९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

रविन्द्रको कलात्मक ‘डुङ्गा चियाघर’

रविन्द्रको कलात्मक ‘डुङ्गा चियाघर’
अ अ+ अ-

काठमाडौँ । अग्ला रुखले घामको तातो राप रोक्दै शीतलता दिने कोशिस गरिरहेको छ । वरिपरि झुरुप्प झाडी र बुट्यानले घरभन्दा पर नयाँ बसाइको अनुभूति थपिदिएको छ ।

फाट्टफुट्ट झुल्कने किटपतङ्गले घरआँगनको झल्को दिन्छ । झाडीकै बीचमा एउटा पुरानो डुङ्गा टक्क अडिएको छ । डुङ्गाको अस्तित्व पानी र त्यसको बहाबसँग जोडिएको हुन्छ । तर त्यहाँ जमिनसँग नाता जोड्ने प्रयत्नमा डुङ्गा लागेको छ । अनुभूति मात्रै पानीको बहाबसँग जोडिन्छ ।

नारायणी, राप्ती, कोशीजस्ता ठूला नदीमा बग्दाको स्मरण अनि काठमाडौँकै ठूला पोखरीमा तैरिँदाको स्मृति त्यो डुङ्गासँग छ । अहिले डुङ्गा जमिनमाथि नै आफ्ना यात्रु खोज्दैछ । फरक यति हो उसले यात्रुलाई नदीको वारिपारि किनार तार्नु पर्दैन ।

यात्रु डुङ्गामा यात्रा गर्छन् । डुङ्गामा एक युवा गितारमा पुराना धुन बजाउनुहुन्छ । ए माझी दाई..पुरानो डुङ्गा..आदि । दर्शक आफैँ पनि सहभागी हुन सक्छन् । अनि यहाँ नयाँ युगका धुन पनि बज्छन् बेलाबेलामा । यात्रुअनुसारको धुनको स्वाद पस्कन उनी खप्पिस छन् । यसरी बज्ने गितारको मधुर धुनमा रमाउँछन् सङ्गीतका पारखीहरु । यहाँ पुग्ने धेरैले वर्षौँअघिको कर्णदासको गीत, ‘पुरानो डुङ्गा पानीको छाल पार गरुँ कसरी, उनी छिन पारी तारेर लौन भेटुँन कसरी…’ गीत सम्झन्छन् ।

डुङ्गामै रहेको पुस्तकालयको कालजयी पुस्तकमा अक्षरहरुको स्वाद लिन्छन् । सत्यमोहन जोशीको जीवनी, प्रयोगशाला, कलासम्बन्धी पुस्तक, उपन्यास र अनुसन्धानमुलक पुस्तकहरु राखिएका छन् । अनि जमिनमाथिको यात्राको नयाँ अनुभूति सङ्गाल्न पाउँछन् आगन्तुकहरु । त्यो अनुभूतिले जमिनमा रहे पनि बहँदै गरेको पानीको छालमाथिको यात्रामा भावनाहरु छचल्किन पुग्छ । त्यही नदीको यात्रामा डुब्न पुगिन्छ ।

यात्रुको यात्रामा साथ दिन डुङ्गाका माझी बन्नुभएको छ ललितकलाका कलाकार रविन्द्रकुमार श्रेष्ठ । उहाँ यात्रुको साथै रहनुहुन्छ । उहाँ डुङ्गाको बहना बनेर यात्रुको मानसपटलमासँगै डुल्नुहुन्छ । उहाँको यो ‘डुङ्गा चियाघर’मा चियाको चुस्किसँगै सङ्गीत र साहित्यको स्वाद लिन पाइन्छ ।

डुङ्गाको अर्को छेउमा पुरानो डिक्चेमा चिया पाक्छ । चिया पकाउने तरिका पनि परम्परागत छ । चिया पसलेले चियासँगै दुनोटको एक थान साथै ल्याइदिन्छन् । दुनोटले पुरानो काठमाडौँलाई झक्झक्याइदिन्छ । पुरानो काठमाडौँमा दुनोट चर्चित थियो । “यी चिया लिनुस”, उहाँ डुङ्गाभित्र रहेको सानो टेबलमा थपक्क राख्नुहुन्छ अनि मुसुक्क मुस्काउँदै श्रेष्ठ भन्नुहुन्छ, “पानी नहालेको खाँटी दूध हो हजुर, चिनी नपुगे भन्नुस् है ।”

अनि अर्को खेप ओसार्न पुग्छन् । धुलिखेलबाट ल्याएको गाईको खाँटी दूधमा धुवाँको हरक मिसिएको चियाको स्वादले धेरै यात्रुलाई आफ्नो पहाड घर सम्झाउँछ । कतिलाई तराईको आँगनको ओदानको स्मरण गराउँछ ।

नयाँ पाहुना थपिएपछि भने डुङ्गामा ठाउँ पुग्दैन । धेरैजना डुङ्गाकै परिपरि बसेर निहार्छन् र पालो कुर्छन् । आगन्तुकहरु त्यतिञ्जेल छेउमा रहेका काठका कुर्सीमा बस्छन्, पुस्तक पल्टाउँछन् र गीत सुन्छन् । बरिष्ठ साहित्यकार अभि सुवेदीले उहाँको कलाको स्वाद लिएर जानुभयो । रुचिसाथ अवलोकन गर्नुभयो । त्यही डुङ्गाभित्र बसेर उहाँले केही अन्तरवार्ता पनि दिनुभएको कलाकार श्रेष्ठ स्मरण गर्नुहुन्छ ।

चलचित्रका कलाकार रविन्द्रसिंह बानियाँ परिवारसहित आएर पनि मज्जा लिएर जानुभयो । शिल्पी थिएटरका घिमिरे युवराज मात्रै होइन, स्कुलका विद्यार्थीहरुको नजरमा परेको छ डुङ्गा चियाघर । कविले कविता प्रस्तुत गर्ने ठाउँ बनेको छ भने साहित्यकारले किताव पढ्ने ठाउँ । चिया पारखीले चिया खाने ठाउँ बनेको छ त थकितहरुका लागि थकान बिसाउने ठाउँ बनेको छ उहाँको सिर्जना ।

यो डुङ्गा १५ वर्षअघि ललितपुरको नाग दहमा चल्थ्यो । प्वाल परेकाले त्यसले आराम पायो । उहाँले नल्याएको भए त्यो आगोमा बलिसक्थ्यो होला । तर श्रेष्ठले पुन: प्रयोगमा ल्याएर नयाँ सन्देश दिनुभयो । उहाँले कलालाई व्यवसायसँग जोड्ने योजना बनाउनुभएको छ ।

कोलाहलयुक्त काठमाडौँ सहरको एउटा कुनाको एकान्तमा डुङ्गा यात्राको जोहो उनै कलाकार रविन्द्रको नयाँ सिर्जना हो । राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कला प्रदर्शनीको एउटा सानो तर महत्वपूर्ण अंशका रुपमा उहाँले पुरानो डुङ्गाको भर्सनलाई प्रतिस्थापन आर्टमा रुपान्तरण गरेर नमूना प्रस्तुत गर्नुभएको छ ।

“खै किन हो डुङ्गा मलाई एकदम मन पर्छ । काठमाडौँमा पुराना डुङ्गा खोज्दै गर्दा एउटा भेट्टाएँ पनि”, उहाँले अनुभव सुनाउनुभयो । सत्र हजार रुपियाँमा किनेको डुङ्गा उहाँले पानीमा चलाउनुभएन । जमिनमा उभ्याइदिनुभयो । काठमाडौँ उपत्यका खाल्डोमा ठूला नदी र पोखरी लोप हुँदै जाँदा यस्ता काठका डुङ्गा विस्थापित भए । खुम्चिएका साना पोखरीमा रबरका डुङ्गा चल्न थालेपछि काठका धेरै डुङ्गा बेवारिसे बने । धेरैले दाउरा बनेर अस्तित्व गुमाए । तर श्रेष्ठले भेट्टाएको एउटा डुङ्गाको अस्तित्व बिउँझाउनुभयो । ‘पुराना वस्तु नयाँ वस्तुका आधार हुन्”,उहाँ भन्नुहुन्छ, “मासिनु हुन्न, केही न केही गरेर यसलाई बचाउनुपर्छ भन्ने सोचले यहाँ ल्याएँ ।”

डुङ्गा यहाँ परफरमेन्स आर्टको एउटा सहभागी हो । तर यो सहभागितालाई उहाँले यथार्थवादी कलासँग जोड्दै मानिसको दैनन्दिनीसँग मिसाउँदै हुनुहुन्छ । कलालाई अर्थसँग जोडेर उहाँले पस्किनु भएको छ । कला पर्यटन प्रवद्र्धन र आर्थिक विकासको सूचक हो भन्ने उदाहरण उहाँले यहाँ प्रस्तुत गर्नुभएको छ । कला देखाएर चिया बेचेर उहाँले कमाइ पनि गरिरहनुभएको छ । पैसामै चिया बिक्री पनि भइरहेको छ । उहाँका अनुसार सहरका विभिन्न भागमा कलात्मक प्रस्तुतिसँगै डुङ्गा रेष्टुरेन्ट खोल्ने तयारी गरिएको छ । यो उहाँको रिहर्सलभन्दा पनि फरक पर्दैन । त्यसका लागि पोखरा, चितवनलगायतका स्थानबाट पुराना डुङ्गा खोजेर जम्मा गर्दै हुनुहुन्छ ।

उहाँले यो नयाँ अवधारणालाई पहिलो चरणमा साहित्य, कला अनुरागीमाझ पस्कने जमर्को गर्नुभएको छ । कलार साहित्य पारखीका पुस्तक विमोचन, कला उद्घाटन र विमर्शका लागि नयाँ स्थान यही पुराना डुङ्गालाई बनाउने लक्ष्य लिएको उहाँले सुनाउनुभयो ।

मानिस जति आधुनिक भए पनि उसको रगतभित्र लुकेको पुरानो पुस्ताको वंशाणुपन कहिल्यै जाँदैन । यही मूल मर्मलाई उहाँले डुङ्गाबाट जगाउँदै हुनुहुन्छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकूलपति लालकाजी लामालाई पनि उहाँको यो अवधारणा मन परेको छ । लामा भन्नुहुन्छ, “हामी कलाकार सधैँ नयाँ कुराको खोजीमा हुन्छाँै, डुङ्गाले त्यो नयाँपन दिन खोजेको छ । हुन त डुङ्गा पुरानो हो । तर यसले दिने अनुभूति पुराना र नयाँ दुवै पुस्ताका लागि नयाँ र मौलिक हुन्छन् ।”

एउटा डुङ्गामा एकपल्टमा चार जनासम्म अटाउन सक्छन् । चारजना बसे पनि उनीहरुको एउटै ध्याउन्न हुन्न । कोही गीत मात्र सुन्छन् । कोही चियामा मग्न रहन्छन् । कोही पुस्तक बढी पढ्छन् । कोही डुङ्गाका हरेक कुना आउने गरी सेल्फी र भिडियो खिच्छन् । र मोबाइलमा नयाँ स्मरण कैद गर्छन् ।

श्रेष्ठले डुङ्गामा शताब्दी पुरुष सत्यमोहन जोशीको हस्ताक्षर भएको उहाँको जीवनीसँगै उहाँकै औँठा छाप भएको कलात्मक स्वरुप पनि डुङ्गामा राख्नुभएको छ । यसले शताब्दी पुरुषको जीवित अस्तित्वलाई उजागर गर्छ ।

प्रतिष्ठान परिसरमा जारी कला प्रदशर्नीमा घुम्दै अवलोकन गरेपछि सुस्ताउने थलो पनि बनेको छ उहाँको ‘डुङ्गा कला’ । कलाका अनेक हेरेपछि देखिने डुङ्गाभित्रको अनुभूति हेर्ने र महसुस गर्नेहरुका लागि ताजा रहने गर्छ । त्यसैले त दोहोर्‍याएर साथीभाइ र परिवारका सदस्यसहित डुङ्गाको एकान्तपनसँगै जमिनमाथिको यात्रा गर्न आउने गरेका छन् ।

यहाँ पुग्नुभएका एक आगन्तुक अनिल शर्मा भन्नुहुन्छ, “यो साँच्चै नमूना प्रदर्शनी हो, यसले समाजलाई जीवन्त प्रस्तुत गरेको मात्रै छैन, चिया बेचेर आयआर्जनको बाटो पनि देखाएको छ ।” उहाँको यो कला हेर्न कला पारखीले छुटाउँदैनन् । कलाकार श्रेष्ठ भन्नुहुन्छ, “यो पब्लिक आर्ट हो, यो हाम्रोमा एकदम ट्रेन्ड काम छ, यसलाई प्रतिष्थापन कला ९इन्स्टलेसन आर्ट० भनिन्छ । मोबाइल कला हो । ठाउँअनुसारको कला भरेर प्रस्तुत गर्न सकिन्छ ।” कलालाई अर्थसँग जोड्नुपर्छ । भाषा, साहित्य, कला र अर्थसँग जोडिएको छ उहाँको सिर्जना ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले हरेक वर्ष यसैगरी कला प्रदर्शनी गर्छ । तर गणतन्त्र दिवसका अवसरमा भने पहिलोपटक जेठ १५ बाट प्रदर्शनी थालिएको हो । यसपटक लोक तथा परम्परा कला नेपाल कला परिषद्मा प्रदर्शनमा छ । अन्य समसामयिकसहित मूर्तिकलालगायतका कलाहरु नक्सालमा प्रदर्शन भइरहेको छ । यसपालि विशिष्ट व्यक्तिहरुको अवलोकनमा चाख बढेको छ ।

विगत १२ वर्षकै इतिहासमा पहिलोपटक सबैभन्न्दा बढी झण्डै ७०० कला राखिएको प्रदर्शनीमा विशिष्ट व्यक्तिहरुको अभिरुची पनि बढी नै देखिएको छ । पूर्व राष्ट्रपति विद्यादेखि भण्डारीदेखि विभिन्न देशका राजदूत, अग्रज कलाकार, राजनीतिज्ञ तथा सामाजिक व्यक्तिहरुबाट कलाको अवलोकनले यसको महत्व बढाइदिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली यसपटक कलामा नयाँपन दिन खोजिएको र कलाको विकास र प्रवद्र्धनमा ध्यान दिइएको बताउनुहुन्छ । रासस