२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी जी अब सिद्धिनु भयोः प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा टिकिरहनका लागि अझै पनि षड्यन्त्रका गोटी चाल्न सक्ने खतरा कायमै रहेको बताउनुभएको छ ।  

सोमबार विपक्षी गठबन्धनले बुद्धिजिवीहरुसँग गरेको अन्र्तक्रियामा बोल्दै अध्यक्ष दाहालले अदालतको निर्णयमाथि प्रभाव पार्ने षडयन्त्रमा प्रधानमन्त्री ओली लागेको आरोप लगाउनुभएको हो । उहाँले सत्ताकेन्द्रीत भएर नेपाली राजनीतिमा ठूलो चलखेल भएको गन्ध आफुले पाएको दाबी पनि गर्नुभयो । प्रधानमन्त्री ओली इतिहासमा नै सबैभन्दा कलंकित र बद्नाम भएको तथा राजनीतिक भविश्य नै ओरालो लागिसकेकाले अन्तिम समयसम्म पनि षड्यन्त्रका गाटीहरु चाल्न सक्ने खतरा रहेको अध्यक्ष दाहालले दाबी गर्नुभयो । 

प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याउने, तर्साउने र कुनै न कुनै रुपले दबाबमा पारेर, खैजेडीमा पारेर निर्णयमाथि प्रभाव पार्ने खुल्ला षड्यन्त्र गरेको पनि अध्यक्ष दाहालले आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीले हारेको अनुभुत आफुले गरेको भन्दै उहाँले नेपालको इतिहासमा प्रधानमन्त्री ओली सबैभन्दा कलंकित र बेइमान भएर जाने जिकिर गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘केपी जी अब सिद्धिनुभयो र नेपालको इतिहासमा सबैभन्दा कलंकित र बदनाम प्रधानमन्त्रीको रुपमा, सबभन्दा निरंकुशको पनि तुच्छस्तरको निरंकुश, झुठ, बेइमानबाहेक केहि नजान्ने निरंकुशको रुपमा नेपाली इतिहासमा बदनाम भएर जाने हुनुभयो । मलाई त कहिलेकाहीँ केपी जीलाई यसो सम्झिदाखेरी पनि कठै विचरा भन्नपनि मन लाग्छ । त्यत्रो वर्ष दुख ग¥या हो । चौध वर्ष जेल पनि बस्या हो हुँदो रहेनछ नि त दृष्टिकोण र प्रवृत्ति नभएपछि त जेल बसेर पनि के हुँदो रहेछ र ? त्यसकारण उहाँ चाहीँ ओरालो लागेकै रुपले बुझ्छु । अझै षड्यन्त्रका केही गोटीहरु चाल्नको लागि उहाँ जुनसुकै हदमा जाने खतरा पनि छ ।’

उहाँले ढिलै भएपनि प्रतिनिधिसभा पुर्नस्थापना हुने र सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने दाबी गर्नुभयो । तथ्य, तर्क र प्रमाणले पुर्नस्थापना हुने कुरामा आशंका गर्ने ठाउँ नभएको उहाँले बताउनुभयो । यद्यपी संसद पुर्नस्थापना नै भएपनि ठुलो खेल चलिराखेको गन्ध आफुले पाएको उहाँले बताउनुभयो । पुर्नस्थापनाले मात्रै समस्याको समाधान नहुने भन्दै प्रचण्डले पुर्नस्थापित संसद संसद नहुनुभन्दा पनि नराम्रो स्थितिमा हुने आशंका समेत व्यक्त गर्नुभयो । अझैपनि ढुक्क हुनसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘आज पनि म भन्छु संसद पुर्नस्थापना हुन्छ । त्यतिमात्रै होइन, शेरबहादुर जीकै नेतृत्वमा सरकार गठन गर्न परमादेश जारी पनि हुन्छ भनेर म भन्छु । अदालतले गर्छ किनकी संविधानको व्यवस्था अनुसार हाम्रो परम्परा र नजीर अनुसार त्यसो नहुनुपर्ने कारण नै छैन । संसद त पुर्नस्थापना हुन्छ । सबै तथ्य, तर्क, प्रमाण, नजिर सबै हेर्दा संसद पुर्नस्थापना हुने कुरामा आशंका गर्ने ठाउँ त छैन । तर म अझै विश्वस्त हुन सक्या छैन । अझै पनि एउटा खेल अलि ठुलै चलिराखेको पनि गन्ध आउँछ मलाई । अझैपनि पुर्नस्थपना नै गरेपनि त्यो पुर्नस्थापना, पुर्नस्थापना नहुनुभन्दा पनि रद्दी हुनपनि सक्छ । पुर्नस्थापनाले मात्रै समस्याको हल नहुनपनि सक्छ । त्यसो भएको हुनाले हामीले सर्तकता अलिकतिपनि छुटाउनुहुने, या भैहाल्छ पुर्नस्थापना, सरकार त बनिहाल्छ भनेर ढुक्क हुने स्थिति बनिसकेको जस्तो मलाई फिलिङ छैन ।’

अध्यक्ष प्रचण्डले सरकार अवैधानिक र असंवैधानिक भएको भन्दै यस सरकारले गरेका सम्पूर्ण संवैधानिक निकायहरुमा गरेका नियुक्तीलाई गठबन्धनको सरकारले खारेज गर्ने बताउनुभयो । ओली सरकारले गरेको निर्णय खारेजी गरेर मान्यता स्थापित हुनेगरी पुर्ननियुक्ति गरिने बताउनुभयो । उहाँले भन्नुभयो – ‘यत्रो अवैधानिक सरकार छ ।
 असंवैधानिक सरकार छ । उसले गरेका सबै काम, कारबाहीहरु कुनै मुल्य, मान्यतामा छैनन् । सबै अनैतिक छ । भ्रष्ट छ । गरेका नियुक्तिहरु अवैधानिक छन् । ति खारेजयोग्य छन् । गठबन्धनको तर्फबाट कुनै अवैधानिक ढंगले, असंवैधानिक ढंगले, अलोकतान्त्रिक ढंगले गरेका सबै नियुक्तिहरु खारेज गरिनेछ । मानिदैन तिनलाई । कुनै हालतमा मानिदैन । संवैधानिक नियुक्तिहरुपनि नाटकिय ढंगले, षडयन्त्रमुलक ढंगले गरिएका छन् । मैले न्याय क्षेत्रका साथीहरुसँग पनि लगातार छलफल गरेको छु । यि सबै खारेज गरिनुपर्छ र मान्यता स्थापित हुनेगरी पुर्ननियुक्ति गर्न जरुरी छ ।’

अध्यक्ष दाहालले सरकार कोभिड–१९ को महामारीबाट जनतालाई जोगाउन गम्भिर नरहेको बताउनुभयो । कमिसनको ध्यानमा लागेर कोभिडविरुद्धको खोप सरकारले ल्याउन नसकेको भन्दै उहाँले गठबन्धनको सरकारको पहिलो प्राथमिकता भने कोभिड–१९ र विपतिहरुबाट जनताको जिवन रक्षा गर्ने नै पहिलो प्राथमिकता हुने पनि उहाँले बताउनुभयो ।