काठमाडौँ । राष्ट्रपतिका उम्मेदवारद्वया रामचन्द्र पौडेलले र सुवास नेम्वाङले एकअर्कालाई शुभकामना दिनुभएको छ । बिहीबार बिहान संसद् भवन बानेश्वरमा मतदानपछि दुवैले अंकमाल गरी शुभकामना साटासाट गर्नुभएको हो ।
बिहीबार बिहान १० बजेदेखि संसद् भवन बानेश्वरमा राष्ट्रपति चयनका लागि मतदान सुरु भएको हो । मुलुकको तेस्रो राष्ट्रपतिका लागि निर्वाचनमा दुई पूर्वसभामुख पौडेल (कांग्रेस) र नेम्वाङ (एमाले) बीच प्रतिस्पर्धा हुँदै छ । कांग्रेसका पौडेललाई ९ दलको साथ छ भने एमालेका नेम्वाङलाईआफ्नो पार्टीको मात्रै भर छ ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल सकिँदै छ । निर्वाचन आयोगले उहाँको कार्यकाल सकिनुअघि नै नयाँ राष्ट्रपति चुन्न लागेको हो । मतदान बिहान १० बजे सुरु भई अपराह्न ३ बजेसम्म हुनेछ । निर्वाचन आयोगले मतदान सकिएको बढीमा ४ घण्टाभित्र परिणाम आइसक्ने बताएको छ।