३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

वर्ष २०७९ः पर्यटन सुधारको वर्ष

वर्ष २०७९ः पर्यटन सुधारको वर्ष
अ+ अ-

काठमाडौँ । वर्षको उत्तरार्धमा महिनामै एक लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो आँकडाले वर्ष २०७९ को समापन सुखद् बनाएको छ । यसले नेपालमा विस्तारै विदेशी पर्यटक बढ्ने संकेत समेत गरेको छ ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को मार्चमा ९९ सय हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका छन् । अंग्रेजी वर्ष सन् २०२३ को शुरुवातदेखिनै विदेशी पर्यटक आगमन निरन्तर बढ्दो क्रममा छ । जसअनुसार जनवरीमा ५५ हजार ७४ जना र फेब्रुअरीमा ७३ हजार दुई सय ५५ विदेशी पर्यटक नेपाल आएका छन् ।

कोरोना महामारी आउनुअघि सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ २ लाख ३० हजार ८५ संख्यामा खुम्चियो । त्यसैगरी सन् २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले समग्रमा वर्ष २०७९ वर्ष पर्यटन क्षेत्र पुनरुत्थानको वर्ष भएको र पर्यटकको बढोत्तरीले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको बताउनुभयो । “पर्यटनका हिसावले समष्टिगत रुपमा वर्ष २०७९ सुखद् रह्यो”, उहाँले भन्नुभयो, “हरेक महिना पर्यटक आगमन बढ्दो क्रममा रहेको छ । साउनदेखिनै पर्यटक बढिरहेका छन् । हरेक महिना औसतमा ७० प्रतिशतभन्दा माथि पर्यटन आगमन भएको देखिन्छ । वर्षको अन्त्यमा झण्डै ८० प्रतिशत ‘रिभाइभ’ भएको छ ।”

निर्देशक लामिछानेका अनुसार आन्तरिक पर्यटनमा पनि चहलपहल बढेको छ । वर्ष २०७८ मा आन्तरिक पर्यटक झण्डै एक सय २० प्रतिशत चहलपहल थियो भने २०७९ मा एक सय ३० प्रतिशित ‘मुभमेन्ट’ बढेको छ । अर्थात् कोभिडपूर्वको अवस्थाभन्दा ३० देखि ३५ प्रतिशत पर्यटनको चहलपहल बढेको उहाँको भनाइ छ ।

वर्ष २०७९ मा पर्यटकीय पूर्वाधार थपिएका यसले थप उत्साह थपेको छ । होटल रेस्टुराँमा लगानी बढेको छ भने अन्तर्राष्ट्रिय चेन होटल पनि भित्रिने शृङ्खला शुरु भएकाले यसले पर्यटन क्षेत्रलाई थप उत्साह थपेको छ ।

होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह समग्रमा वर्ष २०७९ पर्यटनका लागि उत्साहबद्र्धक रहेको बताउनुहुन्छ । यस वर्षलाई पर्यटन सुधारको वर्षको रुपमा आफूहरुले लिएको उहाँको भनाइ छ । “पछिल्लो पर्यटक आगमन र होटल बुकिङ हेर्दा निकै सकारात्मक छ, यसलाई अझ सुदृढ तुल्याउन ‘एयर कनेक्टिभिटी’ बढाउँदै र सडक यातायात स्तरोन्नति गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।

पर्वतारोहणका लागि पनि उत्साह देखिएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेलले यस वर्षको वसन्त ऋतुमा विभिन्न २१ वटा हिमाल आरोहणका लागि विभिन्न देशका ५१२ जना आरोहीले अनुमति लिएका छन् । जसबाट विभागले राजस्व वापत रु ३१ करोड ३ख सङ्कलन गरेको छ । जसमा सबैभन्दा बढी सगरमाथाका लागि एक सय ९७, लोत्से आरोहणका लागि ६० जना र अन्नपूर्ण आरोहणका लागि ५६ जनाले अनुमति लिएका छन् ।

नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् ९नाट्टा० का अध्यक्ष रमेश थापाले वर्ष २०७९ पर्यटनका लागि सुधारको वर्ष भएको र यसले पर्यटन क्षेत्रमा उत्साह जगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटनका लागि सुधारोन्मुक पक्ष भयो, क्रमिक रुपमा विदेशी पर्यटक बढिरहेका छन् । कोभिड महामारीपछि रोकिएका विभिन्न देशका उडान पनि अहिले खुलेका छन्, । चीनले पनि पर्यटक आगमनमा सहज बनाएपछि चिनियाँ पर्यटक बढेका छन् यसले पर्यटन क्षेत्रमा सकारात्मक आशा जगाएको छ ।”

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० का अध्यक्ष निलहरि बास्तोलाले वर्ष २०७९ समग्रमा पर्यटनका लागि उत्साहवद्र्ध रहेको बताउनुहुन्छ । “समग्र रुपमा यो वर्ष पर्यटनका लागि आशावादी रह्यो । अब पर्यटन लगायत सबैक्षेत्र राम्रो हुनुपर्छ । पछिल्लो सुधारले पनि पर्यटन क्षेत्र बुम हुने संकेत गर्छ”, उहाँले भन्नुभयो ।

चिनियाँ पर्यटक बढे
महामारीले झण्डै तीन वर्ष ठप्प प्राय रहेको चीनबाट उल्लेख्य संख्यामा चिनियाँ नागरिक नेपाल आउन थालेका छन् । नेपालको पर्यटनका लागि उत्तरी छिमेकी मुलुक चीन पनि प्रमुख स्रोत बजार मानिन्छ । चीन सरकारले नेपाललाई आफ्ना नागरिकले निर्बाध घुम्न पाउने सूचीमा नेपाललाई सूचीकृत गरेको छ भने चैत १ गतेदेखि चिनियाँ नागरिकलाई नेपाल घुम्नका लागि एजेन्सीहरुले नेपाल भ्रमणका प्याकेज बिक्री सुरु गरेका छन् । वर्षको अन्तिम दिन एक सय ८० जना चिनियाँ पर्यटक हिमालय एयरलाइन्स चार्टर्ड गरेर नेपाल आएका छन् ।

बोर्डको बिवरणमा सन् २०२३ को मार्च महिनामा दुई हजार छ सय ३५ चिनियाँ पर्यटक नेपाल आएका छन् । त्यसैगरी फेब्रुअरीमा दुई हजार दुई सय ६६ र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटक भित्रिएका छन् । सन् २०१९ मा चिनियाँ पर्यटकको संख्या एक लाख ६९ हजार पाँच सय ४३ पुगेको थियो ।

नेपाल–चीन हवाई उडान पनि खुलिसकेकाले अझै चिनियाँ नागरिक बढ्ने अनुमान गरिएको छ । अहिले चीनका विभिन्न तीन एयरलाइन्सले नेपालमा उडान गरिरहेका छन् भने नेपालबाट हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान भर्दै आएको छ ।

दर्जन बढी तारे होटल पाइपलाइनमा
उद्योग विभागका अनुसार गत वैशाख १ देखि चैतसम्म विभिन्न ५६ वटा होटल तथा रेष्टुराँ स्थापनाक लागि करिब रु २४ अर्ब लगानीको प्रतिबद्धता आएको छ । जसमा चार हजार २२१ जनाले रोजगार पाउने उल्लेख छ । विभागका अनुसार यस वर्ष होटल तथा रेष्टुराँ क्षेत्रमा रु नौ अर्ब ४१ करोड बराबरको विभिन्न देशबाट लगानीको प्रतिबद्धता आएको छ ।

हानका उपाध्यक्ष विनायक शाहका अनुसार नेपालमा पाँचतारेदेखि पर्यटकस्तरका गरी कूल १० हजार होटल छन् । अबको डेढ वर्षभित्र थप १२ भन्दा बढी पाँचतारे होटल थपिदैछन् । हानमा आवद्ध मात्रै चार हजार हाराहारी होटल छन् । हाल नेपालमा सञ्चालित होटलसँग वार्षिक २५ लाख पर्यटक धान्ने क्षमता छ ।

हवाई पूर्वाधारमा फड्को
हवाई पूर्वाधारका हिसावले पनि वर्ष २०७९ उपलब्धीमूलक वर्ष बन्यो । मुलुकमा दुई अन्तर्राष्ट्रिय विमानस्थल थपिएका छन् । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ २ गते उद्घाटन गरिएको थियो भने पुस १७ गते उद्घाटन भएको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो ।

यद्यपि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अझै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन भने भैरहवा विमानस्थलले पनि राम्रो विजनेश पाउन सकेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अहिले तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । आन्तरिक विमानस्थल स्तरोन्नति भएका छन् । तराई क्षेत्रका हब विमानस्थलमा रात्रीकालीन उडान हुन्छ । आन्तरिक विमानस्थलको उडान समयावधि बढाएर दैनिक १८ घण्टा बनाइएको छ । त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन हुन्छन् ।

हवाई सुरक्षा सुदृढिकरणमा प्राधिकरणको सक्रियता
वर्षको सुरुआतमा अर्थात् जेठ १५ मा मुस्ताङमा तारा एयरको विमान दुर्घटना र गत माघ १ मा पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनाले नेपालको हवाई सुरक्षामा चुनौती थपेको छ । हालै चैत २६ मा धौलागिरि बेसक्याम्पबाट पोखरा फर्कँदै गरेको हेली एभरेष्टको हेलिकोप्टर दुर्घटनामा परेको थियो भने श्री एयरलाइन्स एयरलाइन्समा प्राविधिक समस्या देखिएका लगायतका घटनाले हवाई सुरक्षा थप सुदृढीकरण गर्नुपर्ने देखिएको छ ।

नियामक प्राधिकरणले पनि मुलुकको हवाई क्षेत्रलाई सुदृढ र प्रभावकारी बनाउन सक्रियता देखाएको छ । नेपालमा सञ्चालिन आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको सेवालाई सुरक्षित र भरपर्दो तुल्याउन प्राधिकरणले विभिन्न तवरले सुधारमा चासो दिएको हो ।

उडान मापदण्ड पालना नगर्ने र उडानमा लापर्बाही गर्ने विमानचालकलाई कारबाही गर्नुका साथै वायुसेवा कम्पनीको वित्तीय र व्यवस्थापकीय क्षमताको अध्ययन गरी आवश्यक निर्देशन दिएको छ । हवाई सुरक्षा मापदण्ड पालना र सेवाको गुणस्तर अभिवृद्धिका लागि प्राधिकरणले निरीक्षण र अनुसन्धान गरी कानूनी दायरामा ल्याएको छ । पछिल्ला महिनामा मात्रै दर्जनबढी हवाई कम्पनीको सेवा र उडान सञ्चालनबारे निरीक्षण र आवश्यक कारबाही गरिरहेको छ । –सिबी अधिकारी/रासस