्शन, सभ्यता र संस्कृतिका दृष्टिले मात्र नभएर पूर्वीय वाङ्मय र जीवनशैलीमा पनि हामी त्यति नै वैभवशाली भएको बताउनुभयो ।

‘योगको व्यवस्थित अध्ययन, अनुसन्धान र व्यवस्थित स्वामित्व लिएर हाम्रो ज्ञानभण्डार र जीवनलाई विश्वव्यापी रूपमा स्थापित गर्ने जिम्मेवारीसमेत हाम्रोसामु छ । यसतर्फ यहाँहरूजस्तो विद्वत वर्गको अग्रणी भूमिका रहने मैले विश्वास लिएको छु’, उहाँले भन्नुभयो ।

संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ डिसेम्वर ११ मा पारित प्रस्तावअनुसार सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ । जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघमा प्रस्ताव राख्नुभएको थियो भने नेपालका तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले उक्त प्रस्तावको समर्थन गर्नुभएको थियो ।