३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’

पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’
अ+ अ-

लहान । एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिरहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह सिमसार क्षेत्रमा हिजोआज भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित लहान बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ चुरेपर्वत नजिकै सो सिमसार क्षेत्र रहेको छ । आकर्षकरूपमा निर्माण भएका प्रकृतिक तथा मानवनिर्मित संरचना एवं वरिपरिको हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई सो क्षेत्रले लोभ्याएको हो ।

कोइरालो खोला नमूना सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत रहेको हात्तीदह सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको हो । करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको यस ‘हात्तीदह सिमसार तथा पर्यटक क्षेत्र’लाई आकर्षक बनाउने यहाँको हरियाली जङ्गलले घेरिएको उद्यान, चिसो हावापानी र शान्त वातावरण हुन् । त्यसैगरी बाह्रै महिना पानी नसुक्ने चारवटा पोखरी, वनभोजस्थल र आकर्षक उद्यानको सौन्दर्यसँग रमाउन पछिल्लो समय दैनिक सयौँको सङ्ख्यामा पर्यटक यहाँ आउने गरेका छन् ।

कोइरालोखोला सामुदयिक वन तथा हात्तीदह सिमसार तथा पर्यटक क्षेत्र संरक्षण तथा सञ्चालक समितिका अध्यक्ष रुद्रनारायण चौधरीले एक वर्षअघिमात्र पर्यटकीय क्षेत्रका रूपमा औपचारिक घोषणा भएता पनि छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल भएको बताउनुभयो । उहाँका अनुसार आजभोलि शनिबार तथा सार्वजनिक बिदाको दिनबाहेक दैनिक दुई सयदेखि तीन सयसम्म पर्यटक आउने गरेका छन् ।

“अरु दिनभन्दा सार्वजनिक बिदाका दिन र शनिबारका दिन अलि बढी नै पर्यटक हात्तीदह सिमसार तथा पर्यटक क्षेत्रमा घुम्न आउने गर्छन्”, उहाँले भन्नुभयो, “विस्तारै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ, त्यही हिसाबले हामीले पनि पर्यटकलाई रमणीय र आकर्षित बनाउने गरी भौतिक पूर्वाधारका काम गरिरहेका छौँ ।”

पर्यटक आगमनलाई थप आकर्षित बनाउन वन तथा भू–संरक्षण विभाग बबरमहल, काठमाडौँबाट अनुमति लिई केही वन्यजन्तुको समेत संरक्षण गरी उद्यानभित्र राखिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । पार्कभित्र संरक्षित वन्यजन्तुमा जङ्गली कालो भालु, चरीबाघ, दुम्सी, खरायोलगायत रहेका छन्, यसको सजिलै अवलोकन गर्न सकिने छ ।

त्यसैगरी यस सिमसार क्षेत्रलाई आकर्षण थप्न उद्यानभित्र फूलको बगैँचा, बालबालिकाका लागि ‘चिल्ड्रेन पार्क’ तथा सेल्फी खिच्नका लागि विभिन्न आकर्षक डिजाइन निर्माण गर्नुका साथै पर्यटकका लागि पोखरीमा माछा हेर्दै बोटिङ गर्ने व्यवस्थासमेत मिलाइएको छ । अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको यस हात्तीदह सिमसार क्षेत्र अवलोकन तथा वनभोज कार्यक्रमका लागि जिल्लाका सर्वसाधारणमात्र नभएर छिमेकी जिल्ला उदयपुर, सप्तरी, धनुषालगायत देशका विभिन्न जिल्लाबाट स्कुल तथा कलेजका विद्यार्थीसमेत आउने गरेको सञ्चालक समितिका सचिव बद्री सदायले बताउनुभयो । उहाँका अनुसार नयाँ वर्ष तथा चाडपर्वका बेला छिमेकी राष्ट्र भारतबाट समेत पर्यटककोे घुइँचो लाग्ने गरेको छ ।

हात्तीदह सिमसार पर्यटकीय क्षेत्र विकासका लागि डिभिजन वन कार्यालय सिरहा, बृहत् जलाधार व्यवस्थापन केन्द्र कोशी उदयपुर, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, लहान नगरपालिकालगायतले आर्थिक सहयोग गरेको अध्यक्ष चौधरीले बताउनुभयो । त्यस्तै बौद्धिक नेता तथा तत्कालीन सांसद स्व प्रदीप गिरीले आफ्नो संसदीय कोषबाट पार्कका लागि खानेपानी ट्याङ्की निर्माण गर्न रु १० लाख रकम विनियोजन गर्नुभएको थियो । “तत्कालीन सांसद गिरीले गर्नुभएको आर्थिक सहयोगले बनेको यस खानेपानी ट्याङ्की उहाँले देख्न पाउनुभएन । बडो अफसोच लागिरहेको छ । उहाँको स्मरण यस पार्क रहँदासम्म सधैँ रहिरहने छ”, उहाँले भन्नुभयो ।

चाडबाड, नयाँ वर्षलगायतका अनुकूल समयमा घुमफिरका लागि ठूलो सङ्ख्यामा मानिस जान थालेपछि यस ठाउँको विकासमा स्थानीय सरकारको चासो पनि बढेर गएको छ । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले हात्तीदह सिमसार पर्यटन क्षेत्रको विकासमा उच्च प्राथमिकतादिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस पर्यटन क्षेत्रको भौतिक विकासका लागि, स्थानीय युवाहरूको रोजगारी सिर्जनाका लागि, आर्थिक विकासका लागि स्थानीय सरकारले भरपूर सहयोग गर्नेछ ।”

नगरप्रमुख चौधरीका अनुसार राजमार्गबाट हात्तीदह सिमसारसम्मको ग्राभेल बाटोको स्तरोन्नति तथा कालोपत्र गर्नका लागि नगरबाट बजेट व्यवस्था गरी निर्माण सुरुआत भएको पनि जानकारी दिनुभयो । त्यसैगरी पार्कभित्र ‘सेल्फी बृज’ निर्माणका लागि रु १० लाख रकम छ्ट्याइएको पनि बताउनुभयो ।

हात्तीदह सिमसार पर्यटकीय क्षेत्रका रूपमा विस्तार भएपछि रोजगारीको सिर्जना एवं यस वरिपरि व्यापार तथा व्यवसाय पनि वृद्धि भएको छ । आफ्नो व्यापार व्यवसायबाट मनग्गे आम्दानी भइरहेको स्थानीय व्यापारी पोषण सदायले बताउनुभयो ।

आगामी दिनमा अझ व्यवस्थित बनाउने योजनासहित आफू लागिपरेको समितिका अध्यक्ष चौधरीले बताउनुभयो । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म प्रचार–प्रसार गरी हात्तीदह सिमसार पर्यटन क्षेत्रको पहिचान उच्च बनाउनुपर्ने उहाँको भनाइ छ । रासस