३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

उजेली दिदीहरूको आशा: पर्यटक बढ्लान र गाउँले फर्केलान

उजेली दिदीहरूको आशा: पर्यटक बढ्लान र गाउँले फर्केलान
अ+ अ-

गण्डकी । माछापुच्छ्रे हिमालको काखैमा ढुङ्गैढुङ्गाले छापिएको सुन्दर बस्ती छ । उक्त बस्तीमा तलबाट दैनिक धुलो उडाउँदै हुइँकिन्छन् बस र जीप । उक्त घलेल गाउँ भने सुनसान जस्तै छ । माछापुच्छ्रे गाउँपालिका-८ र ९ मा पर्ने घलेल गाउँ पोखरा-बागलुङ राजमार्गको हेम्जाबाट करिब १७ किलोमिटर दूरीमा रहेको छ । पोखराको टुँडिखेलस्थित हरिचोकबाट हेम्जाहुँदै मर्दिपुल, खानेपानी, भेडाबारी, खोरामुख, लुम्ब्रे हुँदै करिब डेढ घन्टामा घलेल गाउँ पुग्न सकिन्छ । लुम्ब्रेसम्म बाटो कालोपत्र भइसकेको छ ।

गाउँमा चार सय घर भएकाले पहिला यो गाउँलाई ‘चार सय घलेल’ भन्ने गरिन्थ्योे । पछिल्लो समय शिक्षा, रोजगारी तथा सुविधाको खोजीमा सहर पस्नेको सङ्ख्या बढ्न थालेपछि अहिले गाउँमा २० देखि २५ प्रतिशत मानिस मात्रै बस्ने गरेका छन् ।

मर्दी हिमाल जाने पदमार्ग यही गाउँ भएर जाने भएकाले पर्यटकीय सम्भावना देखेर यहाँका बासिन्दाले विसं २०६७ देखि घलेल सामुदायिक होमस्टे (घरवास) सञ्चालन गर्दै आएका हुन् । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले घरवास सञ्चालनमा ल्याए पनि पर्यटकको अभावले गर्दा गाउँ पछि परेको होमस्टे (२ नं घर) की सञ्चालिका उजेली गुरुङले बताउनुभयो ।

उजेली दिदीका नामले परिचित उहाँको घर गाउँको सिरानमा छ । उहाँले दुई कोठासहित चार खाट पर्यटककै लागि छुट्याउनुभएको छ । खाटमा ओछ्याइएका सिरक, डसना तथा सोफा छन् । घरको मझेरीदेखि पिँढी, आगन सफा र चिटिक्क पारिएकोे छ । होमस्टेमा फाट्टफुट आउने पाहुनालाई सञ्चालक समितिको व्यवस्थाअनुसार घरघरमा बाँडेर राख्ने गरिएको उजेलीले बताउनुभयो । गाउँका नौ घरमा घरवास सञ्चालन गरिएको छ ।

उहाँले छिमेकी ल्वाङ गाउँ र घलेलमा सँगै घरवास सञ्चालनमा आएको बताउनुभयो । “सँगै घरवास सुरु भएको ल्वाङमा पर्यटकको आवागमन बढी छ । त्यहाँ त्यस्तो चहलपहल हुँदा यहाँ भने सुनसान छ”, उजेलीले गुनासो गर्नुभयो । गाउँमा अधिकांश दसवर्ष मुनिका र ४५ वर्ष माथिका नागरिक बढी छन् । युवा जनशक्तिको अभावका कारण पनि पर्यटकको आगमन बढाउन नसकिएको उहाँको भनाइ थियो ।

गाउँमा आउने पर्यटकले यामअनुसार लेकतिर हुने टुसादेखि निउरो, कोदो, मकै, फापरको ढिँडो रोटी आदिको स्वाद चाख्न पाउँछन् । एकै दिनमा ५० देखि ६० जनासम्म पर्यटकलाई राख्न सकिने यहाँका घरवासमा प्याकेजमा एक रातका लागि रू एक हजारमा खाजा, खाना र बासको व्यवस्था मिलाइएको छ ।

घरवासमा भित्रिएका पाहुनालाई बाजागाजाका साथ टीका र माला लगाएर स्वागत गर्दै बास बस्न घरघर पठाइन्छ । बेलुकाको बास र खाना छुट्याइएका घरमा व्यवस्था भए पनि स्थानीयवासीले पर्यटकको मागअनुसार बेलुका समाज घरमा सामूहिक विभिन्न साँस्कृतिक कार्यक्रम पनि देखाउने गर्दछन् । बिहान उठेपछि पाहुनालाई मकै, अण्डा, चियासहितको खाजा खुवाउने गरिन्छ । बिहान पर्यटक गाउँबाट झण्डै एक घण्टा ठाडो उकालो सिँढी उक्लेर महागुरु गुफा र बीचको तारे बराहसम्म हाइकिङमा जाने गर्दछन् ।

महागुरु गुफा र तारे बराह यहाँको धार्मिक तीर्थस्थल रहेको स्थानीय हितकाजी गुरुङले बताउनुभयो । घलेल गाउँलाई धार्मिक पर्यटनसँग पनि जोड्ने उद्देश्यका साथ गुफा तथा बराह मन्दिरलाई थप व्यवस्थित गर्न गाउँपालिका र प्रदेश सरकारले चासो दिएको उहाँको भनाइ थियो । “गुफालाई व्यवस्थित गर्न पालिकाले रू नौ लाख विनियोजन गरेको छ भने तारे बराह मन्दिरका लागि गण्डकी प्रदेश सरकारले रू १० लाख विनियोजन गरेको छ”, गुरुङले भन्नुभयो । गुफा र मन्दिर निर्माण भइरहेको छ ।

मनले चिताएको पुग्ने तीर्थस्थलका रूपमा उक्त मन्दिरलाई लिइने उहाँले बताउनुभयो । प्रत्येक वर्ष वैशाख पूर्णिमा र दशैँमा बलिपूजासहित यहाँ पूजा गरिन्छ । बराहले गाउँ र स्थानीयवासीलाई संरक्षण गरेको जनविश्वास छ । विगतमा पानी, बत्ती, सडकलगायत आधारभूत पूर्वाधारको समस्या रहे पनि अहिले भने सबै सुविधा गाउँघरमा पुगेका छन् ।

सूचना प्रविधिको बढ्दो विकाससँगै गाउँका घरमा इन्टरनेटको पहुँच पुगेको सामुदायिक होमस्टेका सचिव सुनकुमारी गुरुङले बताउनुभयो । बसाइँसराइका कारण पनि गाउँमा युवावर्ग नहुँदा पर्यटन प्रवद्र्धनमा चुनौती देखिएको उहाँको भनाइ थियोे । “सँगै स्थापना भइ सञ्चालनमा आए पनि ल्वाङवासीलाई पर्यटक भित्राउन भ्याइनभ्याइ छ । यहाँको बाटोमा बस तथा जीप हेरेर टोलाउनु परेको छ”, उहाँको गुनासो थियो । गाउँ छोडेर बसाइँ सर्ने क्रम कम भएमा गाउँमा प्रचारप्रसार गर्न सकिने तथा पर्यटक पनि बढदै जाने उहाँले बताउनुभयो ।

माछापुच्छ्रे गाउँपालिका-८ का वडाध्यक्ष राम गुरुङले शिक्षा, रोजगारी तथा सुविधाको खोजीमा सहरतिर बसाइँ सर्नेको सङ्ख्या बढ्दै गएकाले गाउँमा बालबालिका, वृद्धवृद्धा र आर्थिक अवस्था कमजोर भएका वर्ग मात्रै बसोबास गर्दै आएको बताउनुभयो । घलेल चलचित्र छायाङ्कनका लागि पनि उपयुक्त गन्तव्य हुने भन्दै उहाँले प्रचारप्रसारको अभावमा यस गाउँले विकासमा अपेक्षित फड्को मार्न सकेको छैन भन्नुभयो ।

गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले घलेल हुँदै दैनिक करिब चार सयदेखि पाँच सय पर्यटक मर्दी हिमाल तथा खुमै पदयात्राका लागि जाने गरेपनि उनीलाई यहाँ बसाउन नसकिएको बताउनुभयो । “मर्दी पदयात्रामा जाने पर्यटकलाई एक रात घलेलमा बस्ने वातावरण बनाउन सके यहाँको पर्यटन प्रवर्द्धन हुने थियो”, उहाँले भन्नुभयो, “यसको प्रचारप्रसारसँगै गाउँलाई चलचित्र छायाङ्कनको आकर्षक गन्तव्यका रूपमा पनि विकास गर्न सकिने सम्भावना छन् ।” रासस