काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण सुरु गरेको छ।
आपतकालीन अवस्थामा प्रभावित नागरिकका लागि सञ्चालन गरिएका होल्डिङ सेन्टरबाट अब परिवारको आवश्यकताअनुसार छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने तयारी सरकारको छ। त्यसका लागि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले मंगलबारदेखि प्रभावित जिल्लामा टोली परिचालन गरेको हो।
टोलीले ‘कोबो टुलबक्स’ प्रयोग गरी ‘आवश्यकता मूल्याङ्कन फारम’मार्फत प्रभावित परिवारको विवरण संकलन गरिरहेको छ। सर्वेक्षणबाट प्रभावित व्यक्ति तथा परिवारको विवरण, घर पूर्ण वा आंशिक रूपमा क्षति भएको अवस्था, दिवंगत तथा बेपत्ता सदस्यको संख्या लगायतका विवरण संकलन गरिनेछ।
त्यसैगरी, सरकारी सहयोगमा अस्थायी आश्रय लिने वा भाडामा बस्ने विकल्पमध्ये परिवारको रुचि, जग्गाको उपलब्धता, स्थानान्तरणका लागि उपयुक्त विकल्प, खानेपानी तथा सरसफाइको अवस्था र अन्य आवश्यकताबारे पनि जानकारी लिइनेछ।
सरकारका अनुसार सर्वेक्षणले होल्डिङ सेन्टरमा रहेका प्रत्येक परिवारको वास्तविक आवश्यकता पहिचान गर्न सहयोग पुग्नेछ। सोही आधारमा प्रभावित परिवारका लागि आवश्यक योजना तथा अस्थायी बसोबाससम्बन्धी कार्यक्रम कार्यान्वयन गरिनेछ।
एक साताभित्र होल्डिङ सेन्टरमा रहेका परिवारको सर्वेक्षण सम्पन्न गर्ने गरी काम भइरहेको छ। त्यसपछि होल्डिङ सेन्टरबाहिर रहेका अन्य प्रभावित परिवारको समेत यही ‘आवश्यकता मूल्याङ्कन फारम’ प्रयोग गरी सर्वेक्षण गरिने जनाइएको छ।






