२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सुरक्षा भत्ता कटौती हुँदैनः अर्थमन्त्री डा. महत



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताउनुभएको छ ।

राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको मंगलबार जवाफ दिँदै उहाँले सामाजिक सुरक्षाका विषयमा केही आशंका उठे पनि सरकारले प्रतिबद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती नहुने स्पष्ट गर्नुभयो ।

सरकारले प्रतिबद्धता गरेका कुराहरुबाट पछि नहट्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामीले बोलिसकेका कुराबाट पछि हट्दैनौँ ।”

सरकारको सम्पूर्ण ध्यान मितव्ययितातर्फ केन्द्रित हुने र साधारण खर्च घटाउन केन्द्रित हुने उहाँको भनाइ थियो । उहाँका अनुसार सरकारको ध्यान अनावश्यक संरचना घटाउने र पुँजीगत खर्च प्रभावकारी बनाउनेतिर हुनेछ ।

अर्थमन्त्री डा महतले अर्थतन्त्र चलायमान बनाउने र अहिले देखिएको निराशाको बादल अन्त्य गर्ने बताउँदै भन्नुभयो, “एकै वर्षमा सबै हुन्छ भनेर म भन्न सक्दिन, यो लामो प्रोसेस हो, गाडी अगाडि बढ्न इन्जिन ठीक भएर हुँदैन, ब्रेकमात्र ठीक भएर हुँदैन, टायर ठीक भएर पनि हुँदैन, सबै पाटपूर्जा एकै लक्ष्यसाथ अगाडि जानुपर्छ ।”

अर्थतन्त्रमा देखिएका समस्या सकेसम्म यही आर्थिक वर्षभित्र सुधार गर्ने पनि उहाँको भनाइ थियो । सकेसम्म यो सिष्टमलाई यही आर्थिक वर्षभित्र सुधारेर नयाँ मार्गमा जान सकिने उल्लेख गर्दै उहाँले हामी सबैको सहयोग र एकाग्रताबाट त्यो सम्भव हुने स्पष्ट गर्नुभयो ।

अर्थमन्त्री डा महतले अर्थतन्त्र चलायमान बनाउन आर्थिक वर्षको सुरुदेखि नै पुँजीगत खर्च बढाउन पहल गर्ने भन्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने बताउनुभयो ।

हाम्रो संयन्त्रमा ढिलासुस्ती छ भन्दै उहाँले पुँजीगत खर्चको प्रभावकारिकता बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो संयन्त्रमा अन्तिम समयमा खर्च गर्ने प्रचलन छ । हामी डे वानदेखि खर्चको मनिटरिङ गर्छौं ।”